आर्थिक मन्दीको प्रभाव क्‍वातिमा पनि, मूल्य बढ्दा बिक्रीमा ५० प्रतिशतसम्मको गिरावट

बिजमाण्डू
२०८० भदौ १४ गते ०६:४० | Aug 31, 2023
आर्थिक मन्दीको प्रभाव क्‍वातिमा पनि, मूल्य बढ्दा बिक्रीमा ५० प्रतिशतसम्मको गिरावट

काठमाडौं। आज साउन शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमा। आजको दिनलाई काठमाडौं उपत्यकाका नेवार समुदायले क्‍वाति पुन्ही/गुंपुन्हीको रुपमा समेत मनाउने गर्छन्। आज भिजाएको सिमी, केराउ, बोडी, चना लगायत ९ प्रकारका गेडीगुडीलाई पकाएर क्‍वाति (तातो झोल) खाने चलन छ।

Tata
GBIME
NLIC

अहिले क्‍वाति खाने चलन नेवार समुदायमा मात्रै सीमित छैन। अन्य समुदायले पनि क्‍वाति खाने गर्छन्।

तर पौष्टिक आहारको रुपमा लिइने क्‍वातिको व्यापार यसवर्ष ५० प्रतिशतले घटेको व्यवसायीहरु बताउँछन्। बानेश्‍वरमा किराना पसल गरिरहेका समर कडायतले यसवर्ष क्‍वातिको बिक्री आधाले घटेको बताए।

‘पोहोरभन्दा क्‍वातिको व्यापार निकै घटेको छ। गएको वर्ष सय किलो क्‍वाति बिक्री भएको थियो। तर यसवर्ष भने ५५ किलो ल्याउँदा अहिलेसम्म ४० केजी गएको छ,’ उनले भने।

थापाथलीस्थित राम स्टोरकी शुशिला थापाले पनि क्‍वातिको व्यापार घटेको सुनाइन्। उनी भन्छिन्, ‘अहिले खासै व्यापार छैन। गएको वर्ष २६ किलोको एक बोरा क्‍वाति बिक्री भएको थियो। तर अहिले त १० किलो मात्रै बेचियो। त्यही पनि परिवार र आफन्तले नै किन्‍नुभएको हो।’

अर्का खुद्रा व्यवसायी सुरज पन्तले पनि पहिलेजस्तो क्‍वाति बिक्री नभएको बताए। गतवर्ष उनले आफ्नो ‘स्टोर अमिशा’बाट २ बोरा क्‍वाति बेचेका थिए। तर यसवर्ष भने उपभोक्ताबाट खासै माग नहुँदा १ बोरा मात्रै बेचेको उनले सुनाए।

बानेश्‍वरस्थित कात्यानी भगवती पूजा पसल व्यवसायी इशव पराजुलीले भने क्‍वातिको बिक्री राम्रै भइरहेको बताए। ‘रेगुलर कस्टुमर’ नै आफ्ना खरिदकर्ता भएकोले गत वर्षजतिकै क्‍वाति बेचिएको उनको दाबी छ।

किन घट्यो क्‍वातिको बिक्री?

पछिल्लो समय दैनिक उपभोग्य वस्तुको मूल्य दिन प्रतिदिन उकालो लागिरहेको छ। तरकारीदेखि चामल, दाल, मसला तथा गेडागुडीको भारु पनि बढिरहेको छ।

बजारमा क्‍वातिमा प्रयोग गरिने चना, केराउ, मास लगायतका गेडागुडीको मूल्यमा वृद्धि भएको छ। जसले गर्दा यसवर्ष क्‍वाँटी प्रतिकेजीमा ४० रुपैयाँसम्मले बढेको छ।

गेडागुडीको मूल्य बढेसँगै क्‍वाति महँगो भएको व्यवसायी कठायत बताउँछन्। उनका अनुसार गतवर्ष १५० रुपैयाँमा बिक्री भएको क्‍वातिलाई यसवर्ष १७०-१८० रुपैयाँ परेको छ। प्याकेजिङ गरिएको क्‍वाति भने बजारमा खुद्रामा १९०/२०० रुपैयाँसम्म पर्छ।

चर्को मूल्यवृद्धिसँगै अहिले आर्थिक मन्दीको मारमा छन् नेपाली उपभोक्ता। क्रयशक्ति कम हुनु त्यसमाथि लगातार मूल्य वृद्धि। जसकारण पनि उपभोक्ताहरुको चहलपहल घटनुका साथै क्‍वातिको बिक्रीमा गिरावट आएको खाद्यान्‍न व्यवसायीहरु बताउँछन्।

कडायतले भने, ‘मन्दी र मूल्य बढेकै कारण अहिले बजारमा खासै चहलपहल नै छैन। जसले गर्दा माग घटेको हो। पहिले २ किलो क्‍वाति किन्‍नेले आधा केजी/पाउमा लग्‍न थालेका छन्।’

गेडागुडीको मूल्य बढेसँगै क्‍वातिको भारु बढेकोमा सहमत छन् सुरज पन्त पनि। उनले गतवर्ष १३०/१४० रुपैयाँ केजी क्‍वाति बेचेका थिए। तर, यसवर्ष भने १६०/१७० रुपैयाँसम्म बिक्री गरेको उनले बताए।