जरिवाना छुटले सवारीको वार्षिक नवीकरण गराउने बढे, वीरगंजमा १ अर्ब १९ करोड राजस्व संकलन

राधेश्याम पटेल
२०८० साउन ३१ गते १४:३० | Aug 16, 2023
जरिवाना छुटले सवारीको वार्षिक नवीकरण गराउने बढे, वीरगंजमा १ अर्ब १९ करोड राजस्व संकलन


वीरगंज। यातायात व्यवस्था कार्यालय सवारी शाखा वीरगंजमा अचेल कर बुझाउनेको भीडभाड बढेको छ। दैनिक चार सयदेखि ६ सय सेवाग्राही आइरहेको कार्यालयले जनाएको छ।

Tata
GBIME

चालु आर्थिक वर्ष २०८०/८१ मा सवारी करमा लाग्ने जरिवाना छुट भएपछि वर्षौदेखि नबुझाएका गाडीहरुको कर बुझाउन आउने बढेका हुन्। यातायात सवारी शाखा कार्यालय मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको निकाय हो।
मधेश प्रदेश सरकारले चालु आव जरिवाना छुट गर्दै शुल्क तिरे मात्रै पनि नवीकरण गर्न सकिने बजेटमै व्यवस्था गरेपछि सवारी कर बुझाउने बढेका छन्।

सरकारले वार्षिक जरिवाना छुट गरे पनि नवीकरण दस्तुर गत आवभन्दा केही बढाएको छ। गाडीको क्षमताअनुसार नवीकरण दस्तुर निर्धारण गरिएको छ। कर बुझाउने सेवाग्राहीको संख्यामा वृद्धि भएपछि चालु आवमा राजस्व संकलन वृद्धि हुने अनुमान छ।  

गत आव २०७९/८० मा १ अर्ब १९ करोड राजस्व संकलनभएको कार्यालय प्रमुख उमेश रेग्मीले बताए। अघिल्लो आव २०७८/७९ भन्दा गत आव २०७९/८० मा राजस्व संकलन घटेको भए पनि चालु आवमा राजस्व संकलन बढने अनुमान भइरहेको उनको भनाइ छ। अघिल्लो आव २०७८/७९ मा कार्यालयले १ अर्ब ४३ करोड ३३ लाख ६८ हजार राजस्व संकलन गरेको थियो ।

२९४५९ सवारी दर्ता
यातायात व्यवस्था कार्यालय सवारी शाखा वीरगंजमा गत आव २०७९/८० मा २९ हजार ४ सय ५९ सवारीसाधन दर्ता भएका छन्।

गत आव बस ५९५, मिनीबस-मिनी ट्रक ५७, क्रेन, डोजर, एक्स्काभेटर, ट्रक, टिपरगरी २४२ वटा, कार, जिप, भ्यान २७३, पिकअप ६९७, माइक्रोबस ३९, टेम्पो, इरिक्सा १९५१, मोटरसाइकल २७४८५, ट्रयाक्टर, पावरटिलर ७१४, एम्बुलेन्स १४ दर्ता भएको कार्यालयले जनाएको छ।

मर्ज भएन सवारी र लाइसेन्स
संघीय भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयले चालु आवदेखि लाइसेन्स र सवारी शाखा मर्ज गरी एउटै कार्यालय सञ्चालन गर्न निर्देशन दिए पनि वीरगंजका यी दुई कार्यालयले हालसम्म छुट्टाछुट्टै काम गरिरहेका छन्।

सवारी शाखा प्रमुख उमेश रेग्मीका अनुसार सरकारको नीति भए पनि हालसम्म कसरी मर्ज भएर सञ्चालन गर्ने भन्ने परिपत्र नआएकाले अन्योल रहेको बताए।