
काठमाडौं। पर्यटकीय सिजन सुरु हुनुका साथै नजिकिएको दसैं तिहारका कारण अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी उडान संख्या विस्तारतिर लागेका छन्।
उडानमा अकुपेन्सी अहिले नै ९० प्रतिशतसम्म पुगेपछि विभिन्न एयरलाइन्स उडान बढाउने तयारीमा लागेका हुन्। एयरलाइन्सहरुले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई उडान थप्ने तयारीबारे धमाधम अवगत गराइरहेका छन्। उडान थप गर्न प्राधिकरणको अनुमति चाहिन्छ।
नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, फ्लाइ दुबई, एयर अरेबिया, एयर इण्डिया, भिस्तारा एयर, मलेसियन एयरलाइन्स, जजिरा एयर, सिंगापुर एयरलाइन्स,कोरियन एयर, एयर इण्डिगो लगायत वायुसेवा कम्पनीले उडान थप्ने गृहकार्य थालिसकेका छन्।
‘विदेशी पर्यटक भित्रिने सिजनसँगै दसैं पनि नजिकिएकाले उडानमा यात्रुको चाप निकै बढेको छ। यात्रु अकुपेन्सी ९० प्रतिशतभन्दा माथिसम्म पुग्न थालेको छ। विभिन्न वायुसेवा कम्पनीले उडान संख्या बढाउने जानकारी गराइसकेका छन्’, प्राधिकरणका त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाले भने, ‘अक्टोबरबाट अधिकांश वायुसेवाले उडान थप्दैछन्।’ उनका अनुसार खाडी मुलुकबाट हुने उडानमा अकुपेन्सी निकै बढेको छ।

हिमालय एयरलाइन्सले विभिन्न गन्तव्यमा उडान विस्तारका लागि अध्ययन सुरु गरेको जनाएको छ। ‘सेप्टेम्बर लागेपछि यात्रुको चाप बढ्न थालेको छ। त्यही भएर हामीले उडान कहाँ कति थप्ने भन्नेबारे अध्ययन थालेका छौं’ कम्पनीका एक कर्मचारीले भने। सेप्टेम्बरदेखि पर्यटकीय सिजन सुरु हुन्छ। सेप्टेम्बरभन्दा अक्टोबर र नोभेम्बर पर्यटक अझै धेरै नेपाल आउने महिना हो।
हाल कतारमा दैनिक चारवटा उडान गर्दै आएको कतार एयरवेजले यात्रु बढेकाले उडान थप्न लागेको छ। नेपाल वायु सेवा निगम समेत यात्रु अकुपेन्सी ८५ प्रतिशत पुगेको भन्दै उडान थप्ने योजनामा छ।
भारतमा दैनिक दुई उडान गर्दै आएको निगमले अकुपेन्सी उल्लेख्य रहेको जनाएको छ। निगमका प्रवक्ता रमेश पौडेलले अहिलेको अकुपेन्सी हेर्दा दसैंको मुखमा चाप थेग्न मुस्किल हुने देखिएको बताए। ‘दिल्ली, मुम्बई र बैंगलोर तीनवटै गन्तव्यमा दुईतर्फी अकुपेन्सी ८५ प्रतिशत छ’, उनले भने, ‘अहिलेको चाप हेर्दा उडान बढाउनुपर्ने देखिन्छ।’
निगमले अहिले सातामा दिल्लीमा १० तथा मुम्बई र बैंगलोरमा ३/३ उडान गर्दै आएको छ। क्वालालम्पुर, हङकङ, दोहा, दुबई लगायत १० ठाउँ निगमका गन्तव्य हुन्।
भारतीय वायुसेवा कम्पनी एयर इण्डियाले यात्रुको माग वृद्धिसँगै सातवटा उडान थप्ने योजना बनाएको छ। ‘दुईतर्फी उडानमा यात्रुको अकुपेन्सी ९० प्रतिशतमाथि छ। अहिले नेपाली र विदेशीको मुभमेन्ट उल्लेख्य छ,’ कम्पनीका एक नेपाली प्रतिनिधिले भने, ‘हामी आउँदो विन्टर सेडुलका लागि दैनिक थप एउटा उडान गर्ने योजनामा छौँ।’ कम्पनीले हाल सातामा काठमाडौं-दिल्ली २५ उडान गर्दै आएको छ।

