जलेश्वरलाई मुख्य भन्सार नाकामा स्तरोन्नति गर्न उद्योगीको माग, अर्थमन्त्री महत सकारात्मक

बिजमाण्डू
२०८० भदौ २२ गते १४:२६ | Sep 8, 2023
जलेश्वरलाई मुख्य भन्सार नाकामा स्तरोन्नति गर्न उद्योगीको माग, अर्थमन्त्री महत सकारात्मक

काठमाडौं । जनकपुरधाम उद्योग वाणिज्य संघको टोलीले आज विभिन्न माग राखेर अर्थमन्त्री प्रकाशशरण महतलाई ध्यानाकर्षण पत्र बुझाएको छ।

Tata
GBIME
NLIC

जलेश्वर भन्सार कार्यालयलाई अविलम्ब मुख्य भन्सार कार्यालयमा स्तरोन्नति गर्न नेपाल-भारत दुवैतर्फ आवश्यक पूर्वाधार तयार रहेका बारे संघले  अर्थमन्त्रीलाई जानकारी गराएको थियो।

त्यसक्रममा महतले तेस्रो मुलुकसँग व्यापारिक सम्बन्ध विस्तार गर्न महोत्तरीको जलेश्वरलाई मुख्य भन्सार नाकामा स्तरोन्नति गर्न सकारात्मक रहेको बताएको संघका अध्यक्ष जीतेन्द्रकुमार महासेठले जानकारी दिए। महतले तेस्रो मुलुकमा सामान आयात निर्यात गर्न, त्यससम्बन्धी तयारी र अहिलेको अवस्थाका बारेमा थप जानकारी लिएर प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जाहेर गरेको महासेठले बताए।

‘अर्थमन्त्रीज्यूसँग जलेश्वर भन्सार नाकाको स्तरोन्नति, मधेशका व्यापारी व्यवसायीका समस्या, प्रदेश राजधानी जनकपुरमा चलिरहेको रेलबाट लिन सकिने व्यापारिक लाभका विषयमा समेत कुराकानी भएको छ’, महासेठले भने, ‘यस विषयमा फेरि दुवै पक्ष छलफलमा जुट्ने समझदारी छ। आशा छ। उहाँले निजी क्षेत्रका चिन्ता, चासो र मधेसमा व्यापारिक गतिविधि बढाउन आवश्यक कार्य गर्न सहयोग गर्नुहुनेछ।’

संघका महासचिव मनोजकुमार सिंहले अर्थमन्त्रीलाई हाल तेस्रो मुलकबाट आउने मालसामान मधेशका लागि वीरगंजमार्फत आउने भए पनि यातायातको दूरी बढी भएका कारण ढुवानी लागत बढ्न गई मालसामानको मूल्यसमेत बढ्न गएकाले जलेश्वर उत्तम विकल्प भएका बारेमा जानकारी गराएको बताए।

‘हाल भारतस्थित पश्चिम बंगालको हलदिया बन्दरगाहबाट वीरगंग हुँदै काठमाडौँसम्म मालसामान लैजाँदा एक हजार ११९ किमी दूरी पार गर्नुपर्नेमा जलेश्वरबाट आउँदा झण्डै २५० किमी दूरी कम हुनेछ’, साहले भने, ‘यसले यातायातको दूरी कम भई मूल्यमा पनि प्रभाव पर्ने विषयमा अर्थमन्त्रीज्यूलाई लिखतरुपमै जानकारी गराएका छौं। आशा छ सकारात्मक निर्णय हुनेछ।’

संघले बुझाएको ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘जलेश्वर भन्सार नाकाबाट रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, गाईघाट, उदयपुर, रामेछाप, दोलखा, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, ललितपुर, काठमाडौँसम्म मालसामान पठाउँदा मूल्यमा अत्यधिक कमी आउनेसक्ने हुनाले महोत्तरीको जलेश्वर भन्सार कार्यालयलाई तेस्रो मुलुकबाट आउने मालसामान आयातनिर्यात गर्ने मुख्य नाकाका रुपमा स्थापित गरिदिन अनुरोध छ।’

यसका साथै मधेश प्रदेशको राजधानी जनकपुरधाममा रेल्वसेवा संचालन भइरहेकाले त्यसबाट अधिकतम लाभ लिनेगरी जनकपुर भन्सार कार्यालय तथा जटही भन्सार कार्यालयको स्तरोन्नतिका लागि ध्यानाकर्षण गराइएको संघका अध्यक्ष महासेठले जानकारी दिए।

यसअघि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९-८० को बजेट वक्तव्यमा जलेश्वरमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने घोषणा गरेको विषयमा संघको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा महतको ध्यानाकर्षण गराएको थियो।

जलेश्वर भन्सार कार्यालय विसं २०१३ मा स्थापना भएको थियो। रासस