नेपालमा शाहरुख खानको क्रेज, चार करोडमा भित्रिएको ‘जवान’ को अग्रिम बुकिङ आक्रामक



बिजमाण्डू
२०८० भदौ १९ गते १७:०६ | Sep 5, 2023
नेपालमा शाहरुख खानको क्रेज, चार करोडमा भित्रिएको ‘जवान’ को अग्रिम बुकिङ आक्रामक

काठमाडौं । शाहरुख खान स्टारर बलिउड फिल्म ‘जवान’ भदौ २१ गते विश्वभर रिलिज हुँदैछ। प्रदर्शन अगावै चर्चामा रहेको यस फिल्मले नेपाली सिनेमा हलमा कब्जा जमाएको छ।

Tata
GBIME
Zonsen

जवानको अग्रिम बुकिङ केही दिनअघि खुला गरिएको थियो। भारतमा हालसम्म ओपनिङ दिनका लागि मात्रै ७ लाख टिकट बिक्री भइसकेको छ। शाहरुखको क्रेजका कारण नेपाली हलमा पनि जवानले उच्च शो पाएको छ। अग्रिम बुकिङ पनि आक्रामक देखिन्छ।

बिहिबार जवानसहित हलिउड फिल्म ‘द नन-२’* पनि रिलिज हुँदैछ। तर नेपाली निर्माताले जवानसँग आफ्ना फिल्म जुधाएर ‘रिस्क’ लिन चाहेनन्। बरु जवान प्रदर्शनको एक सातापछि दीपेन्द्र लामाको ‘नांगो गाउँ’ र झरना थापाको ‘एक भगवत् गीता’ रिलिज गर्ने सेड्युल छ।

देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले हलिउड फिल्मको तुलनामा जवानलाई देशैभर उच्च शो दिएको छ। प्रदर्शनको पहिलो दिन जवानलाई ६० शो दिएको क्युएफएक्सले हलिउड फिल्म ‘द नन- २’लाई भने २१ शो मात्र उपलब्ध गराएको छ। क्युएफएक्सका हलहरुमा अग्रिम बुकिङ पनि उत्साहजनक छ।

चुच्चेपाटीस्थित केएल टावरमा रहेको एफ क्युबमा पनि जवानकै दबदबा छ। त्यहाँ ‘द नन- २’ ले ३ शो पाउँदा शाहरुखको जवानलाई १७ शो दिइएको छ। पहिलो दिनका ११ शोका टिकट सोल्डआउट भइसकेका छन्।

एटली कुमार निर्देशित जवानमा शाहरुख र दीपिका पादुकोणका साथै दक्षिण भारतका कलाकार विजय सेतुपति, नयनतारा पनि फिचर्ड छन्। जसले गर्दा दक्षिण भारततिर पनि फिल्मको राम्रो माहोल देखिन्छ।

नेपाली हलमा पनि जवानले दक्षिण भारतीय फिल्म ‘आरआरआर’ र ‘केजीएफ २’ को हाराहारीमा स्थान पाएको छ। सन् २०२२ तिर रिलिज भएका यी फिल्मले नेपाली हलमा धेरै शो पाएका थिए। केजीएफ २ मा त विकेन्डका शो सबै सोल्डआउट हुँदा बिहान १ बजे पनि शो थपिएको थियो।

नयाँ बानेश्वरस्थित वान सिनेमाजमा पनि जवानले अत्याधिक शो पाएको छ। जवानलाई नयाँ बानेश्वरको हलमा १६ र कालीमाटीको हलमा १० शो दिएको म्यानेजर उमेश गिरीले जानकारी दिए। उनका अनुसार अधिकांश शो सोल्डआउट भइसकेको छ।

‘जवानले राम्रो व्यापारको संकेत देखाएको छ। पहिलो दिनको बिहानी शो सहित १३ शो सोल्डआउट भइसकेका छन्। दिउँसो र साँझका शो पनि ७० प्रतिशत बुकिङ भइसकेका छन्,’ उनले भने।

सुन्धाराको सीटीसी मलमा रहेको ‘सीडीसी सिनेमाज’ ले शाहरुखको फिल्मलाई १० शो दिएको छ। पहिलो दिन बिहानीपखका शोहरु हाउसफूल भइसकेको हलका व्यवस्थापक जीवन शाक्यले बताए। शाक्य भन्छन्, ‘जवानको अग्रिम बुकिङ उत्साहजनक छ। हाम्रो हलमा बिहानीपखका शोहरु सोल्डआउट भइसके। भोलिसम्म अन्य शो पनि हाउसफुल हुन्छ भन्ने लागेको छ।’

बलिउड फिल्म ‘जवान’ लाई विश्वज्योति सिनेप्लेक्सले १०, रञ्जना सिनेप्लेक्सले ११, आईएनआई सिनेमा (बुटवल र काठमाडौं)ले १८, क्युज सिनेमाजले ११, बीएसआर मुभिजले ११ र कीर्तिपुर सिनेप्लेक्सले ४ शो उपलब्ध गराएका छन्। साथै फिल्मले सिंगल थिएटरमा पनि उत्साहजनक शो पाएको छ।

बहुप्रतिक्षित बलिउड फिल्म ‘जवान’ वितरक कम्पनी एप्पल इन्टरटेनमेन्टले नेपाल भित्र्याएको हो। फिल्म साढे २ करोड भारतीय रुपैयाँमा भित्र्याएको एप्पलकी व्यवस्थापक जेनिस पहारीले बताइन्।

‘४ करोड रुपैयाँ तिरेर फिल्म जवान नेपाल ल्याएका हौं। यो फिल्म सिंगल र मल्टिप्लेक्स गरेर नेपालभरका हलमा प्रदर्शन हुँदैछ। अग्रिम बुकिङबाट हामी निकै उत्साहित छौं’, उनले भनिन्।

रेड चिली प्रोडक्सन हाउसबाट बनेको फिल्ममा शाहरुखका साथै गौरी खानको लगानी छ। एक्सन र थ्रिलर विधाको यो फिल्म हिन्दीका साथै तमिल र तेलुगु भाषामा समेत रिलिज हुनेछ।

*‘द नन-२’ लेखिनु पर्नेमा अन्यथा भएकोले सच्याइएको छ।