विदेशी मुद्रा बरामदका घटना बढ्दो, अवैध धन्दामा नेपाली नागरिकको प्रयोग



सविन ढकाल
२०८० भदौ १८ गते २१:५३ | Sep 4, 2023
विदेशी मुद्रा बरामदका घटना बढ्दो, अवैध धन्दामा नेपाली  नागरिकको प्रयोग

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध विदेशी मुद्रा बरामदका घटना पछिल्ला वर्ष बढेको छ। सरकारले ताेकेभन्दा बढी‚ अझ पक्राउ नै हुनेगरी मानिसहरु विदेशी मुद्रा किन बाेक्छन् ?

Tata
GBIME
Zonsen

गत आर्थिक वर्ष २०७९/८० मा मात्रै १९ देशका अवैध मुद्रा प्रहरीले बरामद गरेको छ। जबकि चार वर्षअघि आर्थिक वर्ष २०७६/७७ मा दुई देशको मात्र अवैध मुद्रा बरामद भएको थियो। यसरी बरामद हुने मुद्राको परिमाण पनि फरक परेको देखिएको छ।

आर्थिक वर्ष २०७९/८० मा भारतीय मुद्रा १४ लाख ६ हजार ३४० बरामद भएको छ। त्यस्तै अमेरिकी डलर २ लाख ४८ हजार २४० बरामद भएको छ। जसको नेपाली बजार मूल्य ३३ करोड रुपैयाँ हुन जान्छ। त्यसै गरी ७२ हजार ९४० युरो, नेपाली र विदेशीको साथबाट बरामद भएको थियो। जसको नेपाली बजार मूल्य  करिब साढे १० करोड रुपैयाँ हुन्छ।

त्यस्तै ५८ हजार ४ सय अस्ट्रेलियन डलर, २ लाख ६८ हजार ९५० साउदी रियाल बरामद गरेको प्रहरीको तथ्यांकले देखाएको छ। १८ हजार ३२४ कतारी रियाल बरामद गरेको थियो। त्यस्तै अन्य देशका विभिन्न मुद्रा बरामद भएको छ।

गत साउन ३ गते दुबई जान लागेका चार युवाको साथबाट १ करोड रुपैयाँभन्दा बढी बरामद भएको थियो। पक्राउ पर्नेमा २४ वर्षीय अनिष थापा, सूर्यमणि भण्डारी, दीपेश राना र सन्तोष पन्थी रहेको विमानस्थलका डीआइजी अर्जुन चन्दले बताए। उनीहरू हिमालयन एयरलाइन्सबाट दुबई जान लागेका थिए। विदेश जाँदा यसरी ठूलो मात्रामा रकम लैजान पाइँदैन। एक पटकमा १५ सय डलर मात्र लग्न पाइन्छ। जसका लागि बैंकबाट सटही गरेको प्रमाणीकरण हुनुपर्छ। सो रकम तीन जनाले अनिषलाई दिएको खुलेको थियो।

विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ लाई टेकेर बरामद भएको विदेशी मुद्रामा राजस्व अनुसन्धान विभागले अनुसन्धान गर्ने गर्छ। विदेशी विनिमयको कारोबार गर्न व्यक्ति, फर्म वा संस्थाले बैकबाट इजाजत लिनुपर्ने कानुनी व्यवस्था छ। विदेशीको हकमा कानुनको बारेमा जानकार नहुँदा पनि विदेशी मुद्रा लिएर पुग्ने गरेको राजस्व अनुसन्धान विभागका विदेशी विनिमयसम्बन्धी अनुसन्धान गर्ने अधिकारी विदुर कार्कीले बताए।

‘सानो रकमको केसमा अरु देशहरूमा १० हजार डलरसम्म बोकेर हिँड्न पाइने रहेछ। विदेशीहरूको हकमा कानुन नजानेर नै बोकेको पाइन्छ,’ कार्कीले भने।

४१ हजार ४ सय अमेरिकी डलरसहित साउदी रियल १ लाख १९ हजार ५ सय, ओमानी रियल लगायतका मुद्रा बरामद भएको हो। अनिशले विदेश जान लागेका युवालाई रकम दिएको खुलेको छ।

तर चार वर्षअघि भने विमानस्थलबाट ५६ हजार अमेरिकी डलर (७४ लाख रुपैयाँ) र १ लाख ५९ हजार साउदी रियाल मात्र बरामद भएको थियो। जसको नेपाली बजार मूल्य  ५६ लाख रुपैयाँ हुन जान्छ। आर्थिक वर्ष २०७७/७८ मा ५१ हजार ४४६ अमेरिकी डलर र २ हजार अस्ट्रेलियन डलर बरामद भएको थियो।

आर्थिक वर्ष २०७८/७९ मा अवैध रुपमा विदेश लैजान लागेको अवस्थामा १२ देशका मुद्रा बरामद भयो। ७५ हजार ७२२ अमेरिकी डलर, १५ हजार ९३० युरो, ८ लाख ९८ हजार ८५० भारतीय रुपैयाँ, ६ लाख २७ हजार ७६० साउदी रियाल बरामद भएको थियो। यसरी हेर्दा अघिल्लो वर्षको तुलनामा विमानस्थलबाट बरामद हुने विदेशी मुद्राको संख्या बढेर गएको हो।

यसरी अवैध तरिकाले विदेश लगिएको रकम हुन्डी र सुन खरिद गर्ने गरेको समेत केही अनुसन्धानमा देखिएको छ। नेपालमा गैरकानुनी रुपमा आर्जन गरेको रकम छलछाम गरेर विदेशमा लग्ने गरेको समेत देखिन्छ। त्यस्तै ठूलो संख्या र नेपाली नागरिकको केसमा भने विदेशी मुद्रा बाहिर लग्ने प्रयोजनको लागि नै प्रयोग गर्ने गरेको खुल्छ।

‘ठूलो संख्यामा रकम लैजान भने नेपालीलाई प्रयोग पनि भएको पाइन्छ। अवैध धन्दामा रकम प्रयोग भएको देखिन्छ,’ एक अनुसन्धान अधिकृतले भने।

विमानस्थलमा मात्र होइन देशभित्र पनि यस्ता स्रोत नखुलेको रकम भेटिने संख्या बढेको देखिन्छ। आर्थिक वर्ष २०७८/७९ मा देशभर प्रहरीले ९ करोड ७० लाख ३२ हजार रुपैयाँ बरामद भएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै ३ करोड रुपैयाँले वृद्धि भएको हो।

नेपाल प्रहरीले मात्र आर्थिक वर्ष २०७७/७८ मा अवैध अर्थात् स्रोत नखुलेको ७ करोड १ लाख ३५ हजार ९ सय ४४ रुपैयाँ बरामद गरेको थियो। यो अघिल्लो वर्षको तुलनामा झन्डै ७ सय ६ प्रतिशतले बढेको थियो। आर्थिक वर्ष २०७६/७७ मा देशभर ५ करोड ७६ लाख ५९ हजार रुपैयाँ बरामद भएको थियो।

भारतसँगको खुल्ला सिमाना, खुकुलो विमानस्थल सुरक्षा, अरु देशको तुलनामा कमजोर कानुनी व्यवस्थामा टेकेर नेपाल सुनदेखि हुन्डीसम्मको तस्करी हुने गरेको छ। त्यसको लागि आवश्यक पर्ने रकम अवैधरुपमा जाने गरेको छ।