
काठमाडौं। देशभरका अधिकांश सिमेन्ट उद्योग यतिबेला चरम संकटमा फसेका छन्। सिमेन्ट बिक्री नहुँदा अधिकांश उद्योगले क्लिंकर उत्पादन कटौती गर्न थालेका छन्। केहीले सिमेन्टको माग आएको खण्डमा मात्रै क्लिंकर युनिट चलाइरहेका छन्।
बजारमा माग न्यून हुँदा उद्योगबाट उत्पादित क्लिंकर र सिमेन्ट ठूलो मात्रामा स्टकमा छ। बिक्री नभएपछि अधिकांश उद्योग थला परेका हुन्।
देशभर क्लिंकर उत्पादन गर्ने उद्योग १८ वटा छन्। जसमध्ये दुई सरकारी स्वामित्वका हुन्। मागमा अत्यधिक गिरावटले उद्योगले सरकारलाई अग्रिम करसमेत बुझाउन सकेका छैनन्।
भण्डारण सुविधा (स्टोरेज) भएका सिमेन्ट उद्योगले क्लिंकर वर्ष दिनसम्म जोगाएर राख्न सक्ने अवस्था भए पनि यो सुविधा नभएका वा कम क्षमता भएका उद्योग थप प्रभावित बन्न पुगेका छन्। जस्तै सर्वोत्तम सिमेन्टसँग ८० हजार टन क्लिंकर भण्डारण गर्न सक्ने क्षमता छ। अरु केही उद्योगसँग पनि क्लिंकर तथा सिमेन्ट भण्डारणको सुविधा छ।
त्यसो त भण्डारणबाट फाइदा हुने होइन। उत्पादन गर्दा लगानी परिसकेको हुन्छ। सिमेन्टका लागि कोइला आयातदेखि चुनढुंगा संकलनमा उद्योगहरुले ठूलै रकम खर्च गर्नुपर्छ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा अर्घाखाँची सिमेन्टका निर्देशक पशुपति मुरारका ‘आजको दिनमा कुनै पनि क्लिंकर उत्पादन गर्ने सिमेन्ट उद्योग सहज अवस्थामा नभएको’ बताउँछन्।
‘हरेक वर्ष १०-१२ प्रतिशतले सिमेन्टको माग बढिरहेको अवस्थालाई हेरेर नयाँ-नयाँ उद्योग आए तर २ वर्षदेखि एक्कासी निरन्तर माग घट्दा असहज परिस्थिति देखिएको छ,’ मुरारकाले भने।
सिमेन्ट भनेको ठूलो लगानी चाहिने उद्योग हो। बन्द गरौं बन्द गर्न नसकिने, चालु राखौं चालु राख्न पनि नसकिने। बन्द गर्दा पनि नोक्सान चलाउँदा पनि नोक्सान छ।
पशुपति मुरारका, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा अर्घाखाँची सिमेन्टका निर्देशक

‘उद्योगहरु थपिँदा सिमेन्ट अत्यधिक उत्पादन (ओभर प्रडक्सन) भयो। त्यसपछि भाउ नआउने। भाउ नआएपछि घाटा हुने नै भयो। अर्कातिर सरकारी खर्च निराशाजनक छ। विकास निर्माण सुस्त छ। बैंकहरुले लगानी नगर्दा निजी घर पनि बनेनन्। कित्ताकाटमा कडाइ गरियो। यसले सिमेन्टको माग घटायो,’ मुरारकाले भने, ‘सिमेन्ट भनेको ठूलो लगानी चाहिने उद्योग हो। त्यसैले अहिले बिक्री भएन भनेर न बन्द गर्न सकिन्छ न त चलाउन सक्ने अवस्था छ। बन्द गर्दा पनि नोक्सान, चलाउँदा पनि नोक्सान छ।’
मुरारका उद्योगमा ब्याजदर र ह्रासकट्टी (डिप्रिसियसन) को ठूलो मार पर्ने बताउँछन्। उनका अनुसार लगानीको अनुपातमा माग नबढेका कारण साना ठूला सबै सिमेन्ट उद्योग समस्यामा छन्।
सबै निर्माण सामग्रीको माग घटेकाले उद्योगहरु क्षमताको ३० प्रतिशत मात्रै चलिरहेका छन्। प्लान्ट चलाएन भने त अत्ति नै महँगो पर्छ। कि त बन्दै गर्नुपर्यो नभए चलाउनुपर्यो।
राजेश अग्रवाल, नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष तथा पाल्पा सिमेन्टका कार्यकारी निर्देशक

