काठमाडौं। भरपर्दो व्यावसायिक योजनाभन्दा लहडका आधारमा अन्तर्राष्ट्रिय उडान गर्दा सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमलाई आफ्नो निर्णय नै आत्मघाती बन्न पुगेको छ।
उसले पछिल्लो पटक दुई वटा गन्तव्यमा ठूलो नोक्सानी सहनुपरेको छ। नोक्सानी थेग्न नसकेपछि निगम नयाँ गन्तव्यतिर लागेको छ।
पाँच वर्षअघि निगमले जापान सिभिल एभिएसन व्युरोबाट नियमित उडानको अनुमति पायो। जापान नेपालका लागि नयाँ गन्तव्य थिएन। तर जहाज अभावमा २०६४ मा उडान बन्द गरिएको थियो।
१२ वर्षपछि पुन: जापानमा उडान सुरु गरिनुलाई त्यतिखेर ठूलो उपलब्धिका रुपमा प्रचार गरियो। ओसाका उडान व्यावसायिक रुपमा प्रतिफलमुखी थिएन। उडान सुरु गर्ने बेलामा समेत आलोचना भएको थियो। तर ती तमाम विषयलाई नजरअन्दाज गर्दै त्यतिखेरका विभागीयमन्त्री योगेश भट्टराई र निगमको तत्कालीन नेतृत्वले वास्तै गरेनन्। ओसाका नेपालीहरु जाने ठाउँ नै थिएन। त्यही कारण वाइडबडी जहाजले यात्रु पाउन सकेन।
राम्रो बजार मानिने नारिताको साटो ओसाकामा उडान गरिएकामा त्यतिखेर आलोचना नभएको होइन। जब यात्रु नपाएर घाटा थेगिनसक्नु भयो, तब निगमले ओसाका उडान स्थगित गर्यो। २०७६ भदौ १२ मा ओसाका उडान सुरु गरेको निगम ५ महिनामै गन्तव्य सही नभएको निष्कर्षमा पुग्न वाध्य भयो। त्यसपछि उसले नारितामा उडान थाल्यो जुन अहिले पनि निरन्तर छ।
साउदी अरेबियाको रियाद पनि निगमका लागि ओसाकाजस्तै अर्को आत्मघाती गन्तव्य बन्न पुगेको छ। उसले त्यहाँ पनि ठूलो घाटा सहनुपरेको छ। घाटा थेग्न नसकेपछि निगमले १५ महिनामा रियाद उडान बन्द गरेको छ। २०७९ वैशाख ११ मा रियादमा उडान थालेको निगम गत साउन १८ देखि त्यो गन्तव्यमा जान छोडेको हो।
यो अवधिमा निगमले रियादमा सातामा २ वटाका दरले ११२ उडान गर्यो। तर १५८ सिट क्षमताको न्यारोबडी जहाज कहिल्यै भरिएन। एकतर्फीको त कुरै छाडौं, दुईतर्फी उडानमा पनि यात्रु संख्या डेढ सय कट्न सकेन।
निगमका कर्मचारीका अनुसार यात्रु ३० जना मात्र बोकेको अनुभव पनि छ। नेपालबाट जाँदा करिब १ सयको संख्यामा यात्रु भएपनि रियादबाट फर्किंदा धेरैजसो उडानमा ३५ देखि ५० यात्रुले मात्र यात्रा गरेको तथ्यांक छ। त्यही कारण निगमले रियाद उडानमा १५ महिनामा २६ करोड रुपैयाँ भन्दा बढी घाटा बेहोर्यो।
दुईतर्फी उडान गर्दा कुल ११ घण्टा लाग्ने यो गन्तव्यमा एकपटकमा ८० लाख रुपैयाँ हाराहारी खर्च हुन्थ्यो। एकतर्फी भाडादर करिब ३० हजार रुपैयाँ थियो।
‘यो अवधिमा निगमले रियाद उडानमा ८० करोड रुपैयाँभन्दा बढी खर्च गर्यो तर मुस्किलले ५४ करोड मात्र आम्दानी भयो,’ निगमका एक उच्च अधिकृतले भने, ‘व्यावसायिकरुपमा फाइदा हुन्छ कि हुँदैन भनी राम्रोसँग अध्ययन नगरी उडान सुरु गरेको जस लिने विभागीय मन्त्रीको प्रचारको रहर र मन्त्रीको अगाडि चुईंक्क गर्न नसक्ने नेतृत्वका कारण एकपछि अर्को गन्तव्यमा घाटा सहनुपरेको हो।’
