
काठमाडौं। केही समययता सेयर बजारमा लगानीकर्ताको कन्फिडेन्स कमजोर हुँदै गएको देखिएको छ। त्यसकै परिणाम सेयर बजार परिसूचक निरन्तर घटिरहेको छ। नेप्से मंगलबार ६.४५ अंकले घटेको छ भने साढे तीन महिनायताकै न्यून कारोबार भएको छ।
‘अहिले लगानीकर्तामा कन्फिडेन्स छैन। आजको कारोबार निकै नाजुक छ। लगानीकर्ताले कन्फिडेन्स गुमाएकैले परिसूचक र कारोबार दुवैमा गिरावट देखिएको हो’, भिजन सेक्युरिटिजका अध्यक्ष तथा प्रबन्ध निर्देशक राजकुमार तिमल्सिनाले भने।
मंगलबार जम्मा ७९ करोड ६८ लाख रुपैयाँको सेयर किनबेच भयो। यो कारोबार रकम जेठ २ गते यताकै सबैभन्दा कम हो। गत जेठ २ गते ६४ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।
मंगलबार हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर सर्वाधिक कारोबार भएको छ। कम्पनीको ७ करोड ५८ लाख बराबरको संस्थापक सेयर खरिद बिक्री भएको हो। यस्तै साल्ट ट्रेडिङ कर्पोरेसनको २ करोड ९५ लाख र आईएमई लाइफ इन्स्योरेन्सको २ करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
नेप्से परिसूचक १९६१.३१ बिन्दुमा ओर्लिएको छ। सेन्सेटिभ इन्डेक्स पनि ०.४७ अंकले घटेको छ।
नेप्से घटे पनि २ लघुवित्तको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ। एनएमबी माइक्रोफाइनान्सको सेयर मूल्य प्रतिकित्ता ५१ रुपैयाँ र नेरुडे लघुवित्तको सेयर मूल्य ५८ रुपैयाँ बढेको हो। उता आशा लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ५८ र आत्मानिर्भर लघुवित्तको सेयर मूल्य प्रतिकित्ता १५६ रुपैयाँले घटेको छ।