काठमाडौं। भेप (इलेक्ट्रिक चुरोट) मार्फत ल्याएको ९ किलो सुन प्रकरणमा जोडिएका पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुलले प्रयोग गर्ने मोबाइल प्रहरीले जफत गरेको छ।
जफत गरिएको मोबाइल फरेन्सिक जाँचको लागि प्रहरीको डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाइएको छ। विभिन्न शंकास्पद व्यक्तिहरुको कनेक्सन फोनको आधारमा खुल्ने सम्भावना भएपछि परीक्षणको लागि पठाइएको प्रहरीले जानकारी दिएको छ। गत बुधबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले राहुललाई नियन्त्रणमा लिएको थियो।
‘दुई दिनअघि मात्र हामीले परीक्षणको लागि पठाएका छौं। त्यसबाट अरुको कनेक्सन देखिन्छ भन्ने आश हो,’ ब्युरो स्रोतले भन्यो।
प्रहरीले राहुलको साथमा भएको ४ वटा मोलाइल परीक्षणको लागि पठाएको हो।
गत पुस १० गते फ्लाइ दुबईबाट चिनियाँ नागरिकले २ वटा सुटकेसमा ७३ वटा प्याकभित्र ७३० वटा भेप ल्याएका थिए। धेरै संख्यामा भेप ल्याएको देखिएपछि विमानस्थल भन्सार कार्यालयले जफत गरेको थियो।
जफत गरिएको भेपबारे बुझ्न राहुलले भन्सारका अधिकृतलाई पटक-पटक फोन समेत गरेका थिए। त्यस्तै सुन ल्याउने चिनियाँ नागरिकसँग बाबुछोराको नै सम्पर्क देखिएको थियो।
भेपभित्रको सुन भन्सारको गोदामबाट नै चोरी भएको थियो। अहिले ब्युरोले भेप प्रकरणमा पनि अनुसन्धान थालेको छ।
त्यस्तै, ६१ किलो सुन प्रकरणमा अनुसन्धान गरिरहेको ब्युरो अनुसन्धानको लागि हङकङ र भारत पुगेका प्रहरीको प्रतिक्षामा छ।अन्तरदेशीय अपराध भएपछि इन्टरपोलको सहयोगमा ब्युरोले एसएसपी दिनेश आचार्यलाई हङकङ र डीएसपी धर्मराज भण्डारीलाई भारत पठाएको थियो।