सेयर बजारमा २० अंकको गिरावट, ब्रोकरहरुकै कारणले घटेको हो कारोबार ?

बिजमाण्डू
२०८० भदौ १० गते १५:५४ | Aug 27, 2023
सेयर बजारमा २० अंकको गिरावट, ब्रोकरहरुकै कारणले घटेको हो कारोबार ?

काठमाडौं। सेयर बजारको घट्ने क्रमले निरन्तरता पाएको छ। आइतबार बजार २०.५४ अंकले घटेर १९९३.३८ बिन्दुमा आइपुगेको छ। सेन्सेटिभ इन्डेक्स पनि ३.४४ अंकले घटेको छ।

Tata
GBIME
NLIC

बजारसँगै कारोबार पनि निकै घटेको छ। दिनभरमा १ अर्ब २६ करोड बराबरको सेयर कारोबार भएको छ। जुन पछिल्लो करिब ३ महिना यताकै न्यून कारोबार हो ।

बजारमा अहिले तरलताको स्थिति सामान्य भए पनि ब्याजदरका कारण लगानीकर्ताहरुले सहजै कर्जा ल्याउन नसकिरहेको ब्रोकर भरत रानाभाट बताउँछन्। ‘अहिले बैंकहरुले सेयर धितो कर्जा लिन सहज छ,’ उनले भने,’तर ब्याजदर त्यति सहज छैन। त्यसैले अहिले लगानीकर्ताहरु कर्जा लिएर बजारमा लगानी गर्न डराइरहेका छन्।’

नेप्सेले सदस्यता तथा सुपरिवेक्षण विनियमावली, २०८० निर्माण गरेर स्वीकृतिका लागि धितोपत्र बोर्डमा पठाएको छ। उक्त विनियमावलीका केही बुँदाहरु खारेज तथा संशोधन गर्न ब्रोकरहरुले बोर्डमा उच्च दबाब दिइरहेका छन्। त्यसको असर पनि बजार कारोबारमा देखिएको छ।

‘नयाँ तथा पुराना गरेर थुप्रै ब्रोकरहरु बजारमा आइसकेका छन्। तर अहिलेको समयमा पनि ब्रोकरहरु तथा तिनको परिवारको नामबाट सेयर खरिद गर्नु परे नेप्सेबाट पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था नयाँ विनियमावलीमा प्रस्ताव गरिएको छ,’ एक ब्रोकरले भने, ‘नेप्सेमा स्वीकृतिका लागि कहिले पठाउनु, कहिले स्वीकृति दिनु र ब्रोकरले किन्नु? बजारमा बसेका प्रमुख प्लेयरहरुले नै कारोबार गर्न नपाउने गरी विनियमावली बनाउँदा त्यसैको असर पनि देखिएको हो।’

नेप्सेले ल्याउन लागेको नयाँ विनियमावलीको अनुसूची ९(१०)मा ब्रोकर तथा ब्रोकरको परिवारको नामबाट सेयर खरिद बिक्री गर्नु परे नेप्सेबाट पूर्व स्वीकृति लिएर अर्को ब्रोकरमार्फत कारोबार गर्नुपर्ने उल्लेख छ।

आइतबार कारोबारका आधारमा एसियन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा छ। उक्त कम्पनीको ७ करोड ४६ लाख बराबरको सेयर कारोबार भएको छ। आइएमइ लाइफ इन्स्योरेन्सको ५ करोड र सोल्टी होटलको ४ करोड बराबरको सेयर कारोबार भएको छ।

बजार घट्दा पनि सर्वाधिक कमाउने कम्पनीमा कुथेली बुखरी स्मल हाइड्रोपावर छ। भर्खरै दोस्रो बजारमा सूचीकृत भएको यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७०.१० रुपैयाँले बढेको छ।

बजार घट्दा सबैभन्दा धेरै प्रभावित जलविद्युत उपसमूह भयो। उक्त उपसमूह १.७५ प्रतिशतले घटेको छ। गत वर्ष सुक्खाका कारण विद्युत उत्पादन कम हुँदा जलविद्युत कम्पनीहरुको उत्पादन तथा त्यसबाट आउने आम्दानी घटेको छ।

यसका साथै ब्याजदर वृद्धिको असरले दीर्घकालीन तथा अल्पकालीक लागत बढेको छ। धेरै हाइड्रोपावर कम्पनीको नाफासमेत निकै घटेको छ भने केही नोक्सानीमा समेत छन्। जसका कारण केही दिनयता यस क्षेत्रका कम्पनीको सेयर मूल्य अन्यको तुलनामा धेरै प्रभावित देखिन थालेको हो।