
फिफा महिला विश्वकपको आज फाइनल खेल हुँदैछ। पौने ४ बजे विश्वकपको फाइनल खेलमा इङ्ग्ल्याण्ड र स्पेन सिड्नी सहरमा रहेको स्टेडियम अस्ट्रेलियामा आमनेसामने हुँदैछन्।
पहिलो पटक विश्वकप फाइनलमा पुगेको इङ्ग्ल्याण्ड अघिल्लो संस्करणको युरोपियन च्याम्पियन हो। स्पेनले पनि पहिलो पटक विश्वकपको फाइनल खेल्दैछ। अर्थात यो संस्करणबाट नयाँ टोली विश्वकपको च्याम्पियन बन्नेछ। विश्वकपको नवौं संस्करण चलिरहँदा आजको खेलले पाँचौं च्याम्पियन सुनिश्चित गर्नेछ।
हालसम्म अमेरिका (पाँच पटक), जर्मनी (दुई पटक) तथा नर्वे र जापान च्याम्पियन बनिसकेका छन्।
फाइनल खेल हेर्न ७५ हजार बढी दर्शक सिड्नी पुग्ने अनुमान गरिएको छ।
यी दुई युरोपेली टोली विश्वकपमा पहिलो पटक आमनेसामने हुँदैछन्। विश्वकप बाहेक १३ खेलमा यी टोली आमनेसामने हुँदा इङ्ग्ल्याण्डले ७ पटक र स्पेनले २ तथा ४ बराबरी खेलेका छन्।
फाइनल यात्रा
स्पेन समूह ‘सी’ मा २ जित र १ हार बेहोर्दै नकआउट चरणमा पुगेको थियो। स्वीजरल्याण्डमाथि ५-१ गोलको फराकिलो जित निकाल्दै क्वा।टरफाइनलमा स्थान बनाएको स्पेनले सेमिफाइनलमा स्थान सुरक्षित गर्न नेदरल्याण्ड्सलाई २-१ गोलले हराएको थियो।
सेमिफाइनलमा स्पेनले स्वीडेनमाथि २-१ गोलअन्तरको जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो।
त्यस्तै इङ्ग्ल्याण्ड समूह ‘डी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको थियो। इङ्ल्याण्डले अन्तिम १६ मा नाइजेरिया र क्वाटर फाइनलमा कोलम्बियालाई हराएर सेमिफाइनल यात्रा तय गरेको थियो।
सेमिफाइनलमा इङ्ग्ल्याण्डले आयोजकसमेत रहेको घरेलु टोली अस्ट्रेलियालाई ३-१ गोलअन्तरले हराएर पहिलो पटक महिला विश्वकपको फाइनलमा स्थान बनाएको थियो।