सुवास नेम्वाङको निधनले एमालेमा आउने शून्यता, राष्ट्रिय राजनीतिको संकट चिर्न पनि खड्किने छ अभाव

प्रकाश भण्डारी
२०८० भदौ २६ गते १०:०० | Sep 12, 2023
सुवास नेम्वाङको निधनले एमालेमा आउने शून्यता, राष्ट्रिय राजनीतिको संकट चिर्न पनि खड्किने छ अभाव


काठमाडौं। एमालेमा सहमतिका लागि पहल गर्नुपर्दा सबैभन्दा बढी खोजिने नेता थिए – उपाध्यक्ष सुवास नेम्वाङ। उनको शालीन शैलीले राजनीतिमा ‘कुलिङ’ पिरियड जन्माइहाल्थ्यो।

Tata
GBIME
NLIC

माओवादी र एमाले एकताका बेला मात्रै होइन नेकपाकालीन विवादमा सहमति सूत्र पहिल्याउनु पर्दा नेम्वाङको नाम आइहाल्थ्यो। उनले खरो टिप्पणी गर्दा पनि भन्ने गरेका थिए – ‘नाम त याद भएन, अनुहार कमरेडको झलझल्ती आइरहेको छ।’ सहमति र सहकार्यमै जोड गर्ने नेम्वाङको निधन ७१ वर्षको उमेरमा मंगलबार भएको छ।

उनको अभाव एमालेभित्रको संकट चिर्नमा त खड्किने छ नै‚ राष्ट्रिय राजनीतिलाई गति दिन नेम्वाङलाई नेताहरुले सम्झिरहने छन्। एमाले बाहेकका नेताहरुसँग सम्पर्क सूत्रका रूपमा भित्रभित्रै काम गर्न नेम्वाङको भूमिकाको प्रशंसा हुने गरेको थियो।

उनको जीवनकाललाई केलाउदा पनि प्रष्टै हुन्छ उनको समन्वयकारी भूमिकाबारे। बीए, बीएल गरेका नेम्वाङसँग जोडिएका वकालतका किस्साहरु पनि थुप्रै छन्। ६२/६३ को आन्दोलनका बेलामा नेताहरुमाथि मुद्दा चलाइएपछि गरेको वकालतबारे नेम्वाङले सुनाउने गरेका थिए।

वरिष्ठ अधिवक्तासमेत रहेका नेम्वाङको संसदीय राजनीतिक यात्रा भने २०४८ देखि अघि बढेको थियो। २०४८ देखि २०५२ सम्म राष्ट्रिय सभाको सदस्य रहेका नेम्वाङ २०५१ मै न्याय कानून तथा संसदीय राज्यमन्त्री बनेका थिए।

सक्रिय राजनीतिमा आउनुअघि कानुनी पेसामा नेम्वाङको दख्खल थियो। वरिष्ठ अधिवक्ता हुँदै उनी नेपाल बार एशोसिएशनको महासचिवसम्म भए। एमालेभित्र संसदीय राजनीतिक खेलाडीकै रूपमा उनलाई हेर्ने गरिएको थियो। २०६३ को पुनर्स्थापित प्रतिनिधि सभाको सभामुख भएका थिए नेम्वाङ। २०६५ र २०७० मा उनी संविधान सभा अध्यक्ष पनि भए। उनी इलामबाट २०५६, २०६४, २०७०, २०७४ र २०७९ को चुनाव जितेर सांसद भएका थिए।

प्रधानमन्त्री हुँदा दुई पटक संसद अवरोध गरेका एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नबोलेरै गलत भएको सन्देश नेम्वाङले दिने गरेका थिए। पछिल्लो समय एमालेभित्र उनले ओलीको खुलेरै पनि आलोचना गर्ने गरेका थिए।

एमालेले सुन प्रकरणमा गरेको संसद अवरोधलाई गलत भएको भन्दै ओलीको आलोचना गरेका थिए। नेम्वाङलाई ओलीले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बनाए पनि उनले भने गठबन्धनलाई जोगाउन सके मात्रै उम्मेदवार बन्ने अडान राखेका थिए।

तर ओलीले गठबन्धन जोगाउने भन्दा राष्ट्रपतिलाई एकसूत्रीय माग बनाएपछि कांग्रेस नेता रामचन्द्र पौडेलले अवसर पाए। संविधान निर्माण र त्यसपछिका राजनीतिक घटनाक्रममा पनि नेम्वाङको भूमिका अविस्मरणीय छ। पहिलो र दोस्रो संविधान सभाबाट संविधान बनाउन नेम्वाङले नेताहरुलाई पटक पटक भन्ने गरेका थिए सहमति र सहकार्य।

विपरीत ध्रुवमा पुगिसकेका राजनीतिक दलका नेता पनि उनकै नेतृत्वदायी भूमिकाका कारण पटक-पटक मिलनबिन्दुमा पुग्ने गरेका थिए। एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी पार्टी बन्ने बेलामा पनि नेम्वाङले पटक-पटक तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालसँग वार्ता गरेका थिए।

उनलाई ओली गुटको बलियो नेताका रुपमा हेर्ने गरिए पनि एमाले भित्रकै अरु खेमा र कम्युनिस्ट धारका अरु पार्टीमा पनि नेम्वाङको छविले प्रभाव पार्ने गरेको थियो। पछिल्लो समय उनले शान्ति प्रक्रिया चाँडो टुंगोमा पुर्‍याउनुपर्ने र त्यसका लागि कानुनी व्यवस्थाका लागि ढिला गर्न नहुने मत राख्ने गरेका थिए। ओलीको अनुपस्थितिमा एमालेको संसदीय मोर्चा सम्हाल्ने गरेका नेम्वाङ २०७४ मै एमाले संसदीय दलको उपनेता थिए भने यसपटकको निर्वाचनपछि पनि उपनेताकै भूमिकामा थिए।

नेम्वाङको निधन त्यतिबेला भएको छ जतिबेला एमालेमा ओलीको विकल्प नभएको भन्दै उनी निकट नेताहरु अरु नेतालाई नेतृत्वमा आउन दिने पक्षमा छैनन्। एमालेको १० औं महाधिवेशनका बेलामा पनि नेम्वाङले आफू ओलीपछिको नेता भएको दाबी गर्दै भनेका थिए – ‘म तपाईंलाई मात्रै म भन्दा अघिको नेता मान्छु।’ अर्थात नेम्वाङको दाबी वरिष्ठ उपाध्यक्षमा थियो। वरिष्ठ उपाध्यक्ष भने ईश्वर पोखरेल बने।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको नेतृत्वमा फर्किने चर्चा भइरहँदा ओली निकटस्थहरुले भण्डारीलाई जसरी पनि रोक्नुपर्ने भन्दै नेम्वाङलाई समेत गुहार्ने गरेका थिए।

बिस. २००९ मा इलाममा जन्मिएका नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी छन्।