
काठमाडौं। एमालेको विरोधका बीच सभामुख देवराज घिमिरेले असार २० मा माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामु लामा तामाङलाई बोल्ने समय दिए। घिमिरेले एमालेलाई सदन चलाउन सहयोग गर्न पटक-पटक आग्रह गरे पनि नाराबाजी रोकिएन।
सभामुख बोल्दा लामा पनि बोलिरहिन्। समय पाएकै मौकामा जनताको समस्या सुनाउने हतारोमा लामा बोलिरहँदा सभामुख घिमिरे पनि बीचमा बोलिरहे।
के लागेर हो कुन्नी, सांसद लामाले आफ्नो भनाइ नसकाउँदै सभामुख घिमिरेले बैठक स्थगित गरेर उठेर हिँडे। सांसद बोलिरहेकै बेला सभामुखले संसद् बैठक स्थगित गर्नु रोचक घटना त थियो नै, सभामुखको हडबडिएको उदाहरण पनि।

प्रधानमन्त्रीलाई रोकेर एमालेलाई समय
घिमिरेको अपरिपक्वता सांसद बोल्दाबोल्दै बैठक स्थगित गरिदिनेमा मात्रै सीमित छैन। नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियामा त्रुटि भएको भन्दै एमालेले विरोध गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ २२ मा रोष्ट्रमबाट जवाफ दिए।
प्रधानमन्त्री प्रचण्ड बोलिरहेकै बेला एमालेका सांसद सूर्य थापाले नियमापत्ति गरे। प्रधानमन्त्रीले आफूले सांसदहरुको धेरै कुरा सुनेकोले आफ्नो कुरा सुनेर धैर्य देखाउन आग्रह गरेका थिए।
बीचैमा प्रधानमन्त्रीलाई रोकेर घिमिरेले थापालाई समय दिए। प्रचण्डले आफूले विपक्षीको कुरा सुनेकाले आफूले बोल्न पाउनुपर्ने दाबी गर्दा ‘बोल्ने वातावरण बनाएर’ मात्रै अघि बढ्न भने सभामुखले।
थापापछि एमालेकै रघुजी पन्तलाई पनि घिमिरेले समय दिए। जवाफ दिइरहेका प्रधानमन्त्रीलाई रोकेर सांसदलाई समय दिएपछि सत्तापक्षका सांसदले पनि आक्रोश व्यक्त गरे।
प्रधानमन्त्रीले जवाफ दिइरहेका बेला रोकेर पक्ष-विपक्षमा बोल्न लगाउने घटना संसदीय अभ्यास विपरीत त थियो नै, सभामुख निष्पक्ष नभएको भन्ने देखाउने घटना पनि।

प्रचण्ड सभामुखको त्यस दिनको भूमिकाबाट थप सशंकित बने। उनले माओवादी शीर्ष नेताहरुको बैठकमा घिमिरेको चर्को आलोचना मात्रै गरेनन्। संसद्मा आफूलाई घेराबन्दी हुदा पनि आफ्नो दल टुलुटुलु हेरेर बसेको गुनासो गरेको माओवादी केन्द्रका एक पदाधिकारी बताउँछन्।
‘प्रमुख प्रतिपक्षले जे बोल्यो त्यसैलाई नै हाम्रो भाष्य हो भन्ने कुरा प्रमाणित गर्न जालसाजीपूर्ण कुरा भयो हामीलाई त्यसमा आपत्ति छ।’

सभामुख घिमिरेमाथि अरु प्रतिपक्षीलाई पनि एमालेकै कित्तामा उभ्याउन भूमिका निभाएको आरोप पनि एमाले बाहेकका दलले लगाउन थालेका छन्। असार २५ को प्रतिनिधि सभाको बैठकमा रास्वपाका सभापति रवि लामिछानेले घिमिरेले जालसाजीपूर्ण तरिकाले एमालेकै मुद्दा रास्वपाले बोकेको देखाउन खोजेको आरोप लगाए।
‘रास्वपा अरु कुनै दलको मुद्दा होइन आफ्ना मुद्दामा उभिएको छ। हामीले हाम्रा कुरा स्पष्ट राख्न पाएनौं। प्रमुख प्रतिपक्षले जे बोल्यो त्यसैलाई नै हाम्रो भाष्य हो भन्ने कुरा प्रमाणित गर्न जालसाजीपूर्ण कुरा भयो हामीलाई त्यसमा आपत्ति छ,’ लामिछानेले प्रधानमन्त्रीको राजीनामा रास्वपाले नमागेकोमा प्रष्ट पार्दै असार २५ को प्रतिनिधि सभाको बैठकमा भनेका थिए।
एमालेको तत्कालै सुनुवाइ, अरुको बेवास्ता
घिमिरेले सांसद बोलिरहेकै बेला पनि बीच-बीचमा बोल्ने गरेका छन्। सांसदलाई विषयमा केन्द्रित हुन र आवश्यक रुलिङ गर्न सभामुखले पाउने भए पनि आफू बोलिरहेका बेला सभामुखले बोल्न नदिएको आरोप सांसद लगाइरहेका छन्।
साउन २६ को प्रतिनिधि सभाको बैठकमा एमालेकी सांसद ज्वालाकुमारी साह बोलिरहेका बेला सत्ता पक्षकाले विरोध जनाएपछि सभामुख घिमिरे आक्रोशित भए। त्यसदिन एकातिर साह बोलिरहिन भने अर्कोतिर सभामुखले पनि बोलिरहे।

