
काठमाडौं। संचार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी स:शुल्क टेलिभिजन च्यानलको शुल्क निर्धारण गरेको छ। मन्त्रालयले विदेशी स:शुल्क टेलिभिजन च्यानलको शुल्क (इन्डिभिज्वल च्यानल प्राइस) र तिनको बुकेको शुल्कसमेत सार्वजनिक गरेको छ।
भदौ १५ गते संचारमन्त्री रेखा शर्माले मन्त्रिस्तरीय निर्णय गर्दै आला कार्ट कार्यान्वयनमा लग्ने निर्णय गरेकी हुन्।
मन्त्रालयले स्टार इन्डिया प्रालि, सोनी पिक्चर्स नेटवर्क्स इन्डिया प्रालि, इन्डियाकास्ट मिडिया डिस्ट्रिब्युसन प्रालि, जी इन्टरटेन्मेन्ट इन्टरप्राइज लिमिटेड, डिस्कभरी नेटवर्क एसिया प्यासेफिक प्रालि र होम बक्स अफिस (सिंगापुर) प्रालिको टेलिभिजन च्यानल र तिनको बुकेको शुल्क निर्धारण गरेको छ।
एसडी गुणस्तरका च्यानलहरुको मूल्य केही कम हुँदा एचडीको भने केही महँगो तोकिएको छ। अब स्टार इन्डिया प्रालिले प्रसारण गर्ने च्यानलको स्वीकृत मूल्य २ रुपैयाँदेखि २० रुपैयाँसम्म छ। स्टार इन्टरटेन्मेन्ट प्याक, स्टार मुभी प्याक, स्टार स्पोर्ट्स प्याक र स्टार प्रिमियम स्पोर्ट्स प्याकको बुके मूल्य ४० रुपैयाँ तोकेको छ।
सोनी पिक्चर्स नेटवर्क्सको च्यानलहरुको स्वीकृत मूल्य पनि २ रुपैयाँदेखि २० रुपैयाँसम्म छ। सोनीको बेसिक प्याकेज, स्पोर्ट्स प्रिमियम र स्पोर्ट्सको बुकेको मूल्य ४० रुपैयाँ तोकिएको छ।
इन्डियाकास्ट मिडियाका च्यानलहरुको मूल्य ०.२५ रुपैयाँदेखि २० रुपैयाँसम्म तोकिएको छ। बुकेअन्तर्गत कलर्स प्रिमियम, कलर्स बेसिकको मूल्य २५ रुपैयाँ निर्धारण गरिएको मन्त्रालयले जनाएको छ।
जी इन्टरटेन्मेन्टले प्रसारण गर्ने च्यानलहरुको मूल्य पनि ०.२५ रुपैयाँदेखि २० रुपैयाँ तोकिएको छ। जीको जी बुके-१ र जी-बुके २ को मूल्य समान २५ रुपैयाँ तोकिएको छ।
डिस्कभरी नेटवर्कका च्यानलहरुको मूल्य २ रुपैयाँदेखि १० रुपैयाँसम्म तोकिएको छ। यसको डिस्कभरी बुके र टर्नरको मूल्य भने २० रुपैयाँ तोकिएको छ।
होम बक्स अफिसले आफ्ना हरेक च्यानलहरुको मूल्य ७ रुपैयाँ स्वीकृत गराएको छ। बुकेअन्तर्गत भने यसका च्यानलहरुको मूल्य १५ रुपैयाँ तोकिएको छ।
सरकारले विदेशी च्यानल अपरेटरहरुले ‘आला कार्ट’ मूल्य प्रणालीअनुसार मूल्य स्वीकृत नगराए प्रसारण नै बन्द गर्ने चेतावनी दिएपछि विभिन्न विदेशी च्यानल अपरेटर कम्पनीहरुले शुल्क स्वीकृत गराएका थिए।
सरकारले गत असार २८ गतेभित्र स:शुल्क रहेका विदेशी च्यानलहरुको शुल्कको मूल्यसूची सूचना तथा प्रसारण विभागमा उपलब्ध नगराए प्रसारण रोक्ने चेतावनी दिएको थियो। तर, विदेशी च्यानल अपरेटरहरुले धमाधम शुल्क स्वीकृत गराएपछि च्यानल प्रसारण रोकिने अवस्था टरेको थियो।
