राष्ट्रपति बन्ने दौडमा आइफोन बिलेनियर टेरी, भन्छन् : ताइवानलाई अर्को युक्रेन बनाउन चाहन्‍न

बिजमाण्डू
२०८० भदौ १२ गते ११:२८ | Aug 29, 2023
राष्ट्रपति बन्ने दौडमा आइफोन बिलेनियर टेरी, भन्छन् : ताइवानलाई अर्को युक्रेन बनाउन चाहन्‍न
Photo : Reuters


सन् २०२४ को जनवरीमा ताइवानमा राष्ट्रपति निर्वाचन हुँदैछ। राष्ट्रपति बन्‍ने प्रतिस्पर्धामा अहिले आइफोन मेकर कम्पनी फक्सकनका संस्थापक ७२ वर्षीय टेरी गोउ पनि जोडिएका छन्।

Tata
GBIME

उनको उम्मेदवारी घोषणासँगै संस्थापन पक्षको डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीविरुद्ध विपक्षी दलहरुबाट मात्रै तीन उम्मेदवार भएका छन्। यसले मत बाँडिने सम्भावना अत्यधिक रहेको विश्लेषण गरिएको छ।

चीनसँग सम्बन्ध चिसिरहेको बेला हुन लागेको निर्वाचनलाई भूराजनीतिक दृष्टिकोणले महत्वका साथ हेरिएको छ।

गोउले पहिला ताइवानको सबैभन्दा पुरानो राष्ट्रवादी पार्टी केएमटीबाट उम्मेदवार बन्‍न चाहेका थिए। तर केएमटीले अर्कै उम्मेदवार घोषणा गरेपछि उनले पार्टी त्यागे।

ताइवानको अर्को विपक्षी दल हो ताइवान पिपल्स पार्टी। सो दलका पपुलिस्ट नेता को वेन जी पनि चुनावी दौडमा छन्। राष्ट्रपतिको दौडमा उनी सर्वेक्षणहरुमा दोस्रोमा छन्। त्यसैले पनि सोमबारमात्रै उम्मेदवारी घोषणा गरेका गोउका लागि चुनावी प्रतिस्पर्धा सजिलो भने छैन।

फक्सकन (होन हाइ) उद्योग विश्‍वकै ठूलो इलेक्ट्रोनिक्स उपकरण उत्पादन गर्ने कम्पनी हो। एप्पलको म्याकबुक र आइफोनको आउटसोर्स फक्सकनसँगै छ। यसले फक्सकनलाई ताइवानकै सबैभन्दा ठूलो कम्पनी बनाएको छ भने गोउ धनी उद्योगी बनेका छन्।

गोउले चीनका दक्ष कामदारहरु ल्याएर कम्पनी खडा गरेका हुन्। अहिले उनै गोउ आफ्नो चीनमा लगानी र काम गरेको अनुभव प्रयोग गर्न चाहेको बताइरहेका छन्। चीनसँग बढ्दो दुरीलाई बुझेका गोउ ताइवानलाई ‘अर्को युक्रेन’ बनाउने पक्षमा नरहेको बताइरहेका छन्।