
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समय चेत बुझ्न सक्ने सभापति र अबको प्रधानमन्त्री खोज्ने बहसको आवश्यकता औंल्याएका छन्।
संस्थापनइत्तर पक्षले राखेको गुटगत भेला सुरु हुनु केहीबेरअघि शर्माले सामाजिक सञ्जालमार्फत समय चेत बुझ्न र हाँक्न सक्ने सभापति तथा अबको प्रधानमन्त्री खोज्ने बहस गरी निष्कर्षमा पुग्नुपर्नेमा जोड दिएका हुन्। यो बहस पार्टीका साथै विभिन्न विचार समूहले गर्न आवश्यक रहेको उनको भनाइ छ।
पार्टी पंक्तिमा ऊर्जा, नागरिकको वितृष्णा चिर्दै नवीन विश्वास, २०८२ मा महाधिवेशनको सुनिश्चितता तथा समय चेत बुझ्न र हाँक्न सक्ने सभापति तथा अबको प्रधानमन्त्री खोज्ने विषयलाई विमर्शको केन्द्र बनाएर तार्किक निष्कर्ष खोज्नुछ’, शर्माले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।
उनले कांग्रेस कस्तो बन्ने र कांग्रेसमा को बन्नेभन्दा पनि समाजमा देखिएको असन्तुष्टि महत्वपूर्ण प्रश्न भएको उनको भनाइ छ। ‘समाजमा किन असन्तुष्टि छ? हामी त्यसमा कति दोषी छौं?,’ उनले लेखेका छन्, ‘वितृष्णा चिर्दै नवीन आशा र नयाँ विश्वासको लहर सिर्जना कसरी गर्न सकिन्छ? महासमिति बैठकमार्फत यी प्रश्नको निरूपणले देश र कांग्रेसलाई पनि मार्ग दिन्छ।’
शर्माले आफू महासमिति बैठकको तयारीमा जुटेको पनि उल्लेख गरेका छन्। ‘अहिले महासमितिबाट नीति, गति र मतिउपर साझा दृष्टि निर्माणको समय हो। यो कर्ममा महामन्त्रीले संयोजन र सम्पादन गर्नुपर्ने विषयप्रति म सजग छु,’ उनले भनेका छन्।

उनले पार्टीमा फरक विचार समूह हुनुलाई स्वाभाविक ठानेका छन्। संस्थापनइत्तर पक्षका नेता डा. शेखर कोइरालाले आफ्नो सम्पर्क कार्यालयमा अहिले केहीबेरमा गुटगत भेला गर्दैछन्। त्यो भेलामा उनले महामन्त्री शर्मालाई पनि निम्ता गरेका छन्। तर शर्माले भेलामा नजाने संकेत एक्समार्फत गरेका छन्।
शर्मा ०७८ मंसिरमा भएको १४ औं महाधिवेशनमा प्रकाशमान सिंह प्यानलबाट प्रतिस्पर्धा गरी महामन्त्री निर्वाचित भएका थिए।उनी अहिले पार्टीभित्र कुनै पनि पक्षमा खुलेका छैनन्।