काठमाडौं। गत आइतबार एसएसपी भूपेन्द्र खत्रीले पत्रकार सम्मेलन गरे। खत्रीले जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखको जिम्मेवारी पाएको केही दिनपछिको पत्रकार सम्मेलन थियो। पत्रकार सम्मेलनको उद्देश्य हतियारसहित पक्राउ परेका व्यक्ति सार्वजनिक थियो।
सम्मेलन त्यतिमा मात्र सीमित भएन। जल्दबल्दा घटनाले प्रवेश पाइहाल्यो। सञ्चारकर्मीको प्रश्न थियो- अब नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान के हुन्छ ?
केही दिनअघि मात्र सरकारले काठमाडौंका प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीलाई समय नपुग्दै सरुवा गरेको थियो। उनीसँगै काठमाडौं उपत्यका कार्यालयका प्रमुख एआईजी श्याम ज्ञवाली पनि सरुवामा परे। सरुवा त्यतिमै रोकिएन। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा मनोज केसीको पनि सरुवा भयो।
उनीहरूको सरुवा प्रहरी नियमावलीभन्दा केही फरक थियो। उनीहरू तीनै जना नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानमा खटिएका प्रहरी अधिकृत हुन्।
तीन वटै कार्यालयको भूमिका शरणार्थी प्रकरणको अनुसन्धानमा महत्त्वपूर्ण थियो। पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सरकारका सचिव टेकनारायण पाण्डे लगायत हाई प्रोफाइल व्यक्ति यस प्रकरणमा समातिए।
शरणार्थी प्रकरणमा ३० जनालाई प्रतिवादी बनाएर दर्ता गरिएको मुद्दा अहिले विचाराधीन छ। उनीहरुविरुद्ध किर्ते, ठगी, संगठित अपराध, एकीकृत कसुरसमेत गरेकाले सोहीअनुसार सजायको माग दाबीसहित गत जेठ १० गते मुद्दा दर्ता गरिएको थियो।
जिल्ला अदालतको असार १ गतेको आदेशमा उनीहरू अहिले कारागारमा छन्। यही प्रकरणमा अरु हाई प्रोफाइल व्यक्तिको नाम समेत आइरहेको छ। तर प्रमाण नभएको भन्दै उनीहरू अनुसन्धानको घेरामा परेका छैनन्।
यो प्रकरणमा फेरि १८ जनाले जाहेरी दिएका छन्। त्यसको अनुसन्धान गर्नुपर्ने जिम्मेवारी प्रहरीमा थपिएको छ। एकातिर यहि प्रकरणमा अनुसन्धानको नेतृत्व गरेका अधिकृतहरुको सरुवा, अर्कातिर नयाँ जाहेरी र राजनीतिक दबाब रहेको अवस्थामा एसएसपी खत्रीसामु चुनौती र अवसर दुवै देखिएको छ। त्यसो त उनले सरकारले ‘सेटिङ’मा ल्याएको भन्ने आरोप पनि खेपिरहनु परेको छ।
आइतबार त्यही प्रश्नको जवाफमा एसएसपी खत्री खासै खुलेर बोल्न चाहेनन्। उनले कानुनले जे निर्देशित गर्छ त्यही अनुसार काम गर्ने औपचारिक जवाफ दिए। ‘अनुसन्धानमा को व्यक्ति, कुन पार्टी पर्छ भन्ने अर्थ खासै राख्दैन,’ एसएसपी खत्रीले भने।
एसएसपी खत्री अनुसन्धानमा उत्कृष्ट व्यावसायिक अधिकृतका रुपमा चिनिन्छन्। २०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको विस्फोटमा घाइते भएका २३ जनालाई इँटा भट्टामा जिउँदै जलाएको आरोप लागे पनि राजनीतिक दलको आडमा १२ वर्षदेखि जोगिंदै आएका नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई २०७६ असोजमा पक्राउ गर्दा जिल्लाको प्रहरी नेतृत्व उनै खत्रीले गरेका थिए। एसएसपी खत्रीसँग रौतहटका अलावा काभ्रे प्रहरी प्रमुखका रुपमा काम गरेको अनुभव छ।
अहिले नक्कली भुटानी शरणार्थी प्रकरणको दोस्रो चरणको अनुसन्धान अगाडि बढाउन भने खत्रीलाई उतिकै चुनौती छ। आफूमाथि ‘सेटिङ’मा आएको भन्ने आरोप गलत सावित गर्न उनले व्यावसायिक भूमिकामा अझ खरो उत्रिनुपर्नेछ।
एसएसपी खत्रीले काठमाडौंका १४ वटा वृत्तका प्रमुख (डीएसपी)लाई बोलाएर सोमबार ब्रिफिङ लिएका छन्। बिफ्रिङका क्रममा उनले आफूले काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी पाएको विषय उठाए। सेटिङमा सरुवा भएको हल्लालाई निराधार भन्दै उनले सबै वृत्त प्रमुखलाई कानुनले दिएको अधिकारभित्र रहेर काम गर्न निर्देशन दिए।
‘सेटिङमा आएको भन्ने लागेको होला। नक्कली भुटानी शरणार्थी प्रकरण लगायत कुनै पनि घटनामा म कम्प्रोमाइज गर्ने पक्षमा छैन। तपाइँहरूले कानुनअनुसार काम गर्नुहोला,’ एसएसपी खत्रीलाई उद्धृत गर्दै एक अधिकृतले सुनाए।
ब्रिफिङमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौंर पनि सहभागी थिए।