‘विश्व नम्बर एक’विरुद्ध एसिया कपमा डेब्यु गर्दै नेपाल, एक दिनअघि नै पाकिस्तानको प्लेइङ ११

बिजमाण्डू
२०८० भदौ १३ गते ०६:३६ | Aug 30, 2023
‘विश्व नम्बर एक’विरुद्ध एसिया कपमा डेब्यु गर्दै नेपाल, एक दिनअघि नै पाकिस्तानको प्लेइङ ११


काठमाडौं। नेपाली क्रिकेट टोलीले आज एसिया कपमा डेब्‍यु गर्दैछ। पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा हाल एकदिवसीय विश्‍व वरीयताको शीर्षस्थानमा रहेको घरेलु टोली पाकिस्तानविरुद्ध नेपालले डेब्यु गर्न लागेको हो।

Tata
GBIME

नेपाली क्रिकेट टोलीका लागि पाकिस्तान टोली, मुल्तान क्रिकेट मैदान र एसिया कप सबै नयाँ हुनेछ। नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले मंगलबार प्री-म्याच कन्फ्रेन्समा नेपाल पाकिस्तानभन्दा अनुभवको हिसाबले पछि रहेको भन्दै ‘वान बल ब्याट’लमा केन्द्रित हुने स्पष्ट पारे।

‘हामी पहिलोपटक एसिया कप खेल्दैछौँ। यो हाम्रो लागि ठूलो उपलब्धि हो। पाकिस्तान धेरै राम्रो टिम छ,’ कप्तान पौडेलले भने, ‘हामी उनीहरुलाई प्रतिस्पर्धात्मक चुनौती दिन चाहन्छौँ। हामी यहाँ छौँ, किनभने हामी यहाँ डिजर्भ गर्छौँ।’

उनले बलिङ र ब्याटिङमा दुवै टोली राम्रो भए पनि पाकिस्तानसँग धेरै अनुभव भएको बताए।

‘हाम्रो ध्यान विपक्षी को हो भन्‍नेमा भन्दा पनि ‘‘वान बल ब्याटल’’मा केन्द्रित हुनेछ,’ प्रतियोगिताका कान्छा कप्तान पौडेलले भने, ‘हाम्रो तयारी राम्रो छ। जिम्बावेमा विश्‍वकप छनोट र श्रीलंकामा इमर्जिङ एसिया कप पनि खेल्यौँ। मलाई लाग्छ हामी तयार छौँ।’

त्यस्तै पाकिस्तानका कप्तान बाबर आजमले नेपाललाई हल्का रुपमा नलिने बताए।

‘जो विपक्षी भए पनि तयारी राम्रो गर्नुपर्छ। हामीले उनीहरुको टिमलाई हेरेका छौँ। उनीहरुको सबल र दुर्बल पक्षलाई हेरेका छौँ,’ उनले भने, ‘हाम्रो लागि महत्त्वपूर्ण खेल हुनेछ।’

नेपाल र पाकिस्तान ३० हजार क्षमताको मुल्तान क्रिकेट स्टेडियममा दिउँसो सवा ३ बजे भिड्नेछन्।

नेपालविरुद्धका खेलका लागि पाकिस्तानले एकदिन अगावै प्लेइङ ११ घोषणा गरिसकेको छ। बाबर आजमको कप्तानीमा रहेको पाकिस्तानी टोलीमा सादाब खान, फकर जमान, इमाम उल हक, सलमन अली आगा, इफ्तिकार अहमद, मोहम्मद रिजवान, मोहम्मद नवाज, नसीम शाह, शाहीन शाह अफ्रिदी र हरिस रउफ छन्।

नेपालले प्लेइङ ११ घोषणा गरेको छैन। यसपटकको एसिया कप हाइब्रिड मोडलमा पाकिस्तान र श्रीलंकामा हुँदैछ। नेपालले दोस्रो खेल श्रीलंकामा भारतविरुद्ध खेल्नेछ। नेपाल रहेको समूहमा नेपाल, भारत र पाकिस्तान छन् भने अर्को समूहमा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन्।