काठमाडौं। सामान्य अवस्थामा तीज नजिकिएपछि काठमाडौंको मैतीदेवीस्थित सुवेदी गहना गृहमा बाक्लो भिडभाड हुन्थ्यो। ग्राहकको माग बढ्दा दैनिक ५ देखि ७ तोलासम्म सुन बिक्री हुन्थ्यो। तर यसवर्ष ग्राहक नआउँदा गहना गृहका सञ्चालक डिल्ली सुवेदी फुर्सदिला बनेका छन्।
विगतका वर्ष तीज आउनु एक महिनादेखि नै सुनको कारोबार बढ्ने गरेको थियो। सुन किन्नदेखि साट्नका लागि महिलाहरु घुइँचो लाग्थ्यो। तर यसपालि तीज आउन दुई साता बाँकी रहँदा पनि पसलमा ग्राहकको चहलपहल नरहेको सुनचाँदी व्यापारी बताउँछन्।
‘तीज हाम्रा लागि सुन बिक्री हुने सिजन भएपनि यस वर्ष खासै चहलपहल छैन। पहिले दिनमै ५/७ तोला सुन बिक्री हुन्थ्यो। अहिले भने बोहनी गर्न समेत मुस्किल भइरहेको छ। कोरोनाको बेला पनि यस्तो अवस्था थिएन। अहिले त सुन्न किन्ने कहाँ हो कहाँ, एक्सचेन्ज गर्ने ग्राहकको संख्यामा पनि कमी आएको छ,’ सुवेदीले भने।
वसन्तपुरमा रहेको जे जे ज्वलर्सको अवस्था पनि फरक छैन। सिजन भए पनि यसपटक सुनचाँदीको व्यापार न्यून रहेको व्यवसायी दीपक मुन्दडाले बताए। भन्छन्, ‘गतवर्षको तुलनामा यसपटक सुनको व्यापार ५० प्रतिशतले घटेको छ। ग्राहक नहुँदा हामी पनि फुर्सदमा छौं।’
असनस्थित गहना निकुञ्जका सञ्चालक मणिकरत्न शाक्यले पनि सुनको व्यापार ओरालो लागेको बताए। नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष समेत रहेका शाक्यले तीजले गर्दा केही ग्राहक बढे पनि गत वर्षसँग तुलना गर्न लायक अवस्था छैन भने।
उनले भने, ‘तीजले गर्दा केही भिडभाड बढ्न थालेको छ। तर, व्यापार गत वर्षसँग तुलना गर्न लायक छैन। अहिले २५ प्रतिशत मात्रै सुन बिक्री हुन सकेको छ।’
किन घट्यो सुनको बिक्री?
सरकारले गत वर्षदेखि कोटा प्रणालीअनुसार दैनिक १० किलो सुन आयात गर्न दिएको छ। महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यका अनुसार विगतका वर्ष तीजको बेला कोटासहित स्टक जोडेर दैनिक ३० देखि ४० किलोसम्म सुन बिक्री हुन्थ्यो। यसवर्ष तीज आउन लाग्दा समेत दैनिक १५ किलोसम्म मात्रै सुन बिक्री भइरहेको बज्राचार्य बताउँछन्।
‘अघिल्लो वर्षजस्तो तीजको सिजनमा यसपालि सुन पसलमा माहोल छैन। गत वर्ष दैनिक ३०/४० किलोसम्म बिक्री हुन्थ्यो अहिले १५ किलो नाघ्न सकेको छैन,’ बज्राचार्यले बिजमाण्डूसँगको कुराकानीमा भने।
महासंघका अध्यक्ष शाक्यले आर्थिक मन्दीको असर सुनचाँदीको व्यापारमा समेत परेको सुनाए। मन्दीले क्रयशक्ति घटेकाले सुनको मागमा कमी आएको उनको बुझाइ छ।
महासचिव बज्राचार्य मन्दीका साथै सुनको मूल्यमा भएको वृद्धिलाई व्यापार बढ्न नसक्नुको कारण ठान्छन्। गत वर्ष तीजको सिजनमा सुनको मूल्य प्रतितोला ९७ हजार थियो। अहिले प्रतितोला १ लाख १३ हजार रुपैयाँ छ। जुन अहिलेसम्मकै उच्च मूल्य हो।
बज्राचार्य भन्छन्, ‘अहिले मन्दीले सबैतिर गाह्रो बनाएको छ। क्रयशक्ति घट्दा उपभोक्ताले आधारभूत आवश्यकताभन्दा अन्यत्र ध्यान दिंदैनन्। त्यसमाथि सुनको मूल्य पनि बढेको छ। त्यैले सुनको माग घटेको हो।’