काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गरेका राम्रा काम पार्टीले जनतासम्म पुर्याउन नसकेको बताएका छन्। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रचण्डले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को उद्घाटनका क्रममा सरकारको लोकप्रियताबाट अत्तालिएकाले घेराबन्दी गरिरहेको टिप्पणी समेत गरेका छन्।
उनले व्यवस्थित प्रचार गर्न नसक्दा भ्रमपूर्ण प्रचार भएको बताए। परिवर्तन नरुचाउनेले घेराबन्दी गरेको प्रचण्डको भनाइ छ।
‘परिवर्तनलाई नरुचाउने, इतिहासको रथलाई उल्टो दिशामा लैजाने, सरकारका लोकप्रियताबाट अत्तालिएका कतिपय तत्वले भ्रम छर्ने काम गरे,’ उनले भने।
अबको लडाइँ विकासका निम्ति भएको उनले बताए। सरकारले अघि बढाएका कामलाई अभियानले अघि बढाउने पनि प्रचण्डको भनाइ छ।
‘बेथितिको डंगुरु छ। कुशासनको चाङ छन्। ठूला-ठूला सेटिङ छन्। बेथितिलाई सच्याउने र सेटिङलाई भत्काउने तथा देशलाई साँच्चै समृद्ध बनाउने लडाइँमा छौँ,’ उनले भने।
सरकारका कामले अहिले जनतामा आशा पलाएको उनको दाबी छ। अब केही हुन्छ भन्ने स्थिति देखा परेको प्रचण्डको भनाइ छ।
दृढ इच्छाशक्ति अहिले व्यवहारमा पुष्टि भएको उनले बताए। उनले पार्टीभित्रको आशंका पनि सरकारका कामबाट मेटिएको बताए।
‘जनताका आशा र प्रतिक्रियालाई समेटिने छ। सरकारले चालेका कामलाई जनतासम्म पुर्याएर अझ सशक्त रुपमा अघि बढिने छ,’ उनले भने।