सन् २००८ को अगस्टमा विश्वकप विजेता ब्राजिलियन खेलाडी रिभाल्डोले लिएको एउटा निर्णयले विश्व फुटबललाई अचम्मित तुल्यायो। उनले एसियाली राष्ट्र उज्बेकिस्तानको क्लब बुनयोदकरबाट खेल्ने निर्णय गरेका थिए।
बार्सिलोनालाई स्पेनिस ला लिगा च्याम्पियन बनाउनेदेखि उत्कृष्ट वर्ष खेलाडीले पाउने बालोन डी ओर जितेका उनले सन् २००२ मा एसियाली भूमिमा विश्वकपको ट्रफीसमेत उचालेका थिए। त्यसताका ब्राजिल र बार्सिलोनाको जितमा सधैं रिभाल्डोको महत्त्वपूर्ण भूमिका रहने गर्थ्यो। ग्लामरको हिसाबले रोनाल्डो र रोनाल्डिन्होभन्दा पछि रहे पनि खेलका आधारमा उनी महत्त्वपूर्ण मानिन्थे।
फुटबलमा नाम चलेका दमदार खेलाडीले क्लब र टिमहरु छाड्नु र जोडिनुका पछि मुख्य कारक पैसा छ। हस्ती नै भित्र्याउँदा पनि टिमहरुले गरेको लगानीका अनुपातमा प्रतियोगितामा अपेक्षित सफलता भने सजिलो छैन।
विश्वकपपछि उनको करियर स्थिर रहेन। एसी मिलानमा निराशाजनक सिजनपछि सन् २००३ मा ३१ वर्षको उमेरमा उनी ब्राजिल फर्किए। त्यसपछि ग्रीस पुगेका उनी सन् २००८ मा दुई वर्षका लागि ८० लाख पाउण्डमा सम्झौता गरी बुनयोदकर आए। त्यतिखेर उनी ३६ वर्षका थिए। उनको टोली १८ खेल खेलेर उज्बेक लिगको च्याम्पियन बन्यो। दुई सिजन खेलेका उनले एक सिजनको मात्र पारिश्रमिक पाए।
युरोपमा प्रभुत्व जमाएर एसियामा खेल्ने हेभिवेट खेलाडी रिभाल्डो मात्र होइनन्, दुई दशकमा त्यो सूची लामो बनेको छ। स्पेनका जाभी हर्नान्डेज सन् २०१५ मा कतारको अल सद आए, आन्द्रेस इनिस्टा जापानको भिसेल कोभ पुगे। हर्नान्डेज अहिले बार्सिलोनाका प्रशिक्षक छन्।
सन् २००२ मा विश्वकप आयोजना दक्षिण कोरिया र जापानले संयुक्तरुपमा गरेका थिए। दक्षिण कोरियाले सेमिफाइनल खेल्यो। त्यसयता कुनै पनि एसियाली टोलीले विश्वकपमा सेमिफाइनल यात्रा तय गर्न सकेका छैनन्। दुई दशकपछि सन् २०२२ मा अर्को एसियाली मुलुक कतारले विश्वकप आयोजना गर्यो। अर्को एसियाली राष्ट्र साउदी अरेबिया २०३० को विश्वकप आयोजना गर्न तम्सिएको छ।
विश्वकप आयोजना गर्ने माहोल बनाउन साउदी अरेबिया युरोपका उत्कृष्ट खेलाडी तान्ने होडमा छ। युरोपका उत्कृष्ट खेलाडी साउदी आउने क्रम अहिले ‘अभूतपूर्व’ रुपमा बढेको छ। यसका लागि जुनसुकै मूल्य चुकाउन साउदी हच्किएको छैन।
चीनको लगानी बालुवामा पानी, साउदीको?