व्यापार व्यवसाय र घुमघाम लगायत प्रयोजनका लागि उडानमा यात्रु बढे पनि भाडा भने बढाइएको छैन। यात्रुले ‘लो फेयर’मै टिकट पाउन सक्ने छन्। ‘एक दिन अगाडि टिकट काट्दा यात्रुले एकतर्फी उडान १० हजार रुपैयाँमै गर्न सक्छन्। अधिकतम भाडादर भने ५३ हजार रुपैयाँसम्म छ,’ ती कर्मचारीले भने।
भिस्तारा एयरले हाल काठमाडौं-दिल्ली एउटा उडान गर्दै आएकामा दैनिक एउटा उडान थप्ने तयारी गरेको छ। भिस्ताराको नेपालका लागि जेनरल सेल्स एजेन्ट कम्पनी ट्राभल राइटका सीईओ निरज रिमालले भने, ‘अहिले हामीले दैनिक एउटा उडान गर्दै आएका छौँ। यतिखेर लो सिजन भए पनि यात्रुको माग उल्लेख्य छ। यसैलाई मध्यनजर गर्दै दैनिक एउटा उडान थप्ने योजना बनाएका छौं।’ उनका अनुसार काठमाडौं-दिल्ली उडानमा न्यूनतम ११ हजारदेखि ६० हजार रुपैयाँसम्मको टिकट बिक्री भइरहेको छ।

दसैंमा यात्रुको मागलाई मध्यनजर गर्दै सिंगापुर एयरलाइन्सले काठमाडौं उडानका लागि बोइङ ७८७-१० सिरिजको जहाज प्रयोग गर्ने भएको छ। हाल बोइङ ७३७ म्याक्समार्फत उडान गर्दै आएको कम्पनीले सेप्टेम्बर २५ देखि बोइङ ७८७-१० सिरिजको जहाज प्रयोग गर्ने भएको हो।
सिंगापुरलाई ट्रान्जिट बनाएर काठमाडौं आउने र जाने यात्रुको मागलाई मध्यनजर गर्दै कम्पनीले ३३७ सिट क्षमताको ड्रिमलाइनरमार्फत उडान गर्ने योजना अघि बढाएको आधिकारिक जीएसए एभरेष्ट एक्सप्रेस टुर्स एण्ड ट्राभलका सञ्चालक सुधीर पाण्डेले बताए।
‘सातामा मंगलबार र शुक्रबार एक महिनासम्म ड्रिमलाइनरमार्फत सेवा दिइनेछ। यसबाट यात्रुको चाप थेग्न सकिनेे विश्वास लिएका छौं,’ सञ्चालक पाण्डेले भने। सिंगापुर एयरलाइन्सले हाल काठमाडौंमा सातामा सात वटा व्यावसायिक उडान गर्दै आएको छ। पाण्डेका अनुसार उडानमा यात्रु अकुपेन्सी बढेर ९० प्रतिशत पुगेको छ।
अन्यत्रको तुलनामा मध्यपूर्वका गन्तव्यमा उडानको माग धेरै छ। रोजगारीका लागि गएका धेरै युवा दसैं तिहार मनाउन फर्किने भएकाले मध्यपूर्वका गन्तव्यमा उडान दोब्बर पुर्याउनुपर्ने माग रहेको सोसाइटी इन्टरनेस्नल ट्राभलका सञ्चालक रविचन्द्र सिंहले बताए। ‘कुवेत, साउदी अरेबिया, दुबई, मलेसिया लगायत गन्तव्यबाट नेपाल आउनेको संख्या बढ्न थालिसकेको छ। त्यसैले उडान थप्नुको विकल्प छैन,’ सिंहले भने।
विभिन्न एयरलाइन्सले नेपालमा हाल दैनिक करिब एक सय उडान-अवतरण गर्दै आएका छन्।