साउन २९ मा सभामुख घिमिरेले संसद्मा खेलेको भूमिकामाथि पनि प्रश्न उठेको छ। बैठक सुरु हुनासाथ कांग्रेसका सांसद सुनिल शर्मालाई घिमिरेले बोल्ने समय दिए।
शर्माले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ‘आतंककारी’ आरोप लगाएपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डले नियमापत्ति जनाएर शब्द रेकर्डबाट हटाउन माग गरे। तर घिमिरेले नियमापत्तिको सुनुवाइ गरेनन्। पाण्डेले शर्माको प्रतिवाद गरेको निष्कर्ष उनले सुनाए।
शर्माले बोलिसकेपछि एमालेका सांसद मानवीर राईलाई समय दिएका घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले बोल्नका लागि पटक-पटक सभामुखको ध्यानकर्षण गराए पनि वास्तै गरेनन्। रास्वपाका सभापति रवि लामिछानेले संसद्बाट बाहिरिने क्रममा सभामुखमाथि नै प्रश्न उठाए। घिमिरेको क्रियाकलाप अनुचित भएको लामिछानेको आरोप थियो।
‘सभामुखको क्रियाकलाप, यो सचिवालयको क्रियाकलाप अन्त्यन्तै अनुचित भयो। सदन हाइज्याक भएकै हो,’ लामिछानेको घिमिरेप्रतिको आक्रोश थियो, ‘प्रतिपक्षीका सांसदले बोल्दा बोल्दै सभामुख अर्को प्रक्रियामा प्रवेश गर्नुभयो। एक्कासि सत्ता पक्षको सांसदले बोल्नुभयो त्यसपछि प्रतिपक्षको सांसद बोल्नुभयो।’

घिमिरेमाथिको आक्रोश
एमाले बाहेकका विपक्षी दलले मात्रै होइन सत्ता गठबन्धनका दलले पनि सभामुख घिमिरेलाई आलोचनाका लागि निसाना बनाउन थालेका छन्। माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले संसदीय अभ्यासविपरीत घिमिरे चलिरहेको आरोप लगाए।
‘जसरी हाम्रो संसदीय अभ्यास चलिरहेको थियो त्यस अनुसार पनि सभामुख नचलिकन प्रमुख सचेतकले दिएको नामभन्दा फरक व्यक्तिलाई समय दिनुहुन्छ। त्यो बोल्ने क्रममा कोही सांसदले असंसदीय भाषा प्रयोग भयो भनेर भन्दा पनि उहाँले सुनुवाइ गर्नुहुन्न,’ पाण्डे भन्छन्।
‘नियमावली अनुसार संसद्मा असंसदीय शब्द त्यतिखेर तत्कालै नियमापत्तिका बारेमा बोल्न दिनुपर्छ। यो बेठिक भइरहेको छ,’ पाण्डेले भने।
सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा पनि सभामुख घिमिरेको भूमिकालाई लिएर सत्तारुढ दलका नेताले आक्रोश व्यक्त गरेका थिए। एमालेको पक्षमा मात्रै संसद् चलाएको आरोप सत्ता गठबन्धनका शीर्ष नेताले बैठकमा लगाएका थिए।
संसदीय राजनीतिमा लामो अनुभव भएका र पार्टी राजनीतिमा पनि हाइप्रोफाइल रहेका नेतालाई सभामुखको निर्वाचनमा साइड लगाएर ओलीले घिमिरेलाई सभामुखको उम्मेदवार बनाए।