सन् २०१० को दशकको मध्य र अन्त्यतिर युरोपबाट चीन जाने लहर चल्यो। ओस्कार, हल्क र कार्लोस टेभेज फुटबल खेल्न चीन पुगे।
अहिले एकपछि अर्को खेलाडी साउदी गइरहेका छन्। क्रिस्टियानो रोनाल्डोलाई भित्र्याएसँगै सुरु भएको स्टार खेलाडी तान्ने क्रम ब्राजिलियन स्टार नेइमारसम्म पुगेको छ। यसबीच एनगोलो कान्टे, साडियो माने, करिम बेन्जेमा जस्ता विश्वस्तरीय खेलाडीलाई साउदीका क्लबले अनुबन्ध गरिसकेका छन्।
फुटबलमा चीन र साउदीको लगानीमा अन्तर भने ठूलो छ। चीनमा ठूलो मात्रामा प्राइभेट रियल स्टेट कम्पनीले लगानी गरेका थिए। सन् २०११ मा तत्कालीन उपराष्ट्रपति (हालका राष्ट्रपति) सी चिनफिङले चीन फुटबलको महाशक्ति बन्ने परिकल्पना गरेका थिए। विश्वकपमा छनोट हुने, विश्वकप आयोजना गर्ने र विश्वकप जित्ने उनको योजना थियो।
चिनफिङको पहिलो कार्यकालमा सरकारले सन् २०१६ मा चिनियाँ लिगमा खेलाडी ट्रान्सफरमा मात्र ४५ करोड १० लाख अमेरिकी डलर खर्च गर्यो। त्यसबेला युरोपमा खेलिरहेका खेलाडीको आकर्षण चीन बन्यो। तर चीनले खेलाडीलाई लामो समय टिकाउन सकेन।
फिफा वरीयतामा ७०औँ स्थानभन्दा पछिको चिनियाँ टोलीका लागि त्यो निकै महत्त्वाकांक्षी योजना थियो। तैपनि चाइनिज सुपर लिगमा खेलाडी भित्र्याउन पैसाको खोलो बगाउने काम भयो।
चिनफिङले पहिलो कार्यकालका लागि राष्ट्रपतिको पद सम्हालिरहँदा सरकारले सन् २०१६ मा चिनियाँ लिगमा खेलाडी ट्रान्सफरमा मात्र ४५ करोड १० लाख अमेरिकी डलर खर्च गर्यो। त्यसबेला युरोपमा खेलिरहेका खेलाडीको आकर्षण चीन बन्यो। तर चीनले खेलाडीलाई लामो समय टिकाउन सकेन।
आर्थिक संकटबाट गुज्रिन थालेको चिनियाँ फुटबलमा कोभिडले असर गर्यो। चीनले भएका खेलाडी टिकाउन संघर्ष गरिरहँदा युरोपमा खेलिरहेका खेलाडीको आकर्षण फेरियो। फुटबलमा लिएको लक्ष्य अधुरो मात्र रहेन, तेस्रो कार्यकाल सम्हाल्दा चिनफिङले आँखै अगाडि फुटबल ‘कोल्याप्स’ भएको देख्नुपर्यो।
अहिले साउदीले आक्रामक भएर फुटबलमा लगानी गरिरहँदा उसको लगानी पनि चीनकै जस्तो ‘पानीको फोका’ त हुँदैन भन्ने प्रश्न कतिपयले गरिरहेका छन्।
युरोपेली फुटबल महासंघ(यूईएफए)का पूर्वअध्यक्ष अलेक्जेन्डर केफेरिनले साउदी पनि चीनकै बाटोमा हिँड्न लागेको टिप्पणी गरेका छन्। ‘मलाई लाग्छ साउदी अरेबियाको फुटबलका लागि यो गल्ती हो। उनीहरूले एकेडेमीमा लगानी गर्नुपर्छ, प्रशिक्षक भित्र्याएर आफ्नै खेलाडी विकास गर्नुपर्छ। करियर लगभग समाप्त भइसकेका खेलाडी किनेर फुटबलको विकास हुँदैन,’ उनले भने,’चीनमा यस्तै गल्ती भएको थियो।’
चीनले रोनाल्डो र नेइमारको ‘कद’का खेलाडी भने अनुबन्ध गर्न सकेको थिएन। बरु फुटबल स्टार भित्र्याउने क्रममा भ्रष्टाचार भएको बाहिरियो। लिग पनि ‘ब्याङ्करप्ट’ हुन पुग्यो। कतिसम्म खर्च गर्न पाउने भन्ने स्पष्ट मार्ग निर्देश नहुँदा क्लबहरुले अन्धाधुन्ध लगानी गरिरहे। छोटो समयमै ठूलो रकम देशबाट बाहिरिएपछि चीन सरकार झस्किएको थियो।
चीनको तुलनामा साउदीको लगानी त्यस्तो कमजोर देखिंदैन। उसँग तेल बेचेको पैशा प्रशस्त छ। देशको अर्थतन्त्रलाई तेलमा निर्भरताबाट बाहिर लान उसले २०१६ अप्रिलमै लगानी विविधिकरण गर्ने र फुटबलमा लगानी बढाउने योजना बनाएको हो।
