
काठमाडौं । एसियन कप क्रिकेटका सुपर फोरका खेलहरु श्रीलंकाको राजधानी कोलम्बोबाहिर सार्नेबारे बहस सुरु भएको छ।
विगत केही दिनदेखि कोलम्बोमा अत्याधिक वर्षा भएसँगै बाढी कारण जीवन अस्तव्यस्त भइरहेको छ। जसकारण सुपर फोरका खेलहरु कोलम्बो बाहिर सार्ने तयारीमा एसियाली क्रिकेट परिषद (एसीसी) लागेको हो।
अहिले श्रीलंकामा भइरहेका केही खेलहरु वर्षाका कारण प्रभावित भएका छन्।
शनिबार एसियन कप क्रिकेटको बहुप्रतिक्षित रहेको भारत र पाकिस्तान श्रीलंकामा प्रतिस्पर्धामा उत्रिए। तर, वर्षाका कारण खेल ‘वासआउट’ भयो। यी दुई टोलीबीचको प्रतिद्वन्दितालाई हेरेर पल्लेकेलेमा हुने अन्य अन्तर्राष्ट्रिय म्याचको भन्दा गुणा बढी शुल्क बढाएर टिकट बेचिएको थियो।
सोमबार नेपाल र भारत श्रीलंकामै प्रतिस्पर्धा गर्दैछन्। तर, आजको खेलमा पनि वर्षाले बाधा गर्ने पूर्वानुमान गरिएको छ। समूह चरणका खेलहरु वर्षाका कारण प्रभावित भएसँगै सुपर फोरका खेलहरु प्रभावित नहोस् भनेर एसीसीले कोलम्बो बाहिर वैकल्पिक स्थानहरु खोज्न थालेको हो।
वर्षाका कारण प्रतियोगिताका ब्रोडकास्टरले थप जोखिम लिन नचाहेकोले स्थानान्तरणको विषय आएको स्पोर्ट्स स्टारले जनाएको छ। यसले एसियाली क्रिकेट परिषद (एसीसी)को रणनीति फेरिने देखिएको छ। अहिले सुपर फोरका खेलहरु दम्बुलामा स्थानान्तरण गर्ने प्रस्ताव गरिएको छ।
यो प्रतियोगिताको आयोजक पाकिस्तान हो। तर, भारतले सुरक्षाको बाहना गर्दै टोली पाकिस्तान पठाउन नसक्ने अडान लिँदा प्रतियोगिता हाइब्रिड मोडलमा आयोजना भइरहेको छ। जसकारण खेलहरु श्रीलंकामा भइरहेका छन्।
पाकिस्तानले श्रीलंकामा वर्षाको पूर्वानुमान भएको भन्दै एसिया कपको न्युट्रल भेन्यूका रुपमा यूएई प्रस्ताव गरेको थियो। तर, एसीसीले आफ्नो प्रस्ताव नमानेको पाकिस्तान क्रिकेट बोर्डका नजीम सेठ्ठीले आरोप लगाएका छन्। उनले खेलमा राजनीति गरिएको भन्दै यो अक्ष्यम्य भएको बताएका छन्।
‘निराशाजनक! वर्षाले क्रिकेटको सबैभन्दा ठूलो खेललाई नष्ट गर्यो। तर, यो पूर्वानुमान गरिएको थियो। पीसीबी अध्यक्षको हैसियतमा मैले एसीसीलाई युएईमा खेल्न आग्रह गरें। तर श्रीलंकामा खेल गराउन खराब बहानाहरु बनाइयो,’ एक्समा पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष सेठीले लेखेका छन्, ‘दुबईमा धेरै गर्मी भएको उनीहरुले भने। तर, त्यहाँ पछिल्लो पटक २०२२ सेप्टेम्बरमा एसिया कप खेल्दा वा अप्रिल २०१४ र सेप्टेम्बर २०२० मा आईपीएल खेल्दा जत्तिकै गर्मी थियो। खेलकुदमाथिको राजनीति। अक्षम्य!’