रियादमा उडान सुरु गर्दा पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारीमा नेकपा एकीकृत समाजवादीका प्रेमबहादुर आले थिए। उनले आफ्नो पक्षमा प्रचार गराउन त्यतिखेर सबै किसिमका हत्कण्डा अपनाएका थिए।
निगमले त्यतिखेर रियाद, दमाम र जेद्दामा उडानको अनुमति पाएको थियो। तर पर्याप्तरुपमा अध्ययन नै नगरी हतारमा रियाद उडान गर्दा नोक्सानी बेहोर्नुपरेको निगमका अर्का उच्च अधिकारी बताउँछन्। उनी भन्छन्, ‘रियादको तुलनामा दमामलाई मुख्य बजार मानिन्छ। तर हामीले त्यहाँ हिमालय एयरलाइन्ससँग प्रतिस्पर्धा गर्न डराएर रियाद जाँदा नोक्सानी सहनुपर्यो।’ तर यसरी भइरहेको घाटामा कसैलाई जिम्मेवार बनाइएको छैन।
निगम व्यवस्थापनले भने रियादमा उडानको निर्णयको बचाउ गरेको छ। निगमका प्रवक्ता रमेश पौडेलले सुरुमा बजार देखेर नै रियादमा उडान गरेको तर अपेक्षा गरे अनुसार यात्रु नपाएको बताए। ‘वर्षौँदेखि प्रयास गरिएको साउदीमा उडानका लागि अनुमति पाउनु नै हाम्रो लागि विशेष थियो। त्यसैले हामीले हतारमा उडान थाल्यौं। रियाद सुरुमा भायवल देखिएको पनि थियो। उडान गर्दै जाँदा उताबाट स्लट व्यवस्थापनमै समस्या आयो,’ प्रवक्ता पौडेलले भने, ‘सोचेअनुसारको व्यापार हुन सकेन। यात्रुको सहजतालाई मध्यनजर गर्दै अब हामी दमाममा उडान गर्ने तयारीमा छौँ।’
साउदी अरेबियाले उडान अनुमति दिनेबित्तिकै व्यावसायिक योजनाविनै हतारमा रियादमा उडान गरेर घाटा बेहोरेको निगमले अहिले साउदी अरेबियाकै दमाममा उडान थाल्ने तयारी गरेको छ। उसले त्यसका लागि गत शनिबारदेखि टिकट बुकिङ खुलाएको छ। एकतर्फी भाडादर ३५,००० रुपैयाँ निर्धारण गरिएको छ। भदौ २० देखि सातामा २ वटा उडान गर्ने तालिका निगमले सार्वजनिक गरिसकेको छ।
काठमाडौं-दमाम-काठमाडौं दुईतर्फी उडान गर्न १० घण्टा १० मिनेट लाग्छ। रियादमा भन्दा उडान समय कम र रोजगारीमा गएका नेपालीहरु पनि दमाममा नै धेरै भएकाले गन्तव्य परिवर्तन गरेको पौडेलको भनाइ छ। निगमले यसअघि रियादमा उडान गर्दा पनि यसै भनेको थियो। उसले जेद्दास्थित एमएस फैसालिआ मोडर्न एभिएसनलाई नै दमाम उडानका लागि जीएसएको जिम्मेवारी दिएको छ। रियादमा उडान गर्दाको जीएसए पनि त्यही कम्पनी हो।
बजारको राम्रोसँग अध्ययन नगरी लहडमा उडान गर्दा निगम ऋणको भारले थिचिएको छ। उसले जहाज किन्न लिएको ऋण रकम बढेर ४२ अर्ब रुपैयाँ पुगिसकेको छ।
निगमका दुईवटा वाइडबडी र दुईवटा न्यारोबडी जहाजमध्ये दुईवटा न्यारोबडी मात्र फुल फ्लेजमा संचालनमा छन्। करिब तीन अर्ब रुपैयाँ खर्च गरेर ल्याइएका चारवटा चिनियाँ जहाज तीन वर्षयता प्रयोगविहीन छन्। ऋण लिएर किन्ने तर चलाउन नसक्ने निगम अहिले दुई वटा ट्वीनअटर र दुई वटा न्यारोबडी किन्ने दौडधुपमा छ।
जहाज किन्न लिएको ऋणको किस्ता बुझाउन नसकेपछि नागरिक लगानी कोष र सञ्चय कोषलाई ब्याजदर घटाउनका लागि ताकेता गरिरहेको निगमले अहिले फेरि ऋण लिएर जहाज थप्ने दौडधुप गर्नुलाई अर्थपूर्ण मानिएको छ।