काठमाडौं। नेकपा (एमाले) निकट व्यवसायी तथा उपभोक्ता अधिकारकर्मीले आर्थिक संकटले परिरहेको असरबारे सरकारको ध्यानाकर्षण गराउन अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन्। सरकारको अकर्मण्यताका कारण अर्थतन्त्र संकटमा पर्दा एमालेले समेत सरकारको ध्यानाकर्षण नगराएको गुनासो उनीहरूले गरेका छन्।
व्यवसायी र उपभोक्ताका मुद्दामा सरकार मौन रहेको ओलीलाई उनीहरूले बताए। एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले पार्टी कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा सामानको मूल्य अस्वाभाविक बढ्नुमा सरकार जिम्मेवार भएको निचोड उनीहरूको थियो। सरकारको नीतिका कारण अर्थतन्त्र झनझन खराब अवस्थामा पुगिरहेको उनीहरुको आरोप छ।
‘अन्तर्राष्ट्रियस्तरमा के हुँदैछ थाहै छैन‘
पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सरकारको आर्थिक कूटनीति कमजोर हुँदा नेपाली बजार प्रभावित भइरहेको बताए।
विश्वमा के हुँदैछ भन्नेबारे सरकार बेखबर भएको खतिवडाले आरोप लगाए। आपूर्ति रोकिन सक्ने बस्तुबारे जानकारी राखेर आवश्यक बस्तुलाई कूटनीतिक तवरबाट खुलाउन सक्ने भए पनि सरकार त्यसमा फेल भएको टिप्पणी खतिवडाले गरेका छन्।
‘सरकारलाई अन्तर्राष्ट्रिय के हुँदैछ भन्ने केही थाहा छैन। केही बस्तुको आपूर्ति रोकिँदैछ भने त आर्थिक कूटनीतिको माध्यमबाट खुलाउनुपर्छ। तर सरकार सुतेर बस्यो। बजारमा सुसूचित गर्ने माध्यम पनि भएन। कहाँ के युद्ध भयो भन्ने भएपछि यहाँ हल्लै-हल्लाले मूल्य बढ्छ,’ उनले भने।
उपभोक्ताका कुरा मात्रै नभई उत्पादकका समस्या पनि सुन्नुपर्ने उनले बताए।
‘सरकारले उत्पादकको लागत नबढाउने, उत्पादकको लागत घटाउने र बिचौलियाको भूमिका नहुने हो भने त्यसले मूल्य निर्धारण गर्छ। उत्पादनदेखि आपूर्तिका शृङ्खला जब बिग्रन्छन् अनि मूल्य बढ्न जान्छ। अनि उपभोक्ताले कहाँबाट सस्तो पाउँछ?,’ खतिवडाको भनाइ छ।
केही आधारभूत कृषिजन्य बस्तुमा कर लगाउँदा पनि बजार प्रभावित भइरहेको खतिवडाको टिप्पणी छ।
‘अघिल्लो सरकारले कर नलगाएका केही बस्तुमा पनि अहिले सरकारले कर लगायो। करको बोझ उपभोक्तामा पर्यो,’ उनले भने।
खतिवडाले एमालेको सरकार हुँदा चार वर्षमा पनि नपुगेको मूल्य वृद्धि अहिले २ वर्षमै पुगेको भन्दै सरकारको आलोचना गरे।
‘कतिपय सामानको मूल्य हामी सरकारमा भएको ४ वर्षमा भन्दा २ वर्षमा बढी भएको छ। एकातिर हामी आर्थिक मन्दी भन्ने। आर्थिक मन्दी भएपछि त मूल्य नबढ्नुपर्ने हो अर्थशास्त्रले त त्यो भन्ने छ। यस्तो विडम्बना सरकारको अकर्मण्यताले भएको छ,’ उनले भने।
‘आर्थिक अवस्थालाई जर्जर बनाउने काम सरकारले गर्यो’
पूर्वराज्यमन्त्री तथा उद्योगी मोतीलाल दुगडले सरकारले निर्माणका अधिकांश काम रोकेको आरोप लगाए। उनले व्यवसायीलाई सरकारले तर्साउने मात्रै काम गरिरहेको भन्दै चाडपर्वका बेला मात्रै बजारको अनुगमन गर्नुले सरकार बजारप्रति उत्तरदायी नभएको प्रस्ट हुने टिप्पणी गरे।