संचार मन्त्रालयले गएको चैतमा ‘आला कार्ट’ मूल्य प्रणाली लागू गर्दै शुल्क निर्धारण गरेको थियो। आला कार्ट भन्नाले ‘पे टेलिभिजन’ सेवा हो। अर्थात नेपाली उपभोक्ताहरुले आफूलाई मनपर्ने च्यानलको मात्रै शुल्क तिरेर हेर्न पाउँछन् भन्ने हो।
अहिले एकमुस्ट प्याकेजको पैसा तिर्दा सबै च्यानल आउने गर्छन्। च्यानल छनोट गर्ने अधिकार उपभोक्तामा थिएन। आला कार्ट लागु भएपछि भने आफूले रोजेको च्यानलको मात्रै शुल्क तिरेर हेर्न पाउने व्यवस्था सरकारले गरेको थियो।
गत चैत १५ गतेको मन्त्रिस्तरीय निर्णयबाट संचार मन्त्रालयले टेलिभिजन च्यानलहरुको सिग्नल वितरण गर्न अनुमति पाएका सेवा प्रदायकहरुले उपभोक्ताबाट लिन पाउने शुल्क निर्धारण गरेको थियो।
सरकारले आला कार्ट शुल्क र बुके उपलब्ध गराउन नेपालका सबै अपरेटर र विदेशी टेलिभिजन च्यानल तथा विदेशी च्यानलको डाउनलिंक अनुमति प्राप्त संस्थाहरु (वितरक) लाई वैशाख १७ गते पहिलोपटक जानकारी गराएको थियो।
त्यसपछि पुन: वैशाख ३१ गते ताकेता गरिएको संचार मन्त्रालय मातहतको सूचना तथा प्रसारण विभागले जनाएको छ। त्यसपछि असार १७ गते नेपालका सबै विदेशी सिग्नल वितरक र अपरेटरहरुलाई पुन: पत्राचार गर्दै साउन १ गतेबाट आलाकार्ट शुल्क प्रणाली पूर्णरुपमा लागु हुने जानकारी गराउँदै असार २८ गतेभित्र सशुल्क विदेशी च्यानलहरुको शुल्क र बुके विभागमा उपलब्ध गराउन भनेको थियो।
संचार मन्त्रालयका अनुसार न्यूनतम (बेसिक प्याकेज) शुल्कबापत मासिक करसहित २५० रुपैयाँ मात्रै लिन पाइने व्यवस्था गरेको छ। यो प्याकेजमा प्रसारण संस्थाले नेपाली तथा विदेशी ‘फ्री टु एयर’ अर्थात नि:शुल्क हेर्न पाउने च्यानलहरु देखाउनु पर्नेछ।
यस्ता च्यानलहरु सूचनामूलक, समाचारमूलक, शिक्षाप्रद, मनोरञ्जनात्मक, खेलकुद लगायतका विषयवस्तु समावेश हुनुपर्ने मन्त्रालयले जनाएको छ।
च्यानल अपरेटरहरुले सशुल्क च्यानलहरु प्रसारण गरेबापत अलग अलग वा बुकेको आधारमा मात्रै उपभोक्ताबाट शुल्क लिन पाउने व्यवस्था गरेको थियो। प्रत्येक बुके च्यानलको अधिकतम मूल्य सरकारले करसहित ४० रुपैयाँ तोकेको छ। करसहित ४० रुपैयाँभन्दा बढी लिन सरकारले रोक लगाएको छ।
बुके च्यानलहरु एकै समूहले बन्डलमा उपलब्ध गराइरहेको च्यानल भनिन्छ। उदाहरणका लागि स्टार स्पोर्ट्स, स्टार प्लस, स्टार मुभिज, स्टार वर्ल्ड, स्टार गोल्ड लगायतलाई बुके भन्ने गरिन्छ।