
काठमाडौं। निक्षेपसँगै ऋणको ब्याज दर घटाउनु पर्ने सर्तसहित सरकारले स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न दिए पनि असोजका लागि भने ब्याज स्थिर बस्ने देखिएको छ।
व्यापार व्यवसाय नहुँदासमेत बैंकहरु बीचको आन्तरिक प्रतिस्पर्धाका कारण निक्षेप खोसिने डरले ब्याज दर स्थिर बस्ने देखिएको हो।
ऋणको माग नहुँदा अहिले बैंकहरुको कामधन्दा खासै छैन। चाडबाडका मुखमा समेत आयातका लागि प्रतितपत्र (एलसी) खुलेका छैनन्। अन्य व्यापार व्यवसायका लागि समेत ऋणको माग छैन।
तर, आफूसँग भएको निक्षेप जोगाइ राख्न भने बैंकहरुले निक्षेपको ब्याज घटाउने सम्भावना छैन। साउनदेखि खुला भएको निक्षेपको ब्याज कार्टेलिङलगत्तै धेरैले ब्याज घट्ने अनुमान गरेका थिए।
तर केही बैंकले बढाए भने केहीले घटाएर र आधाले स्थिर राखे। ज-जसले निक्षेपको ब्याज घटाए उनीहरुकोबाट पैसा खोसिएर बढी दिनेकहाँ सर्यो।
त्यसपछि भदौमा स्थिर वा घटाएकाहरुले समेत बढाएर प्रकाशित गरे। अहिले अधिकांश बैंकको ब्याज दर १० प्रतिशत माथि छ। भद्र सहमतिका नाममा कार्टेलिङ गर्दा ९.९९ प्रतिशत थियो।
‘बैंकहरुबीच नै विश्वासको वातावरण छैन। चुप लागेर बस्यो भने अर्कोले तानिदिइहाल्छ। त्यही भएर जतिसुकै तरलता भए पनि सहज ढंगले घटाउन गाह्रो छ‚’ एक बैंकरले भने, ‘अनौपचारिक कुराकानी गरेर घट्यो भने मात्र नभए त स्थिर नै बस्छ।’
अर्थमन्त्री डा. प्रकाशशरण महतले निक्षेपसँगै ऋणको ब्याज दर घटाउने सर्तमा स्थानीय तहको पैसा निक्षेपमा गणना गर्ने सुविधा आइतबारबाट दिएका छन्। कुल विनियोजित रकमको ६० प्रतिशत निक्षेपमा गणना गर्न पाइन्छ। यसअघि ८० प्रतिशतसम्म पाइन्थ्यो।
साउन १ गतेबाट रोकिएको यो सुविधा सरकारले सर्तसहित ६० प्रतिशत खुला गरिदिएको हो। यसले निक्षेपसँगै ऋणको ब्याज घटाउने सरकार पक्षको विश्वास छ।
यसले तरलता थप सहज हुन्छ। कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) का हिसाबले अहिले पनि बैंकहरु ऋण दिन एकदमै सहज अवस्थामा छन्। उनीहरुले करिब ४ खर्ब रुपैयाँ हाराहारी ऋण दिन सक्छन्। तर, अल्पकालीन ब्याजका हिसाबले उनीहरु सहज छैनन्।

एकले अर्काको निक्षेप खोसाखोस गरेका कारण अन्तर-बैंक सापटी ६ प्रतिशत माथि छ। ‘स्थानीय तहको पैसा आएपछि अन्तर-बैंक सापटी दर घट्छ‚’ अर्का एक बैंकरले भने, ‘तर, निक्षेप र ऋणको भने घटिहाल्न गाह्रो छ। यही क्रम लम्बियो भने बैंकहरुले लागत कम गर्न निक्षेपको सँगै ऋणको ब्याज कटौती गर्न थाल्छन्। तर कात्तिक लागेपछि मात्र त्यो सम्भव होला।’
अहिले बैंकहरुले लागत कम गर्न भन्दै आधार दरमै ऋण दिन समेत थालेका छन्। उनीहरुले व्यवसायिक प्रयोजनमा आधार दरमा ऋण दिन थालेका हुन्। तर, माग भने छैन।
‘फाट्टफुट्ट जाने भन्ने बेग्लै कुरा हो। जुन हिसाबले जानु पर्ने हो त्यो भएको छैन‚’ ती बैंकरले भने, ‘दसैंतिहार सकिएपछि एक खालको लहर आयो भने मात्र हो। नत्र भने २०८० साल पोहोरभन्दा थप खराब हुने देखिन्छ।’
अहिले बैंकहरुले सेयर धितोदेखि घर र गाडी कर्जामा स्किम ल्याउन थालेका छन्। घर कर्जाका लागि ‘इन्क्वाइरीहरु’ आउन थालेको उनीहरु बताउँछन्।
‘नाडाका कारण गाडी कर्जाको माग आउन सक्छ। अहिले घरको इन्क्वाइरी सुरु भएकाले दसैंतिहारपछि अवस्था केही सहज होला कि भन्ने लाग्छ’ ती बैंकरले भने, ‘ऋणको माग विगतमा पनि घर र गाडीबाटै सुरु हुन्थ्यो। यसपाली हेरौं के हुन्छ?’