
काठमाडौं। विभिन्न प्रकारका डन्डी उत्पादन गर्ने कम्पनी जगदम्बा इन्टरप्राइजेज प्रालिको व्यापार १ अर्ब ४३ करोड ५० लाख रुपैयाँले बढेको छ। यो अघिल्लो वर्षको तुलनामा १०.२३ प्रतिशत बढी हो।
केयर रेटिङ्स नेपालका अनुसार कम्पनीले सन् २०२१/२२ मा १५ अर्ब ४६ करोड रुपैयाँको कारोबार गरेको छ। अघिल्लो वर्ष २०२०/२१ मा कम्पनीले १४ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गरेको थियो।
२०१९/२० मा कम्पनीको कारोबार करिब १५ अर्ब रुपैयाँ थियो।
कम्पनीसँग कुल जडित क्षमता वार्षिक ९ लाख २० हजार ६ सय टन छ। कम्पनीले जगदम्बा र जगशक्ति ब्राण्डमा डन्डी बिक्री गर्छ। कम्पनीको निर्देशक अनिलकुमार रुगाटा र विशाल पटवरी हुन्।
कम्पनीले १५ अर्ब ८० करोड रुपैयाँको बैंकिङ कर्जाका लागि रेटिङ पुन:पुष्टि गराएको छ। कम्पनीले १ अर्ब ८८ करोड ६६ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि एनपी डबल बी प्लस र १३ अर्ब ९३ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी ए फोर प्लस रेटिङ पुन:पुष्टि गराएको छ।