काठमाडौं। नेपाली क्रिकेट टोली पाकिस्तान पुग्दा त्यहाँको क्रिकेट टोली श्रीलंकामा अफगानिस्तानसँग सिरिज खेलिरहेको थियो। श्रीलंकामा तीनवटा खेलमध्ये सबैमा छिमेकी अफगानिस्तानलाई हराएर पाकिस्तान अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को एकदिवसीय वरीयतामा शीर्ष स्थानमा उक्लियो।
ओडीआई वरीयतामा नम्बर एक राष्ट्र पाकिस्तानको अब अर्को प्रतिस्पर्धी हो- एसोसिएट राष्ट्र नेपाल।
बुधवार पाकिस्तानविरुद्ध ३० हजार क्षमताको मुल्तान क्रिकेट स्टेडियममा उत्रँदै नेपालले एसिया कपमा डेब्यु गर्नेछ। पाकिस्तानको घरेलु मैदानमा उनीहरुकै समर्थकमाझ नेपालले खेल्नुपर्ने छ। सामान्यतया नेपालले खेल्ने भनेको एसोसिएट स्तरमा हो। एसोसिएट स्तरमा ओमन, यूएई, अमेरिकाजस्ता देशहरुसँग उनीहरुकै मैदानमा गएर खेल्दा पनि ती टोलीको फ्यानबेस नहुँदा नेपाली टोलीकै समर्थक बढी हुने गर्छन्। तर, यसपाला शीर्ष टोली, उनीहरुकै मैदान र समर्थकका माझ नेपालले खेल्नुपर्ने छ।
नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले बिदाइका क्रममा विश्वकप छनोटका क्रममा जिम्बावेविरुद्धको खेलमा विपक्षीको समर्थकहरुबीच खेलेको अनुभव भएको सुनाएका थिए।
नेपाल र पाकिस्तानबीचको खेलमा बुधबार दिउँसो ३:१५ बजे सुरु हुनेछ। नेपालले हालसम्म पाकिस्तानको सिनियर टोलीविरुद्ध खेलेको छैन। एसोसिएट राष्ट्रमा उत्कृष्टमध्ये एक नेपालले हालसम्म एकदिवसीय फर्म्याटमा खेलेका तीन टेस्ट मान्यताप्राप्त टोलीहरुमा वेस्ट इण्डिज, जिम्बावे र आयरल्याण्ड छन्।
नेपालले एसिया कपकै समूहको दोस्रो खेलमा विश्व वरीयतामा तेस्रो स्थानमा रहेको भारतसँग श्रीलंकामा खेल्दैछ। नेपाल एक दिवसीय वरीयतामा १५ औँ स्थानमा छ।
सन् २०१८ मा एक दिवसीय मान्यता पाएको नेपालले ५८ औँ एक दिवसीय खेलमा सबैभन्दा माथिल्लो वरीयताको टोली प्रतिस्पर्धी बन्नेछ।
धारिलो पाकिस्तानसामु नेपालको चुनौती
पाकिस्तान जानुअघि नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले आफूहरु तयार भएको बताएका थिए।
‘दुवै टिम एकदमै राम्रो छ। चुनौतीपूर्ण त भइहाल्छ। चुनौतीलाई कसरी ह्याण्डल गर्ने तयारी भइरहेको छ,’ प्रतियोगिताकै कान्छा कप्तानसमेत रहेका पौडेलले भने, ‘हामीले टेस्ट राष्ट्रहरुसँग खेलिसकेका छौँ। बल हेरेर खेल्ने हो भने त्यस्तो धेरै फरक हुने छैन। बेस्ट क्रिकेट प्रस्तुत गर्ने हाम्रो योजना छ। भारत पाकिस्तानको खेल सबैले हेरिरहेको हुन्छ।’
उनले मुल्तानको विकेटको डेटा हेरेर त्यही हिसाबले तयारी गरिरहेको बताएका थिए।
एसिया कपको उद्घाटन खेल हुने मुल्तान क्रिकेट स्टेडियममा हालसम्म १० वटा एकदिवसीय म्याच भएका छन्। यो मैदानमा भएको पछिल्लो एकदिवसीय खेलमा सन् २०२२ मा पाकिस्तानले वेस्ट इण्डिजलाई ५३ रनले हराएको थियो। यो मैदानको उच्च स्कोर ३२३ रन छ। जुन सन् २००३ मा पाकिस्तानले बंगलादेशविरुद्ध बनाएको थियो। त्यस्तै २००४ मा जिम्बावे १४८ रनमा अलआउट हुँदा सबैभन्दा कम रन बनेको थियो।
पछिल्लो समय पाकिस्तान उच्च लयमा छ। ब्याटिङको कुरा गर्दा कप्तान बाबर आजम एकदिवसीय वरीयतामै नम्बर १ मा छन्। त्यस्तै इमाम उल हल तेस्रो, फकर जमान पाँचौँ स्थानमा छन्। नेपाली ब्याट्सम्यानहरुको कुरा गर्दा दुई जनामात्र अटाएका छन्। कप्तान रोहित पौडेल वरीयताको ७३ औँ स्थानमा रहँदा आशिफ शेख ८० औँ स्थानमा छन्।
ब्याटिङतर्फ कुशल भुर्तेल, आशिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र कप्तान पौडेलमाथि नेपालको ठूलो जिम्मेवारी हुनेछ।