प्लान्ट निरन्तर नचल्दा घाटा चुलिँदै
नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष तथा आरएमसी समूहको पाल्पा सिमेन्टका कार्यकारी निर्देशक राजेशकुमार अग्रवाल देशमा विकास निर्माणका काम ठप्प हुँदा सिमेन्ट उद्योग समस्यामा रहेको बताउँछन्। सबै निर्माण सामग्रीको माग घटेकाले उद्योगहरु क्षमताको ३० प्रतिशत मात्रै चलिरहेको उनले बताए।
महँगो बैंक ब्याजदरका कारण पनि उद्योगहरु धरासायी बनेको उनको बुझाइ छ। सिमेन्टलाई अत्यावश्यक क्लिंकर युनिट निरन्तर नचलाए उत्पादन लागत अत्यधिक महँगो पर्छ।
‘क्लिंकर बनाउन त उद्योग रेगुलर चलाउनु पर्छ। एकचोटि बन्द गरेपछि फेरि फायरिङ गरेर चलाउन डिजल तथा कोइला धेरै खर्च हुन्छ। प्लान्ट निरन्तर चलाउनुपर्छ। बन्द गरेपछि कम्तिमा ३ महिना नै गर्नुपर्ने हुन्छ। दिनमा २ घण्टा चलायो, ४ घण्टा चलाएन भने पनि त्यसको तापक्रम कायम गर्नलाई कोइला र डिजलमा खर्च गर्नैपर्छ। प्लान्ट चलाएन भने त अत्ति नै महँगो पर्छ। कि त बन्दै गर्नुपर्यो नभए चलाउनुपर्यो,’ अग्रवालले भने।
सौरभ समूह तथा सर्वोत्तम सिमेन्टका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले आफूहरुले २० लाख बोरा सिमेन्ट बेच्ने गरेकामा अहिले १० लाख बोरा बेच्न पनि गाह्रो भइरहेको बताउँछन्। धेरै उद्योग ‘अन-अफ’ भएर चलिरहेका छन्। यसको मतलव आवश्यक पर्दा उद्योग चलाउने, नभए बन्द गर्ने।
१५ दिन चलाएर स्टक धेरै भएपछि फेरि बन्द गर्ने क्रम तीव्र बनेको छ। यसले उद्योगहरुको लागत निकै बढाइरहेको उद्योगी बताउँछन्। केही सिमेन्ट उद्योगले भारततर्फ सिमेन्ट निर्यात गरिरहेकाले त्यसले झिनो राहत भने दिइरहेको छ।
गत वर्ष ७७ करोड रुपैयाँबराबरको सिमेन्ट भारत निर्यात भएको थियो। यो वर्ष ३-४ अर्ब रुपैयाँको निर्यात हुने अनुमान उद्योगीहरुको छ। सिमेन्ट उद्योगका लागि लगानीको तुलनामा यो रकम त्यति धेरै होइन।
सिमेन्टलाई भकारीमा स्टोर गर्यो भने ४ महिनामा प्रयोग गर्नुपर्छ, बोरामा प्याकिङ भए ३ महिनाभित्र उपयोग गर्नु राम्रो मानिन्छ। यो अवधि कटे सिमेन्टको स्ट्रेन्थ खस्किने डर हुन्छ। क्लिंकर भने ढुंगा/गिट्टीकै आकारमा हुने भएकाले १ वर्षसम्म भण्डारण गरेर राख्न सकिन्छ।
सम्राट सिमेन्ट भने पारिवारिक लफडाका साथै बजारमा देखिएको मन्दीका कारण उत्पादन बन्द गरेर बसेको अवस्था छ। बजारमा मागको स्थिति अहिलेकै जस्तो रहिरहे ठूला र राम्रा भनिएका सिमेन्ट उद्योग पनि बन्द हुन सक्ने उद्योगी बताउँछन्।
वर्षाको समय अफ सिजन हो। यो बेला मूल्य कम हुने भन्दै कम्पनीले एलसी खोल्ने र निर्माण व्यवसायीले बुकिङ गरेर राख्थे। अहिले त यो पनि ठन्डाराम छ।
विष्णुप्रसाद न्यौपाने, अध्यक्ष, सौरभ समूह तथा सर्वोत्तम सिमेन्ट

‘उत्पादन बनाएर राखेर मात्रै के गर्नुहुन्छ? उत्पादित सामग्री त बजारमा बिक्नु पर्यो। बिक्री अहिले एकदमै कम छ। माग अहिले झरेर ३० प्रतिशतभन्दा कम छ। नेपालमा सिमेन्टको एकदमै पिक सिजन कोरोना महामारीभन्दा अघि थियो, सन् २०१९ मा वार्षिक २० करोड बोराको माग थियो। पोहोर १३ करोड बोरा जति बिक्यो भन्ने अनुमान छ। यो वर्ष त त्यति पनि नहोला भन्ने छ,’ न्यौपानेले भने, ‘वर्षाको समय अफ सिजन हो। यो बेला मूल्य कम हुने भन्दै कम्पनीले एलसी खोल्ने र निर्माण व्यवसायीले बुकिङ गरेर राख्थे। अहिले त यो पनि ठन्डाराम छ।’
सामान्य अवस्थामा अफ सिजनमा पनि मासिक सवा करोड बोरा सिमेन्ट बिक्री हुने गरेकामा अहिले ४० लाख बोरा पनि बिकेको छैन।

क्लिंकर पिसेर सिमेन्ट बनाइन्छ। ओपीसी सिमेन्टमा ९५ प्रतिशत क्लिंकर र बाँकी ५ प्रतिशत जीप्सम प्रयोग हुन्छ। पीपीसीमा ७० प्रतिशत क्लिंकर, २५ प्रतिशत फ्लायर र ५ प्रतिशत जिप्सम हुन्छ। अहिले ओपीसी र पीपीसी दुवै सिमेन्टको माग छैन।
उद्योगी न्यौपानेका अनुसार सिमेन्टको माग मुख्यगरी तीन ठाउँमा हुन्छ। सरकार (तीनवटै तह), सिमेन्टमा आधारित क्षेत्र (जलविद्युत, ह्युम पाइप, बिजुलीको पोल, टायल, ब्लक इत्यादि) र सामान्य उपभोक्ता (व्यक्ति घर बनाउने वा अन्य काम) सिमेन्ट उद्योगका मुख्य बजार हुन्। अहिले यी तीनवटै क्षेत्रले माग गरेका छैनन्।
‘अहिले घर बनाउनेहरु ५० प्रतिशतले घटेका छन्। सरकार र सिमेन्टमा आधारित क्षेत्रहरुबाट सिमेन्टको माग २५ प्रतिशतमा झरेको छ। यसले ठूलो समस्या पारेको छ,’ न्यौपानेले भने।