
काठमाडौं। बीवाइडीको एसयुभी एटो-३ ले ५ लाखको माइलस्टोन पार गरेको छ। सेप्टेम्बर १५ मा यो कम्पनीले एटो-३ पाँच लाख उत्पादन गरेको हो। विद्युतीय गाडीको बिक्रीमा बीवाइडी अहिले एग्रेसिभ रुपमा विश्व बजारमा आएको छ।
एटो-३ बीवाइडीको मूख्य निर्यात हुने मोडल हो। अगस्ट २०२३ सम्म १ लाखभन्दा धेरै एटो-३ चीनबाट विश्वभर निर्यात गरिएको छ।
यस्तै बीवाइडीले आफ्नो घरेलु बजारमा मात्रै एटो-३ तीन लाख ५९ हजार युनिट बिक्री गरेको छ। त्यसैले बीवाइडीको अन्य देशमा भन्दा चीनको घरेलु बजारमा ४ गुणा ठुलो छ। यसले एटो-३ को घरेलु बजारको सेयर ७८ प्रतिशत छ भने निर्यात २२ प्रतिशत मात्र छ। कम्पनीले अहिले मासिक ३० हजार युनिट एटो-३ बिक्री गरिरहेको छ।
यो गाडीको लम्बाईं ४,४५५ मिमी, चौडाइ १,८७५ मिमी र उचाइ १,६१५ मिमी र ह्वीलबेस २,७२० मिमी छ। यो गाडीको तौल १,६२५ किलो छ। साथै यो ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी कम्पनीले दिएको छ।

यसमा पनि दुई वटा मोटर विकल्प रहेको छ। अहिले आउने एटो-३ सय किलोवाट र यसअघि १५० किलोवाट क्षमताको मोटरमा उपलब्ध छन्। यी दुबै भेरियन्टमा मोटरको पावर मात्र परिवर्तन गरिएका छन्। अन्य फिचर तथा रेन्ज भने सबै उस्तै छन्। ब्याट्री प्याक पनि उस्तै रहेका छन्।
यसमा भएको ब्लेड ब्याट्रीले ४२० किलोमिटर रेन्ज प्रदान गर्छ। यस्तै ३१० एनएम टर्क उत्पादन गर्छ। यसमा भएको ६०.४८ किलोवाट क्षमताको ब्याट्रीलाई फाष्ट चार्जरबाट चार्ज गर्न ४५ मिनेटको समय लाग्छ। यस्तै एसी चार्जरबाट चार्ज गर्न ९ घन्टाको समय लाग्छ।
कम्पनीले अर्को भेरियन्ट ४९.९२ किलोवाट ब्याट्री प्याक पनि बजारमा बिक्री गरिरहेको छ।