‘अहिले सरकारले सबैजसो निर्माणका काम रोकिदिएको छ। आर्थिक अवस्थालाई जर्जर बनाउने काम यो सरकारले गर्यो,’ उनले भने।
उपभोक्ता अधिकारकर्मीले पनि अहिले व्यवसायी समेत पलायन हुन थालेको भन्दै देश अप्ठेरोमा रहेको बताएका थिए। उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले अहिले व्यापार व्यवसाय समेत ठप्प हुन थालेपछि त्यसको मार समेत उपभोक्तालाई परिरहेको बताए।
‘अहिले ८ नबज्दै न्यूरोडमा कुकुर भुक्न थालेको छ। पहिला १०/११ बजे पनि त्यहाँ बजार खुल्ला हुन्थ्यो,’उनले भने।
अर्का उपभोक्ता अधिकारकर्मी ज्योति बनियाँले पुँजीपतिहरुमाथि संकट सामान्य नभएको टिप्पणी गरेका थिए। ‘पुँजीपतिहरु उकुसमुकुस भएका छन्,’ बानियाँले भने।
उनले एमालेले संसद् र सडक दुबै ठाउँबाट सरकारलाई खबरदारी गर्न नसकिरहेको बताएका थिए। अधिकारकर्मीले सांसदहरूले समेत उपभोक्ताका विषयलाई कम मात्रै प्राथमिकता दिइरहेको भन्दै एमालेका सांसदलाई उपभोक्ताको मुद्दा उठाउन आग्रह गरे।
गलत नीतिको परिणाम अहिले
उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले राज्यको गलत नीतिले अहिलेको परिस्थिति आएको बताए।
‘कोभिडको समस्या समाधान गर्नका लागि सरकारले केही हठात् निर्णय लियो त्यसको परिणाम आयो। हामीले यतिको कठोर निर्णय लिन हुँदैन भनेका थियौं। अहिले राज्य पनि अप्ठेरोमा छ। तलब खुवाउन सकिरहेको छैन। ऋण लिएर तलब खुवाउनुपर्ने अवस्था त्यही नीतिका कारण आएको हो,’ उनले भने।
एमाले अध्यक्ष केपी ओलीले भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आफूले उद्योगी व्यवसायीको कुरा राख्ने आश्वासन दिए।
उपभोक्ताको विषय संसदमा एमालेले जोडदार रूपमा उठाउने उनको भनाइ थियो।
‘प्रधानमन्त्रीसँग पनि कुरा गरौंला। संसदमा कुरा उठाइरहेका पनि छौं। अझ यसबारेमा विषय विज्ञ राखेर पनि कुरा गर्छौं,’ उनले भने।
ओलीले ६१ किलो सुन प्रकरणमा पक्राउ परेकालाई समेत सरकारले छाडेको तर ललिता निवास प्रकरणमा समाउनै नपर्ने व्यक्तिलाई पक्राउ गरेर दुःख दिएको आरोप लगाएका थिए।
‘कसलाई लाञ्छित गर्ने सरकारको पोलिटिकल एजेन्डा छ। जब हाउसमा पशुतपतिमा सुन चढाए भनेर एक सांसदले भने त्यतिबेला केही हुँदैछ कि ध्यान यता मोडेर भन्ने भनेको थिएँ। चिलतिर देखाउने यता कुखुरा उडाउने काम राज्यबाट भइरहेको छ,’ ओलीले भने।
उनले सुन प्रकरणमा पक्राउ परेकालाई सरकारले छोडेको भन्दै आक्रोश व्यक्त गरेका थिए।
‘एक सय केजी सुनमा पक्राउ परेकालाई परेका बेलामा हाजिर हुने भनेर छाडिदिने। भगाएकै हो त्यो। मीनबहादुर गुरुङ भाग्छ भनेर समातिने। माननीय सुनिल शर्मा अचानक पक्राउ पर्ने। त्यत्रो मेडिकल कलेज चलाएर बसेको मान्छे भाग्छ रे। सुन तस्कर भाग्दैन?,’ ओलीले भने।