हेटौंडा । करिब २३ वर्षदेखि बन्द रहेको हेटौंडाको कपडा उद्योग पुन: संचालनका लागि प्रदेशको उद्योग , वाणिज्य , भुमि तथा प्रशासन मन्त्रालयले अध्ययन थाल्ने भएको छ।
लामोसमय बिना विभागीय मन्त्री रहेर केहीदिन अघिमात्रै उद्योग मन्त्रालयको कार्यभार सम्हालेको रामकृष्ण चित्रकारले बन्द रहेको कपडा उद्योगको निरीक्षण गरेका छन्। उनले हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख क्षेत्र व्यवस्थापक भोजराज बिनाडीसँग भेटेर कपडा उद्योगको अवस्था र संचालन गर्न सक्ने सम्भावनका विषयमा चासो राखेका थिए।
शुक्रबार कपडा उद्योगको निरीक्षण पश्चात चित्रकारले उद्योगलाई पुनः संचालन नगरेसम्म मुलुकको आर्थिक स्थितीलाई सुधार गर्न नसक्ने बताएका थिए। उनले रोजगार सिर्जना गर्न र मुलुकको अहिलेको अर्थतन्त्रलाई सुधार गर्न यस्ता खालका उद्योगहरु पुन: संचालनमा ल्याउनु पर्ने धारणा राखेका थिए।
उनले प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०-८१ को बजेटमा उद्योगको विषयमा प्रष्ट बोलेको बताउँदै संवैधानिक रुपमा उद्योगहरु संचालन गर्ने एकल अधिकार प्रदेश सरकारलाई दिइए पनि कानुनी अड्चनले गर्दा कार्वान्वयन गर्न नसेकेको बताए।
चित्रकारले कपडा उद्योग संचालन गर्न तत्काल ऐनहरु संशोधन गर्ने तयारी भइरहेकोसमेत बताए। आफूले पदबहाली गरेकै दिन तीनवटा ऐनका लागि विद्येयक तयार पारेर संशोधन प्रस्ताव तयार गरेर प्रदेशसभामा पठाउने निर्णय गरेको उनले बताए।
‘एउटा हस्तकला ग्रामको कुरा नयाँ विद्येयकको रुपमा लाने निर्णय भइसकेको छ। दोस्रो कुरा व्यवसायिक ऐनलाई संसोधन गर्ने र औद्योगिक विकास ऐनलाई संसोधन गर्ने कुरा हामिले लगिसकेका छौं,’ मन्त्री चित्रकारले भने,‘ पहिलो निर्णय नै हामीले ऐनमा, कानुनमा सुधार गर्ने पहलकदमी गरेका छौं।’
चित्रकारले हेटौंडाको कपडा उद्योग निरिक्षण चर्चाको लागि मात्रै नगरेको बताए। यो उद्योग आफ्नो महत्वपुर्ण एजेण्डा रहेको उनको दाबी थियो। उनले औद्योगिक विकासलाई व्यवसायिक प्रवर्द्धन गर्नका लागि बागमती प्रदेश सरकार प्रतिवद्ध रहेकोसमेत बताए।
हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख क्षेत्र व्यवस्थापक भोजराज बिनाडीले उद्योगको भवनको स्तरोन्नति गर्नुपर्ने अवस्था रहेको बताए। पुरानो मेसिनले अहिलेको बजारमा प्रतिस्पर्धा गर्न नसक्ने हुँदा मेसिन मर्मत गर्नुपर्ने वा नयाँ थप गर्नुपर्ने बिनाडी बताउँछन्।
बिनाडीले उद्योगको भौतिक संरचना काम लाग्ने बताउँदै मिल मेशनरी मर्मत सम्भार गर्दा संचालमा आउन सक्ने सम्भावना रहेको बताएका थिए। उनका अनुसार उद्योगमा रहेका मेसिन मर्मत गर्न चीनबाट जनशक्ति ल्याउनुपर्ने हुन्छ।
चीन सरकारको लगानीमा स्थापना भएको हेटौंडा कपडा उद्योग करिब २३ वर्षदेखि बन्द छ । २०३२ सालमा निर्माण भएको उद्योग लगातार घाटामा गएपछि २०५७ फागुन १ बाट बन्द भएको हो। उद्योग संचालन गर्ने वा उत्पादन बन्द गरेर सम्पत्ति बाँडफाँट (लिक्विडेसन) को प्रक्रियामा जाने भन्नेबारे अन्योल हुँदा २२ वर्षसम्म संचालन भएको उद्योग पूर्ण रूपमा बन्द हुन पुगेको हो।