एक वर्षअघि छिमेकी कतार धुमधामसँग विश्वकप सम्पन्न गरेर विश्वको ध्यान खिच्न सफल भएका कारण पनि साउदी प्रेरित गरेको देखिन्छ। उसको मुख्य ध्येय २०३० को विश्वकप आयोजना हो। त्यसैका लागि उसले फुटबलमा लगानी बढाएको हो।
साउदीले युरोपका खेलाडी किन्न आँखा चिम्लेर लगानी गर्नुले एसियाको फुटबल विकास हुन्छ भन्नेहरु पनि छन्। फिफाका पूर्वनिर्देशक जेम्स किचनिङ यो लगानी एसियाली फुटबलका लागि ठूलो महत्त्वको हुने बताउँछन्।
साउदीले युरोपका खेलाडी किन्न आँखा चिम्लेर लगानी गर्नुले एसियाको फुटबल विकास हुन्छ भन्नेहरु पनि छन्। फिफाका पूर्वनिर्देशक जेम्स किचनिङ यो लगानी एसियाली फुटबलका लागि ठूलो महत्त्वको हुने बताउँछन्। उनी युरोपेली फुटबलको छायामा परेको एसियाली फुटबलले गति लिने सम्भावना देख्छन्।
‘यसले साउदी फुटबल र एएफसीका प्रतियोगितामा दर्शक बढाउनेछ। एएफसी क्लब प्रतियोगितामा प्रतिस्पर्धात्मकता बढाउनेछ। अन्य क्लबले साउदी क्लबसँग प्रतिस्पर्धा गर्न प्रयास गर्छन्,’ किचनिङ भन्छन्, ‘अन्य राष्ट्रले प्रतिस्पर्धी कायम रहिरहन आफ्नो प्राविधिक विकास र क्लबको व्यावसायिकतामा ठूलो लगानी गर्नुपर्नेछ, जसले एसियामा फुटबलको स्तर बढाउँछ।’
साउदीले फुटबलमा खुलेर लगानी सन् २०२१ मा इङ्ग्लिस प्रिमियर लिग क्लब न्यु क्यासल युनाइटेड किनेर गर्यो। साउदीका युवराज मोहम्मद बिन सलमानले देशमा खेलकुद र विशेषगरि फुटबलका प्रमुख क्लबलाई निजीकरण गर्नका लागि यसै साता नयाँ दृष्टिकोण घोषणा गरे।
उनको निर्णयसँगै ठूला चार क्लब सार्वजनिक लगानी कोषले लिएको छ। साउदी प्रो लिगको वार्षिक राजस्व १२ करोड अमेरिकी डलरबाट बढाएर ४८ करोड डलर बनाउने योजना अघि सारिएको छ। सलमान साउदी प्रो लिगलाई विश्वका १० उत्कृष्ट लिगभित्र पार्ने उद्देश्यका साथ अघि बढेका छन्। यसले एसियाली फुटबलमा तरंग ल्याइदिएको छ।
त्यसो त मानव अधिकारको सम्बन्धमा उठाइएका आवाजलाई छायाँमा पार्न साउदीले फर्मुला वान, बक्सिङलगायत खेलमा लगानी बढाइरहेको आरोप पनि छ।
तीन गुणा बढ्यो पुरस्कार रकम
एसियामा विश्वस्तरीय खेलाडीको आगमन हुन थालेसँगै एसियाली फुटबल महासंघ (एएफसी) ले पनि प्रतियोगिताको पुनर्संरचना गर्दै लगानी ह्वात्तै बढाएको छ।
एएफसीको कार्यकारी समितिको गत सोमबारको बैठकले सन् २०२४/२५ को सिजनलाई लिएर केही महत्वपूर्ण निर्णय गर्यो। जसमध्ये महत्वपूर्ण थियो एसियाली लिगको वर्गीकरण। बैठकले लिगलाई एसियन च्याम्पियन्स लिग (एलिट), एसियन च्याम्पियन्स लिग-२ र एएफसी च्यालेन्ज लिगका रुपमा वर्गीकरण गर्यो।
सबै लिगमा गरी ७६ क्लबले सहभागिता जनाउने छन्। च्याम्पियन्स लिग एलिटमा २४, च्याम्पियन्स लिग-२ मा ३२ र च्यालेन्ज लिगमा २० क्लबले प्रतिस्पर्धा गर्नेछन्।
यी प्रतियोगिताका लागि एएफसीले एसियाली फुटबल इतिहासकै ठूलो पुरस्कार रकम घोषणा गरेको छ। एसिया च्याम्पियन क्लबले १ करोड २० लाख अमेरिकी अमेरिकी डलर पाउनेछ। यसअघि यो रकम ४० लाख डलर थियो।
यसपटक नेपालबाट एएफसी कपको प्रारम्भिक चरणमा लिग उपविजेता मछिन्द्र क्लबले प्रतिस्पर्धा गरेको थियो। पहिलो खेलमा भुटानी च्याम्पियन पारो एफसीलाई हराएको मछिन्द्रले दोस्रो खेलमा भारतीय जायन्ट मोहन बगानसँग हार बेहोरेको थियो।