त्यस्तै बलिङतर्फ पनि पाकिस्तानमा शाहीन शाह अफ्रीदी, नसीम शाह, हरिस रउफजस्ता धुरन्धर बलरहरु छन्। पाकिस्तानको बलियो पक्ष नै बलिङमा छ, त्यसमा पनि खासगरी पेस बलिङमा। लेफ्ट आर्मर शाहीन अफ्रीदी, राइट आर्मर नसिम शाह र हरिस रउफले पाकिस्तानी बलिङको लिड गर्नेछन्। त्यस्तै स्पीनतर्फ सादाब खान र उस्मार मीर अफ स्पीनर अघा सलमान, लेफ्ट आर्म स्पीनर मोहम्मद नवाज रहनेछन्।
पाकिस्तानको सबैभन्दा कमजोर पक्ष भनेको उनीहरुको ब्याटिङको कन्सिस्टेन्सी हो। केही खेलमा राम्रो सुरुवात गरेर पनि टिक्न संघर्ष गर्ने पाकिस्तानको प्याटर्न देखिन्छ। खासगरी शीर्ष क्रममा पाकिस्तानी ब्याटिङ धेरै डिपेन्ड रहन्छ।
त्यस्तै नेपाली क्रिकेट टोली एसिया कपमा डेब्यु गर्दैछ। सन् २०१८ बाट एक दिवसीयमा डेब्यु गरेको नेपालको सबैभन्दा कमजोर पक्ष नै अनुभव हो। नेपालले एसिया कपमा सहभागी बाँकी पाँचमध्ये कुनै पनि टोलीसँग एक दिवसीय अन्तर्राष्ट्रिय खेलेको छैन। नेपालको बलियो पक्ष भनेको लय नै हो।
एकदिवसीय मान्यता फर्काएयता नेपाली टोलीमा कन्फिडेन्स भने बढेको छ। केही महिनाकै अन्तरालमा क्रिकेट विश्वकप लिग २, एसीसी प्रिमियर कप, एकदिवसीय विश्वकप छनोट र इमर्जिङ टिम्स एसिया कप खेलेको नेपाल मैदानबाट लामो समय बाहिरिएको छैन। सधैं एक्सोपजरको अभाव खड्किने नेपाली टोलीले भने पछिल्ला महिनामा वेस्ट इण्डिज, जिम्बावे, नेदरल्याण्ड्स, आयरल्याण्ड, भारत ‘ए’, पाकिस्तान ‘ए’ लगायतका बलिया टोलीसँग प्रतिस्पर्धा गरिसकेको छ।
नेपालको बलिङ अट्याकमा अनुभवी बलर सन्दीप लामिछाने, ललित राजवंशी, सोमपाल कामी र करण केसीमाथि जिम्मेवारी हुनेछ।
पाकिस्तान पुगेर नेपाली टोलीका प्रशिक्षक मोन्टी देशाइले नेपाली टोली छनोट प्रक्रियामा राम्रो खेलेर एसिया कप पुगेको भन्दै प्रतियोगिताका लागि राम्रो मिहिनेत गरेको बताए।
एसिया कपमा नेपालको अपेक्षा के भन्ने प्रश्नमा बिदाइका क्रममा काठमाडौँमा दिएकै जवाफ पाकिस्तानमा दोहोर्याए- प्लेइङ एटिच्युड।
‘व्यक्तिगत रुपमा भन्नु पर्दा मेरो अपेक्षा टिमले आफ्नो एटिट्युडलाई कायम राख्ने नै हो। हामीले प्रिमियर कप जितेर यहाँ स्थान बनाएका हौं,’ प्रशिक्षक देशाइले भने, ‘यहाँ केही नयाँ सिक्नका लागि मिल्नेछ। यो नेपालका लागि सेलिब्रेसन पनि हो। किनभने नेपालले दुई ठूला क्रिकेट राष्ट्रविरुद्ध पहिलो पटक खेल्दैछ। यो ठूलो अवसर हो।’
उनले प्रतियोगिताका लागि खेलाडीहरुले धेरै मेहेनत गरेको भन्दै श्रीलंकामा सम्पन्न इमर्जिङ एसियाबाट धेरै सिक्ने अवसर मिलेको बताए।
‘हामीले इमर्जिङ टिम्स एसिया कप पनि खेलेका थियौं। त्यसबेला भारत र पाकिस्तानको ‘ए’ टोलीसँग खेलेका थियौं। तर, नतिजा हाम्रो पक्षमा आएको थिएन,’ देशाइले भने, ‘तर, राम्रो अनुभव भने हात परेको थियो।’
सन् १९९२ को विश्वकप विजेता रहेका पूर्व पाकिस्तानी क्रिकेटर वसीम अक्रमले नेपाललाई कमजोर ठान्ने गल्ती गर्न नहुने बताएका छन्।
‘मैले नेपाललाई फलो गरिरहेको छु,’ अक्रमले भने, ‘उनीहरु राम्रो खेलेर छनोट भए। उनीहरुले अब संरचना बनाउने र घरेलु लिगमा फर्स्ट क्लास क्रिकेटको सेटअप बनाउने हो भने उनीहरुले शीर्ष टिमलाई चुनौती दिन सक्छन्।’
सोमवार पाकिस्तानी टोलीका विकेटकिपर मोहम्मद रिजवानले नेपाली टोलीसँग भटे। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले जारी गरेको भिडियोमा उनले नेपाली टोलीका सबैभन्दा सिनियर खेलाडी सोमपाल कामी र युवा अलराउण्डर कुशल मल्लसँग कुराकानी गरेका छन्। त्यस क्रममा रिजवानले ‘यू गाइज डिजर्भ’ भन्दै केही परे आफूलाई भन्न आग्रह गरेका छन्।