
काठमाडौं। नेपाली कांग्रेसको संस्थापनइत्तर पक्षले केन्द्रीय समितिमा उठाउने विषयबारे छलफलका लागि आफ्नो समूहको भेला बोलाएको छ। संस्थापनइत्तर समूहका नेता डा शेखर कोइरालाले मंगलबार अपराह्न १ बजे बालुवाटारस्थित आफ्नो सम्पर्क कार्यालयमा भेला राखेका हुन्।
भेलामा महामन्त्री विश्वप्रकाश शर्मालाई पनि बोलाइएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए। महामन्त्री शर्मा अहिले पार्टीको कुनै खेमामा पनि लागेका छैनन्। २०७८ मंसिरमा भएको १४ औं महाधिवेशनमा शर्मा प्रकाशमान सिंहको प्यानलबाट प्रतिस्पर्धा गरेर महामन्त्रीमा निर्वाचित भएका थिए।
यस्तै सभापति शेरबहादुर देउवाको प्यानलबाट महामन्त्रीमा प्रतिस्पर्धा गरी पराजित भएका प्रदीप पौडेललाई पनि कोइरालाले आफ्नो गुटको भेलामा निम्ता दिएका छन्। कोइरालाले साउन पहिलो साता बसेको केन्द्रीय समिति बैठकअघि भने गुटगत भेला राखेका थिएनन्।
भेलामा केन्द्रीय समितिमा उठाउने विषयबारे छलफलको तालिका रहेको थपलियाले जानकारी दिए। केन्द्रीय समिति बैठक असोज ४ गतेका लागि बोलाइएको छ।
महाधिवेशन सम्पन्न भएको २१ महिना बित्दा पनि देउवाले पार्टीका विभाग गठन गरेका छैनन्। पार्टी विधान अनुसार ७० वटा विभाग गठन गरिनुपर्नेमा देउवाले अहिलेसम्म १६ वटा विभागमा संयोजक तोक्ने काम मात्र गरेका छन्।
विभाग गठन नगरेको, सरकारले जनतामा भरोसा जगाउने गरी काम गर्न नसकेको, पार्टीबाट सरकारमा सहभागी सदस्यको भूमिका लगायत विषयमा साझा धारणा बनाउने प्रयोजनका लागि भेला राखेको कोइराला निकट एक पदाधिकारीले जानकारी दिए।