इभी ब्राण्ड स्काईवेल ईटी फाइभको बुकिङ खुल्ला: मूल्य १ करोड ९ लाख, दशैंपछि डेलिभरी



बिजमाण्डू
२०८० भदौ २२ गते ११:५६ | Sep 8, 2023
इभी ब्राण्ड स्काईवेल ईटी फाइभको बुकिङ खुल्ला: मूल्य १ करोड ९ लाख, दशैंपछि डेलिभरी

काठमाडौं। चिनियाँ विद्युतीय गाडी उत्पादक ब्रान्ड स्काईवेल नेपाली बजारमा आधिकारिक रुपमा भित्रिएको छ। लामो समयदेखि सवारी बिक्री गर्दै आएको जी मोटर्सले आधिकारिक बिक्रेताका रूपमा नयाँ ब्रान्ड स्काईवेल नेपाल‌ भित्र्याएको हो।

Tata
GBIME
Zonsen

कम्पनीले बिहीबार उक्त ब्रान्ड आधरिकारिक रुपमा नेपाल भित्रिएको घोषणा गरेको हो। साथै कम्पनीले यो ब्रान्डको ईटी-५ मोडल ल्याउन लागेको जनाएको छ। यसको मूल्य नेपाली बजारमा १ करोड ९ लाख रुपैयाँ राखिएको छ।

यस्तै कम्पनीले बुकिङ पनि खुलाएको छ। बुकिङ भएका गाडी दशैंपछि डेलिभरी गरिने कम्पनीले उक्त कार्यक्रममा जनाएको छ।

स्काईवेल ईटी -५ लङ-रेन्जमा नेपाल ल्याउन लागिएको हो। यो युरोपमा बिक्री हुने मोडलको नाम हो। चीनमा भने यो मोडलको नाम बीई ११ राखिएको छ।

लङ रेन्ज मोडलमा ब्याट्री ८५.९७ किलोवाट आवर (युनिट) छ। यसले एक पटकको फुल चार्जमा ६२० किलोमिटर रेन्ज दिने उत्पादक कम्पनीको दाबी छ।

यो गाडीमा डुअल मोटर रहेको छ। मोटर पावर १५० किलोवाट क्षमताको छ। यसमा २०४ पीएस हर्ष पावर र ३२० एनएमको पिक टर्क उत्पादन गर्छ। उत्पादक कम्पनीले यसलाई कम्फर्ट र लक्जरी भेरियन्टमा उत्पादन गरेको छ।

यसमा अर्को भेरियन्ट पनि उपलब्ध छ। जसमा सिंगल मोटर छ। यसमा ७२ किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री प्याक छ। यसले एक पटकको फुल चार्जमा ४६० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ। यसमा पनि मोटर पावर १५० किलोवाटको रहेको छ।

यसको टप स्पिड १६० किलोमिटर प्रतिघण्टाको रहेको छ। यसमा अलह्वील ड्राइभ पावर ट्रेन छ। जसमा १५० किलोवाटको फास्ट चार्जर लाग्छ भने ११ किलोवाटको एसी चार्जर सपोर्ट गर्छ। फास्ट चार्जरबाट चार्ज गर्न ३० मिनेट लाग्छ भने एसी चार्जरले साढे ८ घण्टा लाग्छ।यो गाडीमा १८ इन्चको ह्वील भएको टायर छ। यसको ग्राउन्ड क्लियरेन्स १५९ इन्चको रहेको छ।

यो गाडीलाई ‘नाडा अटो शो’मा प्रदर्शनीमा राख्‍ने तयारीसमेत गरिएको छ। अहिले कम्पनीले यसलाई लेफ्ट ह्यान्ड ड्राइभमा ल्याउन लागेको छ। पछि बिक्री गर्न भने राइट ह्यान्ड ड्राइभमा ल्याउने कम्पनीको तयारी छ।