सोल्टी होटलको नाफा झन्डै दोब्बर, कारोबार ६४.७१% ले बढ्यो, ब्याज भुक्तानी रकम आधा कम

बिजमाण्डू
२०८० साउन ३२ गते ०८:१९ | Aug 17, 2023
सोल्टी होटलको नाफा झन्डै दोब्बर, कारोबार ६४.७१% ले बढ्यो, ब्याज भुक्तानी रकम आधा कम


काठमाडौं। चालु आर्थिक वर्ष अन्तर्राष्ट्रिय पर्यटक आगमनमा सुधार आउँदा होटलहरुको नाफा बढेको छ। सोल्टी होटल लिमिटेडले बिहीबार सार्वजनिक गरेको गत आवको वित्तीय विवरणले यसको पुष्टि गरेको हो।

Tata
GBIME

होटल सोल्टीले गत आवको असार मसान्तसम्म ५४ करोड ५१ लाख खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको तुलनामा झन्डै दोब्बर बढी हो। पोहोर असारमा कम्पनीले २९ करोड ७२ लाख खुद नाफा आर्जन गरेको थियो।

होटलको कारोबार ६४.७१ प्रतिशत बढेको छ। असारसम्म होटलले २ अर्ब २४ करोडको व्यवसाय गर्‍यो। जुन पोहोर एक अर्ब ३६ करोडमा सीमित थियो। व्यवसाय बढेकाले कर्मचारी सेवा सुवधा र सञ्‍चालन पट्टी पोहोरभन्दा निकै खर्च भएको देखिन्छ।

कर्जा पनि घटेको छ। दीर्घकालीन कर्जा १३.५१ प्रतिशतले कटौती गरेको छ। त्यही पोहोर असारसम्म ५ करोड ३८ लाख रहेको अल्पकालीन कर्जा १३ लाखमा सीमित छ।

ब्याज भुक्तानी रकम आधा कम छ। पोहोर एक करोड ८५ लाख भुक्तानी गरेको थियो। तर असारमा ८६ लाख ६० हजार छ। यद्यपि, होटलले कुल दायित्व अझै ६९ करोड ७५ लाख रुपैयाँ बाँकी देखाएको छ। जुन तिर्न बाँकी कर्मचारी सेवा सुविधा कर र अन्य व्यावसायिक दायित्व हुन्।

यस अवधिसम्म कम्पनीको चुक्ता पुँजी ८८ करोड ४७ लाख पुगेको छ। कम्पनीको सञ्‍चित नाफा तथा जगेडा कोषमा १ अर्ब २१ करोड रुपैयाँ छ।

नाफा बढ्दा कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। हाल कम्पनीको प्रतिसेयर आम्दानी ६.१६ रुपैयाँ छ। गत वर्ष सोही अवधिमा प्रतिसेयर आम्दानी ३.५३ रुपैयाँ थियो। प्रतिसेयर नेटवर्थ बढेर २३.६८ कायम छ।