
फ्रान्स सरकारले एप्पललाई आइफोन १२ को बिक्री रोक्न निर्देशन दिएको छ। आइफोन १२ ले अत्याधिक इलेक्ट्रोम्याग्नेटिक रेडिएसन फालेको भन्दै बिक्री रोक्न भनिएको हो।
रेडियो फ्रिक्वेन्सीको नियमन गर्ने फ्रेन्च वाचडग ‘एएनएफआर’ले एप्पललाई अरु मोडलका फोनहरु पनि ‘फिक्स’ गर्न भनेको छ। एएनएफआरले एप्पललाई समस्याको समाधार सफ्टवेयर अपडेटले मात्रै नहुने भन्दै सबै फोन बजारबाट फिर्ता लग्न भनेको छ। हाल बजारमा बिक्रीमा रहेको आइफोन १२ का सेटमात्र नभइ फ्रान्समा बिक्री भइसकेका सबै फोन एप्पलले फिर्ता लिनुपर्ने भनिएको छ।
सन् २०२० को सेप्टेम्बरमा रिलिज भएको आइफोन १२ अहिले पनि विश्वभर बिक्री भइरहेको छ। मंगलबार रातिमात्रै एप्पलले आइफोन १५ लन्च गरेको थियो।
एप्पलले भने एएनएफआरको निर्देशनविरुद्ध अपिल गर्ने जनाएको छ। आफ्नो डिभाइसले सबै ल्याब टेस्ट पूरा गरेको र त्यसको रिपोर्ट पनि नियमन निकायलाई उपलब्ध गराइएको एप्पलले जनाएको छ। उसले सबै आइफोन रेडिएसन नियम भित्रै रहेर निर्माण भएको दाबी गरेको छ।
फ्रान्सका डिजिटल मन्त्री जीन नोएल बरोटले रेडिएसन लेभल मानक भन्दा बढी थ्रेसहोल्डमा रहेकोले सो निर्णय लिएको बताएका छन्। एप्पलले दुई हप्ताभित्र यसबारेमा जवाफ दिनुपर्ने उनले बताएका छन्।
‘यदि उनीहरुले मानेनन् भने म सर्कुलेसनमा रहेको सबै आइफोन १२ फिर्ता गराउने बारे तयार छु। नियम सबैका लागि एउटै हुन्छ, चाहे त्यो ठूलो डिजिटल जायन्ट किन नहोस्’ मन्त्री बरोटले भने।
फ्रान्सले आइफोन १२ बारे गरेको अध्ययन र प्राप्त नतिजा अरु देशका नियमन निकायहरुलाई पनि साझा गर्ने तयारी गरेको छ।