एमालेभित्र पुरानो कम्युनिस्ट नेताको छवि बनाएको भए पनि घिमिरे ‘लो प्रोफाइल’मै थिए। उनी तत्कालीन नेकपाकालमा पार्टी वरीयतामा केन्द्रीय सदस्य मात्रै थिए।
एमालेभित्र ओली निकट घिमिरे सौराहामा भएको १०औं महाधिवेशनबाट स्थायी कमिटी सदस्य बने पनि केन्द्रको राजनीतिमा भने चिनिएका थिएनन्। झापा-२ बाट प्रतिनिधि सभाको निर्वाचन जितेका घिमिरेलाई ओलीकै बलमा टिकट मिलेको चर्चा थियो एमालेभित्र।
संसदीय राजनीतिमा लामो अनुभव भएका र पार्टी राजनीतिमा पनि हाइ प्रोफाइल रहेका नेतालाई सभामुखको निर्वाचनमा साइड लगाएर ओलीले घिमिरेलाई सभामुखको उम्मेदवार बनाए। २०५६ मा घिमिरे राष्ट्रिय सभा सदस्य भए पनि प्रतिनिधि सभामा २०७९ मा ‘डेब्यु’ गरे।
प्रदेश इञ्चार्ज र अध्यक्षसम्मको जिम्मेवारी सम्हालेको भए पनि घिमिरे राष्ट्रिय राजनीतिमा चिनिएको अनुहार थिएनन्। तैपनि त्यतिबेला एमाले-माओवादी गठबन्धन बनेकाले घिमिरेले सजिलै सभामुखको निर्वाचन जिते। उनी संसदभित्रका गतिविधिमा मात्रै होइन आफ्नै बोलिका कारण पनि विवादमा पर्ने गरेका छन्।
चैत ३ मा घिमिरेले ‘पत्रकार ब्रिक्रीमा छन्’ भनेपछि विवादमा परेका थिए। ‘पित पत्रकारिता निकै डरलाग्दो गरी छ। जे कारणले भए पनि तिनीहरु प्रभावित छन्। अझ भन्ने हो भने बिक्रीमा छन् पत्रकारहरु,’ यही अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि बाध्य भएर उनले माफी नै माग्नु परेको थियो।
‘संसदलाई सबैको सभा बनाउने गरी सञ्चालन गर्छ भन्ने सभामुखबाट एउटा न्यूनतम अपेक्षा हुन्छ। त्यो अपेक्षाभित्र नियुक्ती पार्टीले गर्नुपर्छ। दलहरुले एकजना पार्टी नेतालाई पद पूर्ति गर्ने किसिमले सभामुख पदलाई लिइसकेपछि संसदलाई मर्यादित भएर चलाउने कुनै पनि कुरा विचार गर्न सकेका छैनन्।’

‘नियुक्तिमै विचार गर्नुपर्छ’
सभामुख घिमिरेलाई एमालेप्रति पक्षधरता देखाएको आरोप लाग्दा एमालेले भने अस्वीकार गरिरहेको छ। सदनमा प्रतिपक्षले निर्वाध सरकारका काम कारबाहीमाथि प्रश्न उठाउन पाउने भए पनि सत्तापक्षले त्यसमा अवरोध गरिरहेको र सभामुखमाथि नै प्रश्न उठाइरहेको तर्क एमालेको छ।
पूर्व सभामुख तथा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सभामुखले खेलिरहेको भूमिकामाथि टिप्पणी नै नगर्ने भन्दै सत्तापक्षकै कारण संसद्मा असंसदीय अभ्यास भइरहेको बताए।
‘सभामुखले त पहल गरिरहनुभएको छ। तर सत्तापक्षले नै सदन प्रतिपक्षले चल्न दिएन भनिरहेको छ। यसबारेमा ध्यानाकर्षण गराइनुपर्छ। सभामुखको भूमिकाबारे टिप्पणी छैन,’ उनले भने।
पूर्व सभामुख दमननाथ ढुंगानाले भने सभामुख छान्दा नै ध्यान नपुर्याइदा संसद्मा निष्पक्ष सभामुखको भूमिका देख्न नपाइएको बताए।
‘नियुक्तिमै विचार गर्नुपर्छ। सम्बन्धित दलले पनि विचार गर्नुपर्छ। अरु दलले पनि विचार गर्नुपर्छ। सभामुख र राष्ट्रपति पद पार्टीको कोरा नेतृत्वले सम्हाल्ने पद होइन,’ ढुंगानाले भने।
घिमिरेलाई मात्रै होइन यसअघि माओवादी केन्द्रबाट सभामुख भएका अग्नि सापकोटालाई पनि पार्टी पक्षधरता देखाएको आरोप लागेको थियो। उनले त्यतिबेला एमालेले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदको सूचना टाँस गर्न अस्वीकार गरेका थिए। ढुंगाना पनि पछिल्लो पटक दलहरुले संसद्लाई मर्यादित रुपमा चलाउन कुनै पहल नै नगरेको बताउछन्।
‘संसद्लाई सबैको सभा बनाउने गरी सञ्चालन गर्छ भन्ने सभामुखबाट एउटा न्यूनतम अपेक्षा हुन्छ। त्यो अपेक्षाभित्र नियुक्ति पार्टीले गर्नुपर्छ। दलहरुले एकजना पार्टी नेतालाई पदपूर्ति गर्ने किसिमले सभामुख पदलाई लिइसकेपछि संसद्लाई मर्यादित भएर चलाउने कुनै पनि कुरा विचार गर्न सकेका छैनन्,’ ढुंगानाले भने।