संघीय निजामती र शिक्षा विधेयक संसद्‍मा लगिने, मन्त्रिपरिषद्ले दियो अन्तिम रुप, आयोगको उपाध्यक्षमा झा



बिजमाण्डू
२०८० भदौ २१ गते १८:१८ | Sep 7, 2023
संघीय निजामती र शिक्षा विधेयक संसद्‍मा लगिने, मन्त्रिपरिषद्ले दियो अन्तिम रुप, आयोगको उपाध्यक्षमा झा

काठमाडौं। सरकारले संघीय निजामती विधेयक बल्ल स्विकृत गरेको छ। मन्त्रिपरिषदको बिहिबार सिंहदरबारमा बसेको बैठकले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्तसम्बन्धी विधेयक स्वीकृत गरेको हो।

Tata
GBIME
Zonsen

विधेयक संघीय संसद्‌मा पेस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। सरकारले संघीय निजामती विधेयक दोस्रो पटक संसद्‍मा लान लागेको हो। संसदीय समितिले दफाबार छलफल सकेर प्रतिनिधिसभामा पेश गरिसकेको अवस्थामा सरकारले एक वर्षअघि विधेयक फिर्ता लिएको थियो।

सरकारले अहिले फेरि विधेयक तयार पारेको हो। संघीय निजामती कानुन तर्जुमामा भएको ढिलाइले तीनै तहका सरकारमा कर्मचारीको व्यवस्थापन निकै भद्रगोल बनेको छ। मन्त्रिपरिषद्‍ले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गरेको छ।

निजामती सेवा दिवसका दिन पुरस्कृत गरिने कर्मचारीको नामलाई पनि मन्त्रिपरिषदले अन्तिम रुप दिएको छ। निजामती सेवा दिवस शुक्रबार हो।

मन्त्रिपरिषद्ले संघीय शिक्षा विधेयक पनि स्वीकृत गरी संसद्‍मा पेस गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्‍ले यो विधेयक यसअघि नै स्वीकृत गरेकामा स्वार्थ समूहको दबाबपछि सच्याउन भनेर विषयगत समितिमा पठाइएको थियो।

सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा. डा अञ्जनीकुमार झालाई नियुक्त गरेको छ। झासँग अन्य २ जना प्रतिस्पर्धामा थिए। लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा गठित समितिले आयोगका अहिलेका उपाध्यक्ष श्रीकृष्ण गिरी, पूर्वस्वास्थ्यसचिव प्रवीण मिश्र र झाको नाम सिफारिस गरेको थियो। कांग्रेस निकट झा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष हुन्।