
चितवन । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले गत आर्थिक वर्षमा कम गुणस्तरको दाना उत्पादन गर्ने दुई कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ।
भरतपुर महानगरपालिका-४ स्थित पञ्चरत्न फिड्स प्रालि र खैरहनी नगरपालिका-९ स्थित कैलाशपति एग्रो प्रालिमाथि मुद्दा दायर गरिएको हो।
उत्पादन गरेको दाना सरकारले तोकेको मापदण्डअनुसार नपाइएकाले दुवै कम्पनीविरुद्ध मुद्दा चलाइएको कार्यालयका प्रमुख धननाथ अधिकारीले जानकारी दिए। ती कम्पनीलाई दाना पदार्थ ऐन, २०३३ अन्तर्गत कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता भएको हो।
दुवै कम्पनीलाई यस ऐनअन्तर्गत २० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा एक महिनादेखि एक वर्षसम्म कैद माग दाबी गरी मुद्दा दर्ता गरिएको उनले बताए।
कार्यालयले गत आर्थिक वर्षमा ऐनबमोजिम दानाको नमूना संकलन गरी २८ कम्पनीको परीक्षणका लागि पठाएको थियो। यस्तै गत आर्थिक वर्षमा अन्य दुई उत्पादक कम्पनीलाई कारबाहीको सिफारिस गरिएको थियो।
चिया र मह उत्पादन गर्ने कम्पनीबारे थप अनुसन्धान भइरहेको अधिकारीले बताए।
यस्तै कार्यालयले गत आर्थिक वर्षमा १०० विभिन्न खाद्यान्नको नमूना संकलन गरी परीक्षणका लागि पठाएको छ। पचासी पटक खाद्य बजार अनुगमन, २४ पटक दाना बजार अनुगमन, ६० वटा होटलको अनुगमन, ५९ खाद्य उद्योग र १४ दूध, तेल तथा पानी उद्योगको अनुगमन गरिएको उनले जानकारी दिए। चालु आर्थिक वर्ष समेत पालिकासँगको समन्वयमा बजार अनुगमनलाई तीव्र बनाइएको अधिकारीले बताए।