वाग्मती प्रदेशका मुख्यमन्त्री र मन्त्रीबीच कार्यसम्पादन सम्झौता, ६ महिनाभित्र प्रगति विवरण बुझाउनुपर्ने

निशा गुरुङ
२०८० भदौ १३ गते २०:११ | Aug 30, 2023
वाग्मती प्रदेशका मुख्यमन्त्री र मन्त्रीबीच कार्यसम्पादन सम्झौता, ६ महिनाभित्र प्रगति विवरण बुझाउनुपर्ने


हेटौंडाः वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशका मन्त्रीहरूसँग कार्यसम्पादन करार सम्झौता गरेका छन्। मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारका ९ जना मन्त्रीसँग बुधबार सम्झौता गरेका हुन्।

Tata
GBIME

प्रदेश सरकारका १२ जना मन्त्रीमध्ये ९ जनासँग सम्झौता भएको हो। काम विशेषले हेटौंडाबाहिर रहेका तीन जना मन्त्रीसँग भने केही समयपछि सम्झौता हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ।

प्रत्येक मन्त्रीसँग छुट्टाछुट्टै सम्झौता गर्दै मुख्यमन्त्री जम्कट्टेलले सम्बन्धित मन्त्रालयले चालू आर्थिक वर्षभित्र गर्नुपर्ने महत्वपूर्ण काम र त्यसको अवधि उल्लेख गरेका छन्।

सम्झौतामा कात्तिक महिनाभित्र सबै योजनाको काम अघि बढाउनुपर्ने छ। साथै छ महिनाभित्र प्रगति विवरण सार्वजनिक गरी मुख्यमन्त्री कार्यालयमा बुझाउनुपर्ने पनि सम्झौतामा उल्लेख छ। सम्झौतापछि मन्त्रालयहरूले गरेको काम र प्रगति समयमा भए नभएको मुख्यमन्त्रीले अनलाइन माध्यमबाट प्रत्यक्ष निगरानी गर्नेगरी व्यवस्था मिलाइएको मुख्यमन्त्री जम्कट्टेलले बताए।

मुख्यमन्त्री जम्कट्टेलले आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामा, आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठ, सामाजिक विकास मन्त्री कुमारी लामा, भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालसँग कार्यसम्पादन करार सम्झौता गरेका छन्।

त्यस्तै स्वास्थ्य मन्त्री उत्तम जोशी, वन तथा वातावरण मन्त्री मसिना खड्का, संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जन र उद्योग, वाणिज्य, भूमि तथा सामान्य प्रशासन मन्त्री रामकृष्ण चित्रकारसँग सम्झौता गरिएको छ।

ऊर्जा सिँचाइ तथा जलस्रोत मन्त्री तीर्थ लामा, कृषि तथा पशुपन्छी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठ र श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालसँग भने केही समयपछि सम्झौता गरिने कार्यालयले जनाएको छ।