
काठमाडौं। नेपाली सिनेमा हलमा बिहीबारदेखि दुई विदेशी फिल्म प्रदर्शन सुरु भएका छन्। हलिउडको ‘द नन-२’ र शाहरुख खान स्टारर बलिउड फिल्म ‘जवान’ रिलिज भएको हो।
‘द नन २’ को तुलनामा ‘जवान २’ ले अत्यधिक शो पाएको छ। पहिलो दिनका लागि ‘जवान’का अधिकांश टिकटहरु सोल्डआउट भइसकेका छन्। सिनेमा हलहरुमा ‘जवान’को बिहानदेखि रातिसम्मको शोहरुको टिकट बिक्री भइसकेका छन्।
एटली कुमार निर्देशित ‘जवान’मा शाहरुखका साथै दीपिका पादुकोण, विजय सेतुपति, नयनताराको मुख्य भूमिका छ। रेड चिली प्रोडक्सन हाउसले निर्माण गरेको फिल्ममा शाहरुखका साथै गौरी खानको लगानी छ। एक्सन र थ्रिलर विधाको यो फिल्म हिन्दीका साथै तमिल र तेलुगु भाषामा समेत रिलिज भएको छ।
हरर र थ्रिलर जनरामा बनेको हलिउड फिल्म ‘द नन -२’ सन् २०१८ मा रिलिज भएको ‘द नन’ को सिक्वेल हो। माइकल चाभ्स निर्देशित फिल्ममा टैसा फरमिगा, अन्ना पोपलवेल, रोज डाउनी, बोनी आरन्स, जोनस ब्लोकेटको अभिनय छ।