महिनावारीमा सेनेटरी प्याडभन्दा उपयोगी मिन्स्ट्रुअल कप, जसको बढ्दै छ प्रयोग

लक्ष्मी बलायर
२०८० साउन २७ गते ११:४९ | Aug 12, 2023
महिनावारीमा सेनेटरी प्याडभन्दा उपयोगी मिन्स्ट्रुअल कप, जसको बढ्दै छ प्रयोग


काठमाडौं। काठमाडौंको ताहाचाल बस्ने अरिका महर्जनलाई पहिले महिनावारी हुँदा निकै डर लाग्थ्यो। कारण थियो, सेनेटरी प्याड प्रयोग गर्दा लुगामा रगत लाग्नेदेखि त्यसलाई जतनसाथ मिल्काउनको सास्ती।

Tata
GBIME

तर, एक वर्षदेखि मिन्स्ट्रुअल कपको प्रयोगसँगै उनलाई महिनावारी हुँदा भोग्नुपर्ने समस्याबाट छुटकारा मिलेको छ। कपको प्रयोगले महिनैपिच्छे प्याड किन्नुपर्ने झन्झटबाट मुक्त हुनुका साथै बाहिर हिंड्न पनि सहज भएको उनको अनुभव छ।

‘सेनेटरी प्याड प्रयोग गर्दा बाहिर निस्कन निकै समस्या हुन्थ्यो। लुगामा ब्लड लाग्ने डर, त्यसमाथि डिस्पोजल गर्न पनि समस्या। किनकी सबै ठाउँमा डस्टबिन पनि हुँदैनन्। तर, मिन्स्ट्रुअल कपको प्रयोगले निकै राहत मिलेको छ। कपमा जम्मा भएको रगत सजिल्यै ट्वाइलेटमा फाल्न सकिन्छ। अहिले बाहिर कतै यात्रा गर्दा निर्धक्कले जान्छु,’ उनले भनिन्।

सुरुमा कप प्रयोग गर्दा निकै आत्तिएको अनुभव छ अरिकाको। ‘पेपरमा लेखिएका प्रयोग विधि हेरेर सी फोल्ट ट्राइ गरें। तर, त्यसरी प्रयोग गर्दा निकै दुखाइ भयो। त्यसपछि पञ्ज्ड डाउन फोल्ड ट्राई गरे। पञ्ज्ड डाउन प्रयोग गर्दा भने निकै सजिलो भयो। अहिले त कपले गर्दा पिरीयड भएजस्तो पनि लाग्दैन,’ उनले सुनाइन्।

५ सयमा मिन्स्ट्रुअल कप किनेको बताउँदै अरिकाले प्रयोग गर्दा दीर्घकालीनरुपमा कम खर्च लाग्ने बताइन्। जसकारण उनी अरुलाई पनि प्रयोग गर्न सल्लाह दिन्छिन्।

प्याडको विकल्प बन्दै मिन्स्ट्रुअल कप

विभिन्न अध्ययन अनुसार महिलाहरू आफ्नो जीवनकालमा औसत ४५० पटक महिनावारी हुन्छन्। यो नियमित शारीरिक प्रक्रिया हो। महिनावारीका बेला आफूलाई हुने अप्ठ्यारोका विषयमा खुलेर कुरा गर्न नेपाली समाज अझै पनि उदार छैन। शिक्षित परिवारमा बल्ल यस्ता बेलाको विषयमा कुरा हुन थालेको छ।

महिनावारीका बेला धेरै महिलाले परम्परागत तरिकाले टालो (सुतीको कपडा) प्रयोग गर्छन्। बिस्तारै सेनेटरी प्याड प्रयोग गर्ने बढे। अहिले ती प्याडको विकल्पमा मिन्स्ट्रुअल कपसहित ट्याम्पोन र लिकेज प्रुभ पेन्टिज् बजारमा आएका छन।

विदेशमा कप प्रयोगमा आएको धेरै भए पनि नेपालका लागि भने नौलो हो। सामान नेपाली बजारमा बिक्री हुन थालेको चार/पाँच वर्ष मात्रै भयो।

बजारमा पाइने सेनेटरी प्याडको एउटा प्याकेटलाई ७०-१२० रुपैयाँसम्म पर्छ। कहिले त महिनामै २ प्याकेट प्याड आवश्यकता पर्छ। जसकारण महिनावारी हुँदा एक वर्षमा ८४० देखि १५०० रुपैयाँसम्म खर्च हुन्छ। तर, एउटा मिन्स्ट्रुअल कप बजारमा ३ सय रुपैयाँदेखि किन्न मिल्छ। जुन ५ देखि १० वर्षसम्म पनि प्रयोग गर्न सकिन्छ। सेनेटरी प्याडभन्दा कम खर्च हुने, प्रयोगमा सहज र डिस्पोज गर्न पनि गाह्रो नहुने भएकाले कपप्रतिको आकर्षण बढ्दो रहेको व्यवसायीहरु बताउँछन्।

