चीन–नेपाल सीमापार रेलमार्ग चीनको प्राथमिकतामा, सहकार्यका लागि विदेशमन्त्रीका ४ प्रस्ताव

बिजमाण्डू
२०८० साउन ३१ गते १८:५२ | Aug 16, 2023
चीन–नेपाल सीमापार रेलमार्ग चीनको प्राथमिकतामा, सहकार्यका लागि विदेशमन्त्रीका ४ प्रस्ताव
चिनियाँ विदेशमन्त्री वाङ यी

चीनलाई दक्षिण एसियासँग जोड्नका लागि नेपाल-चीन रेलवे परियोजना निकै महत्त्वपूर्ण भएको चिनियाँ विदेशमन्त्री वाङ यीले बताएका छन्। चीनको युनान प्रान्तको खुन्मिङमा आयोजित १६ औं चाइना साउथ एसिया एक्सपो उद्‍घाटन कार्यक्रममा उनले चीन-नेपाल सीमापार रेलमार्ग यस क्षेत्रको कनेक्टिभिटीको महत्त्वपूर्ण मेरुदण्ड भएको बताएका हुन्।

Tata
GBIME
NLIC

उनले चीन दक्षिण एसियाली मुलुकसँग विकासको लाभ बाँड्न तयार रहेको बताएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ। ‘यस क्षेत्रको दीर्घकालीन स्थिरता र समृद्धिमा योगदान गर्न हामी दक्षिण एशियाली देशसँग मिलेर काम गर्न इच्छुक छौँ,’ उनले भने।

चीन र दक्षिण एसिया तथा विश्वका अन्य देशबीच सहयोग आदानप्रदान गर्नका लागि चीन–दक्षिण एसिया एक्स्पो महत्वपूर्ण मञ्च बनेको वाङले बताए। ‘हामी दक्षिण एशियाली देशलाई यस भव्य कार्यक्रममार्फत थप सहयोगका अवसर खोजी गर्न, विकास र पुनरुत्थानलाई बढावा दिन र राम्रो भविष्य सिर्जना गर्नका लागि सँगै काम गर्न स्वागत गर्छौं,’ उनले भने।

विदेशमन्त्री वाङले चीन र दक्षिण एसियाली देशबीच सहकार्यका चारवटा पक्ष उल्लेख गरे।

पहिलो, रणनीतिक पारस्परिक विश्वासलाई प्रगाढ बनाउने, अन्तर्राष्ट्रिय र क्षेत्रीय मामिलामा एकअर्कालाई सहयोग गर्ने तथा खुला क्षेत्रीयतावादको वकालत गर्न, नजिकको क्षेत्रीय सहयोग निर्माण गर्न, विकासशील देशहरूको हितको संयुक्तरूपमा रक्षा, अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायको रक्षा गर्न मिलेर काम गर्ने।

दोस्रो, कनेक्टिभिटीलाई प्रगाढ बनाउने, चीन–पाकिस्तान आर्थिक करिडोर र चीन–नेपाल सीमापार रेलमार्गजस्ता कोरिडोरको निर्माण र क्षेत्रीय आर्थिक चक्रको सहज उन्नयनलाई बढावा दिने।

तेस्रो, आर्थिक र व्यापारिक सहयोगलाई प्रगाढ बनाउने, संयुक्त निर्माण र साझेदारीको माध्यमबाट लगानी सहयोगलाई बढावा दिने र विश्वव्यापी उत्पादन र आपूर्ति शृङ्खला बन्द गर्ने।

चौथो, जनता–जनताबीचको आदानप्रदानलाई अझ प्रगाढ बनाउने। सम्बन्ध र परम्परागत मित्रतालाई बलियो बनाउने, क्षेत्रीय सहयोगका लागि अझ बढी एकताबद्ध र विविध सामाजिक जग निर्माण गर्ने।

वाणिज्य मन्त्रालय र युन्नान प्रान्तीय सरकारको सह–प्रायोजनमा बुधबार सुरु भएको एक्स्पो ५ दिनसम्म चल्नेछ। एक्स्पोमा ६० भन्दा बढी देशका २,००० भन्दा बढी प्रतिनिधि सहभागी रहेको चिनियाँ सञ्चार माध्यमले जनाएका छन्। एक्स्पो उद्‍घाटनमा नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादव, श्रीलंकाका प्रधानमन्त्री, भियतनामका उपप्रधानमन्त्री लगायतले सम्बोधन गरेका थिए।