
काठमाडौं। सरकारले तीन साताको अवधिमै चौथो पटक आन्तरिक ऋण उठाउन लागेको छ। आन्तरिक ऋण उठाउन नेपाल राष्ट्र बैंकले आइतबार १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्दैछ।
राष्ट्र बैंकले ६ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो। बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र सर्वसाधारण नागरिकसमेतले विकास ऋणपत्र खरिद गर्न सक्नेछन्।
ऋणपत्रको ब्याजदर बोलकबोलका माध्यमबाट निर्धारण हुनेछ। आइतबार दिउँसो ३ बजेसम्म बोलकबोल हुने ऋणपत्र भदौ ११ गते निस्कासन हुनेछ।
सरकारले तीन साताको अवधिमै ३५ अर्ब ८५ करोड रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो। यो आर्थिक वर्ष २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने सरकारी लक्ष्य छ। जसअनुरुप साउन १८ र २८ मा १०/१० अर्ब रुपैयाँ तथा साउन ३२ मा ५ अर्ब ८४ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र जारी भइसकेको छ।