
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नाजायज कामका लागि आफ्नै मान्छेले दबाब आउने गरेको बताएका छन्। बौद्व जागरण केन्द्रले बिहिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले आफ्नै मान्छेले कुन नाजायज कामका लागि दबाब दिएको भन्ने चाहिं खुलाएनन्।
उनले कुनै हालतमा नाजायज काम नगर्ने बरु राजीनामा दिने बताए। ‘मलाइ घरी घरी आफ्नै मान्छेहरुबाट नाजायज काम गराउन दबाब नभएको होइन। तर म कदापि गलत काम गर्दिन। बरु पद त्याग्न तयार छु’, उनले भने।
मन्त्री किरातीले सरकारप्रति जनतामा भरोसा बढेको दाबी गर्दै यस्तो बेला गलत काम गर्नु प्रधानमन्त्रीलाई धोका दिनु भएको बताए। ‘सरकारप्रति आमजनतामा आशा जागेको छ। प्रधानमन्त्रीले पनि हामी क्याविनेट मन्त्रीहरुबाट ठूलो अपेक्षा राख्नु भएको छ। यो अवस्थामा मबाट प्रधानमन्त्रीलाई धोका हुनेछैन। प्रधानमन्त्रीलाई धोका दिनु भनेको देशलाई धोका दिनु हो’, उनले भने।