विभिन्न समयमा उद्योग संचालन गर्ने भन्दै सरकारले बजेट विनियोजन गरे पनि उद्योगमा रहेका पुराना मेसिन र कच्चा पदार्थको अभावमा रोकिँदै आएको छ। पछिल्लो पटक सुरक्षा निकायको पोसाक उत्पादन गर्नेगरी नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको लगानीमा उद्योग संचालन गर्ने तयारी भए पनि अघि बढ्न सकेको थिएन।
बागमती प्रदेशका उद्योग , वाणिज्य , भुमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले उद्योगलाई उपयुक्त ढाँचामा संचालन गर्ने बताए पनि सहज भने देखिँदैन।
उद्योगमा ४८६ वटा कपडा बुन्ने तान र १४ हजार ६८८ वटा स्पिन्डल छन् । हाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले उद्योगको रेखदेख गरिरहेको छ। उद्योगका धेरै मेसिन अहिले पनि चलाउन सकिने अवस्थामा रहेको विभिन्न अध्ययनले देखाएको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार उद्योगको वार्षिक क्षमता २ हजार ३ सय मेट्रिक टन धागो, २ करोड ५० लाख मिटर कपडा तथा दिनमै ३६ हजार मिटर कपडा उत्पादन गर्न सक्ने थियो। तत्कालीन समयमा स्वदेशमा उत्पादन भएको कपास प्रयोग गर्दै उद्योगले मुलुकलाई सुती कपडामा आत्मनिर्भरसमेत बनाएको थियो। उद्योग पूर्णरूपमा संचालन हुँदा करिब १२ सय कर्मचारीले रोजगारीसमेत पाएका थिए।
पटक–पटक चर्चा मात्रै
हरेक पटक सरकार परिवर्तन भएसँगै कपडा उद्योगको भविष्यबारे चर्चा भइरहन्छ। तर हालसम्म ठोस काम भएको छैन। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अघिल्लो सरकारले उद्योग संचालन गर्न ८ करोड रुपैयाँ छुट्याएको थियो । ६ करोड रुपैयाँ खर्चेर मेसिन मर्मत गरी उत्पादनको परीक्षण भए पनि आवश्यकताअनुसार कपास उपलब्ध नभएको भन्दै उद्योग संचालनमा आउन सकेन।
२०६६ कात्तिकमा उद्योगलाई दोस्रो पटक लिक्विडेसनमा लैजाने प्रक्रिया अगाडि बढाइएको थियो। २०६९ माघ १२ को मन्त्रिपरिषद् बैठकले उद्योगको सम्पत्ति सेयर लगानीका रूपमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा गाभ्ने निर्णय गरेको थियो। हेटौंडा औद्योगिक क्षेत्रभित्र २३६ रोपनी जग्गामा कपडा उद्योग र २५६ रोपनी जग्गामा आवास रहेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ।
उद्योगमा हाल सशस्त्र प्रहरी बलको गण नम्बर १४ को कार्यालय छ। त्यहाँ ३०० भन्दा बढी सुरक्षाकर्मी बसिरहेका छन्। उद्योगको आवासीय क्षेत्रको जग्गामा भने नयाँ औद्योगिक क्षेत्र स्थापना गरिएको छ। उक्त क्षेत्रमा नयाँ ५० उद्योग स्थापना गर्न सकिने गरी सबै जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन समितिले उद्योग स्थापनाका लागि उद्योगीहरूलाई दिएको छ। कुल ३ हजार ११९ रोपनी क्षेत्रफलमा औद्योगिक क्षेत्र फैलिएकोमा हाल ११० वटा उद्योग संचालनमा छन् ।