नेपालमा इ-कमर्स साइटहरुको फेसबुक, टिकटक र इन्स्टाग्रामहरुमा मिन्स्ट्रुअल कपहरुको विज्ञापन देख्‍न सकिन्छ। जसमध्येको एक हो, द भी कप। चिकित्साशास्त्रकी छात्रा कृति कट्टेलले ‘द भी कप’ मार्फत ३ वर्षदेखि मिन्स्ट्रुअल कप बिक्री गर्दै आएकी छन्। कपको प्रयोग गरेपछि सहज लागेसँगै बिजनेस सुरु गरेको उनले सुनाइन्।

‘कोरोनाको बेला १२ घण्टा ड्युटीमा खटिनुपर्ने। झन मिन्स हुँदा प्याडले निकै गाह्रो हुन्थ्यो। त्यसपछि विदेशबाट साथीलाई कप मगाएर प्रयोग गरेपछि निकै सजिलो लाग्यो। अरुले साथीहरुले पनि चासो देखाउन थालेपछि साइड बिजनेस गर्ने आइडिया आएको हो,’ उनले भनिन्।

कृतिले ७५० देखि १७ सय मूल्य पर्ने सिलिकनबाट बनेका कप बिक्रीमा राखेकी छन्। उनका अनुसार जुन स्पोर्ट डिजाइनको कप प्रयोग गरेपछि निर्धक्कले स्विमिङदेखि साइक्लिङ पनि गर्न सकिन्छ। प्याडभन्दा निकै उपयोगी भएकाले मिन्स्ट्रुअल कपको प्रयोग बढिरहेको उनको भनाइ छ।

‘सुरुमा महिला दिदीबहिनीले कप प्रयोग गर्न डर मान्नुहुन्थ्यो। तर, अहिले भने उहाँहरुले चासो देखाउनुका साथै प्रयोग पनि गर्नुहुन्छ। पहिलेको तुलनामा अहिले अर्डर बढ्दो छ। दैनिक ४/५ वटा कप बिक्री भइरहेको हुन्छ। २५ देखि ३५ वर्ष उमेर समुहकाले बढी प्रयोग गर्नुहुन्छ,’ उनले भनिन्।

त्यसैगरि, इ-कमर्स साइट हाम्रो शृंगारले कपहरु बिक्रीमा राखेको छ। पछिल्लो समय कप प्रयोग गर्ने महिलाहरुको संख्यामा वृद्धि भइरहेको हाम्रो शृंगारका मेनेजर बिभाश कर्णले बताए।

‘हामीले ५५० देखि ११ सयसम्म मूल्य पर्ने कपहरु राखेका छौं। ब्राण्डेड सामानहरु अलि महँगो हुन्छ। त्यसमाथि नेपालमा नयाँ भएकाले सुरुमा महिलाहरु कप प्रयोग गर्न केही डराउनुहुन्छ,’ उनले भने, ‘तर, अहिले कप प्रयोग गर्नेहरुबाट राम्रो प्रतिक्रिया मिलिरहेको छ। पहिले महिनामा ५/६ वटा बिक्री हुँदा अहिले भने ९/१० वटा भइरहेको हुन्छ।’

अहिले काठमाडौं उपत्यका बाहिरका महिलाहरुबाट पनि कपको खोजी हुने गरेको पनि उनले सुनाए। कपको उपयोगिताबारे जानकारी व्यापक बनाउन सके प्याडलाई नै विस्थापन गर्ने उनको दाबी छ। द भी कप र हाम्रो शृंगारबाहेक ग्लो गेटर फ्लो कप, स्मार्ट कप लगायतका इ-कमर्स साइटबाहेक पसलहरुमा पनि मिन्स्ट्रुअल कप बिक्री गरिन्छ।

आयात बढ्दै, कुन देशबाट कति आउँछ?

