
काठमाडौं। न्याय परिषद्ले उच्च र जिल्ला अदालतका केही न्यायाधीशको सरुवा गर्न सिफारिस गरेको छ। परिषद्को बैठकले उच्च अदालतका ७ र जिल्ला अदालतका ५ न्यायाधीशको सरुवा गर्न सिफारिस गरेको हो।
न्यायाधीश सारंगा सुवेदीलाई उच्च अदालत जनकपुरमा सरुवा गर्न सिफारिस गरिएको छ। उच्च अदालत जनकपुरको वीरगन्ज इजलासकी सुवेदी हाल काजमा जनकपुरमा कार्यरत छिन्।
त्यस्तै न्यायाधीश रत्नबहादुर बागचन्दलाई उच्च अदालत तुल्सीपुर र बलभन्द्र बास्तोलालाई जनकपुरमा सरुवाको सिफारिस गरिएको छ। बागचन्द हाल काजमा तुल्सीपुर र बास्तोता विश्ष अदालतमा कार्यरत छन्।
न्यायाधीश वामदेव ज्ञवालीलाई उच्च अदालत तुल्सीपुरको नेपालगन्ज इजलासबाट उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा सरुवाको सिफारिस गरिएको छ।
न्यायाधीश रामबहादुर थापा, निलम पौडेल र उज्वल शुक्ललाई पनि सरुवा गर्न परिषद्ले सिफारिस गरेको छ। थापालाई उच्च अदालत विराटनगरको धनकुटा इजलास, पौडेललाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलास र शुक्ललाई उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासमा सरुवाको सिफारिस गरिएको हो।
त्यस्तै सरुवाको सिफारिस हुने जिल्ला न्यायाधीशमा महेन्द्रबहादुर कार्की, गोपालप्रसाद बास्तोला, दिपककुमार खरेल, कृष्ण प्रसाद सुवेदी र उपेन्द्रप्रसाद गौतम छन्। कार्कीलाई जिल्ला अदालत मकवानपुर, बास्तोलालाई धादिङ, खरेललाई उदयपुर, सुवेदीलाई काठमाडौं र गौतमलाई सिन्धुलीमा सरुवाको सिफारिस गरिएको हो।
परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले सरुवा गर्नेछन्।