विमानस्थलको सुरक्षालाई लिएर सिंहदरबारमा बैठक, प्रधानमन्त्रीले भने- व्यापक हेरफेर आवश्यक छ



बिजमाण्डू
२०८० साउन ३१ गते १७:४० | Aug 16, 2023
विमानस्थलको सुरक्षालाई लिएर सिंहदरबारमा बैठक, प्रधानमन्त्रीले भने- व्यापक हेरफेर आवश्यक छ

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन र सुरक्षा व्यवस्थामा व्यापक हेरफेरको आवश्यकता औंल्याएका छन्। विमानस्थलको भन्सार जाँच पास भएर अवैधरुपमा सुन तस्करी भएको प्रकरणपछि सरकारमाथि नै प्रश्न उठिरहेका बेला प्रधानमन्त्री दाहालले राष्ट्रिय सुरक्षाको पहिलो ढोकाको रूपमा रहेको त्रिभुवन विमानस्थलको समग्र व्यवस्थापनमा हेरफेर गर्नुपर्ने बताएका हुन्।

Tata
GBIME
Zonsen

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार आयोजित विमानस्थलको सुरक्षासम्बन्धी बैठकमा विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा प्रबन्धबारे गम्भीर समीक्षा र अध्ययन गर्नुपर्ने अवस्था आएको उल्लेख गर्दै छिट्टै विज्ञ र सरोकारवाला निकायका प्रतिनिधि संलग्न कार्यदल बनाउने बताए।

‘कार्यदललाई छोटो समय दिइन्छ र त्यसको रिपोर्टअनुसार विमानस्थलको सुरक्षा प्रबन्धमा हेरफेर ल्याउनुपर्छ। हामी छिट्टै एउटा निर्णयमा पुग्छौँ’, उनले भने। प्रधानमन्त्री दाहालले कमीकमजोरी सच्याउनुपर्नेमा जोड दिंदै संरचना, कार्यविभाजन र कार्यशैलीमा पनि सुधार आवश्यक रहेको बताए।

बैठकमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले अपराधमा नयाँनयाँ प्रविधि प्रयोग भएको उल्लेख गर्दै नयाँ सुरक्षा व्यवस्था लागू गर्नुपर्नेमा जोड दिए। अर्थमन्त्री डा प्रकाशशरण महतले सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन अन्तरनिकाय समन्वय थप चुस्त बनाउनुपर्ने बताए।

बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रधानसेनापति, गृहसचिव, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, भन्सार, अध्यागमन, सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान विभागका महानिर्देशक लगायत सहभागी थिए।