क्यानको राजनीतिमा पारसलाई लगातार सफलता, वाग्मती प्रदेश अध्यक्षमा निर्वाचित, अरु को को?

बिजमाण्डू
२०८० भदौ १५ गते १८:३३ | Sep 1, 2023
क्यानको राजनीतिमा पारसलाई लगातार सफलता, वाग्मती प्रदेश अध्यक्षमा निर्वाचित, अरु को को?
निर्वाचित भएपछि पारस खड्का


काठमाडौं। राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का नेपाल क्रिकेट संघ (क्यान) को वाग्मती प्रदेश अध्यक्षममा निर्वाचित भएका छन्। चितवन क्रिकेट संघका उमेश पियालाई पछि पार्दै पारस निर्वाचित भएका हुन्।

Tata
GBIME
NLIC

उनले दुई वर्षअघि खेलाडी जीवनबाट संन्यास लिएर क्यानको राजनीतिमा आउने तयारी थालेका थिए। उनी केही दिनअघि जिल्ला क्रिकेट संघ काठमाडौंको कार्यसमिति सदस्य चुनिएका थिए। सदस्य निर्वाचित भएपछि उनले चार जिल्ला (काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुर)का अध्यक्षलाई मञ्चमा राखेर वाग्मती प्रदेशको अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका थिए।

आज सम्पन्न निर्वाचनमा पारसले प्रतिस्पर्धी पियालाई ९ मतले पराजित गरे। उनले ३७ मध्ये २३ मत प्राप्त गरे। पियाले भने १४ मत मात्र पाए। यस्तै उपाध्यक्षमा प्रेमबहादुर क्षत्री र सचिवमा सञ्जय बस्नेत विजयी भए। उनीहरुले पनि २३ मत ल्याएका हुन्।

सदस्यमा अजयवीर पाण्डे, अनिल अधिकारी, सञ्जोग पोखरेल, सुजन महर्जन, धिरज श्रेष्ठ, शेखर श्रेष्ठ र वसन्तराज सत्याल निर्वाचित भएका छन्। महिला सदस्यमा नीरा राजोपाध्याय निर्विरोध भइन्।

अरु प्रदेशमा को चुनिए?

क्यानको जिल्ला र प्रदेशको निर्वाचन सकिएको छ। कोशी प्रदेश अध्यक्षमा सर्वजित पाण्डे निर्वाचित भएका छन्।

मधेश प्रदेशमा सुनीलकुमार महासेठ अध्यक्ष, पवन गुप्ता उपाध्यक्ष, आयुश श्रेष्ठ सचिव र सुवास जैसवाल कोषाध्यक्ष निर्वाचित भएका छन्।

गण्डकीमा सञ्जयकान्त सिग्देल अध्यक्षमा निर्वाचित हुँदा प्रकाश पौडेल उपाध्यक्ष, सुमनराज कार्की सचिव र दिवाकर थापा कोषाध्यक्षमा विजयी भएका छन्।

लुम्बिनी प्रदेश अध्यक्षमा संजय गुरुङ अध्यक्ष, विनय राजभण्डारी उपाध्यक्ष, कैलाश रोक्कामगर सचिव र राजेश श्रेष्ठ कोषाध्यक्ष बनेका छन्।

कर्णाली प्रदेश अध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित भएका छन्। उपाध्यक्षमा खड्गजंग शाही, सचिवमा श्रीधर केसी र कोषाध्यक्षमा सूर्य थापा निर्वाचित भएका छन्।

सुदूरपश्चिम प्रदेशमा वासुदेव जोशी अध्यक्ष, रमेशबहादुर बोहरा उपाध्यक्ष, लक्ष्मणदत्त भट्ट सचिव र दिनेश सिंह कोषाध्यक्ष बनेका छन्।

अब पालो केन्द्रको

जिल्ला र प्रदेशपछि अब क्यानको केन्द्रीय निर्वाचन हुनेछ। अध्यक्ष चतुरबहादुर चन्दले दोहोरिने चाहना व्यक्त गरिसकेका छन्। कोषाध्यक्ष रोशन सिंह र वाग्मती प्रदेश अध्यक्षमा निर्वाचित पारसले पनि अध्यक्षमा उम्मेदवारी दिने अनुमान गरिएको छ। पारसले यसअघि नै त्यसको संकेत गरिसकेका छन्।

तर उनलाई सचिवमा मनाउने गृहकार्य सुरु भइसकेको छ। संस्थापन पक्षका केन्द्रीय सदस्य चन्द र सिंहलाई जुधाउने पक्षमा छैनन्। चुनावमा कस्तो समीकरण बन्छ भनेर ठोकुवा गर्ने स्थिति बनिसकेको छैन।

नयाँ नेतृत्व चयनका लागि क्यानको साधारणसभा असोज पहिलो साताका लागि तय गरिएको छ।