
काठमाडौं। एसिया कप क्रिकेटका लागि हाल धमाधम टिकट बिक्री चलिरहेको छ। आयोजक पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले ‘बुकमी’ सँग मिलेर एसिया कपका लागि टिकट बिक्री खुला गरेको हो।
पीसीबीले बिहीबारदेखि खुला गरेको उक्त प्रतियोगिताको टिकट उत्साहजनक रूपमा बिक्री भइरहेको छ। क्रिकेटका सदाबहार ‘राइभल’ भारत र पाकिस्तानबीचको खेलका लागि भने टिकट सोल्डआउट भइसकेको छ।
यसपाला एसिया कप हाइब्रिड मोडलमा आयोजना हुँदैछ। जसअन्तर्गत केही खेल पाकिस्तानमा र बाँकी खेल श्रीलंकामा खेलाइने छ। प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ। जसमा समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् भने समूह ‘बी’ मा बंगलादेश, अफगानिस्तान र श्रीलंका छन्।
पाकिस्तान-नेपाल खेलको टिकट बिक्री कति ?
समूह चरणमा नेपालले पहिलो खेलमा पाकिस्तानसँग ३० अगस्ट भदौ १३ गते मुल्तान क्रिकेट स्टेडियममा प्रतिस्पर्धा गर्दैछ। ३० हजार दर्शक क्षमताको उक्त स्टेडियममा नेपालले घरेलु टोली पाकिस्तानसँग उद्घाटन खेल खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।
मुल्तान क्रिकेट स्टेडियमलाई ८ वटा सेक्सनमा बाँडिएको छ। जसमध्ये ४ वटा सेक्सनको टिकट सोल्डआउट भइसकेको छ भने बाँकी ४ वटामा टिकट उपलब्ध छ। नेपाल र पाकिस्तानबीचको खेलमा जेनरलमा ३ सय १३ रुपैयाँदेखि भीआइपीमा २२५० रुपैयाँसम्मका टिकट उपलब्ध छ।
आइतबार दिउँसोसम्मको बिक्री सूचीअनुसार जेनरलतर्फ हनिफ मोहम्मद, मुस्ताख अहमद र फर्स्ट क्लासतर्फ वसीम अक्रम र इलाही ब्रदर्सतर्फको टिकट सोल्डआउट भइसकेको छ। त्यस्तै प्रिमियमतर्फ जावेद मियादाद सेक्सनमा १०३१, जहिर अब्बासतर्फ १२६८ तथा भीआइपीतर्फ इमरान खानमा ४७२ र फजल मोहम्मदतर्फ ४८० सिट बाँकी छन्।
भारत-नेपाल खेलका लागि बिक्री उत्साहजनक
नेपालले आफ्नो दोस्रो खेल श्रीलंकामा खेल्दैछ। सेप्टेम्बर ४ (भदौ १८) मा श्रीलंकाको पल्लेकेले स्टेडियममा नेपालले भारतको सामना गर्नेछ। ३५ हजार क्षमताको यो स्टेडियममा ६ वटा सेक्सन छन्, जसमा ४ वटा सोल्डआउट भइसकेका छन्।
नेपाल र भारतबीचको खेलका लागि करिब १३ सय ३० रुपैयाँदेखि ६६ सय ५० रुपैयाँसम्मको टिकट छ। भीआईपीतर्फका चार सेक्सनमा टिकट सोल्डआउट भइसक्दा जेनरलतर्फका ग्रास इम्बेकमेन्ट वेस्ट सेक्सनमा ८८५ र ग्रास इम्बेकमेन्ट स्कोरबोर्डतर्फ ६९५ टिकट बाँकी रहेको बुकमीले जनाएको छ।
नेपाली फ्यान श्रीलंका लैजान प्याकेज नै प्याकेज
नेपालले पहिलो पटक एसिया कप खेलिरहँदा स्टेडियममै पुगेर आफ्नो टिमले खेलेको हेर्न चाहने दर्शकका लागि विकल्प सहज छन्। जान चाहने दर्शकलाई पुर्याउन ट्राभल एजेन्सीहरुले विभिन्न दरका प्याकेजहरु ल्याएका छन्।
प्रतियोगिताको एक महिना अघिबाटै छरपस्ट रुपमा ट्राभल कम्पनीका प्याकेजहरु आउन थालेका थिए। जसमा ४ दिनदेखि हप्ता दिनका लागि सामान्यतः १ लाख १० हजारदेखि डेढ लाख रुपैयाँसम्मका प्याकेज छन्।
पाकिस्तानमा हुने खेलका लागि भने ट्राभल कम्पनीसँग खासै प्याकेज छैन।