भन्सार विभागको तथ्यांकअनुसार ट्याम्पोन र मिन्स्ट्रुअल कपको आयात क्रमिक बढ्दो छ। गत आर्थिक वर्ष २०७९/८० मा ४३ लाख २७ हजार बराबरको ९२ हजार २३७ पिस ट्याम्पोन र मिन्स्ट्रुअल कप नेपाल आयात भएको छ। जुन अघिल्लो वर्षको भन्दा बढी हो। आर्थिक वर्ष २०७८/७९ मा ३८ लाख ९४ हजार बराबरको ६० हजार २०४ पिस ट्याम्पोनसहित कप नेपाल भित्रिएको थियो।

नेपालमा सबैभन्दा धेरै ट्याम्पोनसहित मिन्स्ट्रुअल कप भारत र चीनबाट आयात भएको छ। आर्थिक वर्ष २०७९/८० मा भारतबाट ७१ हजार ७५६, चीनबाट १० हजार ८ सय, बंगलादेशबाट ७२०, बेलायतबाट ६ सय, हङकङबाट २२ र इजरायलबाट ६ पिस कप आयात भएको थियो। त्यसैगरी आर्थिक वर्ष २०७८/७९ मा भारतबाट ३८ हजार ७३५, चीनबाट २०  हजार ९ सय ८ र बंगलादेशबाट ५६१ पिस ट्याम्पोनसहित मिन्स्ट्रुअल कप नेपाल भित्रिएको तथ्यांकमा देखिन्छ।   

स्वास्थ्यका हिसाबले कति उपयोगी?

स्वास्थ्यका हिसाबले प्याडभन्दा मिन्स्ट्रुअल कप फाइदाजनक हुने स्वास्थ्यकर्मीहरुको धारणा छ। प्याड प्रयोग गर्दा संक्रमण र एलर्जी हुने सम्भावना भएकाले मिन्स्ट्रुअल कप स्वास्थ्यका दृष्टिले हितकर भएको स्त्रीरोग विशेषज्ञ कृतिपाल सुवेदीले बताए।

‘प्याड प्रयोग गरेको ४ देखि ६ घण्टाको अन्तरालमा फेर्नुपर्छ। नफेर्दा एलर्जी र संक्रमणको सम्भावना बढी हुन्छ। तर, कप प्रयोग गर्दा समय अवधि बढी हुन्छ र स्वास्थ्यमा पनि कुनै असर गर्दैन,’ उनले भने।

मिन्स्ट्रुअल कपको प्रयोगले महिलाहरूलाई ‘कन्फिडेन्ट’ बन्न मद्दत गर्ने डा. सुवेदीको तर्क छ। भन्छन्, ‘विभिन्न साइजका मिन्स्ट्रुअल कपहरु उपलब्ध छन्। आफूलाई कुन आकारको कप ठीक हुन्छ, त्यही खरिद गर्नुपर्छ। प्याड लगाउँदा कपडामा लाग्यो कि भन्ने सधैं मानसिक तनाव हुन्छ। तर, कप लगाउँदा भने कुनै डर र तनाव हुँदैन। जसले महिलालाई कन्फिडेन्ट बनाउँछ। प्रयोग गर्नु भएकाहरु खुसी नै भएको देखेको छु।’

डा. सुवेदीका अनुसार मेन्स्ट्रुअल कप छालासँग एलर्जी नगर्ने रबरजस्तै नरम र लचिलो सामग्रीबाट बनेको हुन्छ। जसलाई महिनावारी हुँदा सफा हातले योनीभित्र राख्नुपर्छ। राखेपछि पाठेघरबाट आएको रगत कपमा जम्मा हुन्छ। रगतको मात्रा हेरेर कप ६ देखि १२ घण्टासम्म प्रयोग गर्न सकिन्छ। रगत फ्याँकेपछि सफा गरेर कपलाई पुन: प्रयोगमा ल्याउन सकिन्छ। प्याडका तुलनामा कप वातावरणीय र आर्थिक हिसाबले पनि उपयोगी हुने उनको भनाइ छ।

प्याडभन्दा उपयोगी भए पनि कपलाई योनीभित्र राख्‍नुपर्ने भएकाले प्रयोगकर्तालाई सुरुमा केही गाह्रो हुने उनले बताए। साथै कप लगाउँदा कुमारीत्व जाने भ्रम समेत समाजमा हाबी रहेको सुवेदीले बताए। ‘कप प्रयोग गर्दा कुमारीत्त्व गुम्छ कि भनेर धेरै डराउनुहुन्छ। किनकि हाम्रो समाज यस्ता विषयमा कुरा खुलेर गर्ने हुनै बाँकी छ। तर, कपले कुमारीत्वमा असर पार्छ भन्नु भ्रम मात्रै हो। कपको आकार र त्यसलाई प्रयोग गर्ने तरिकामा भने ध्यान दिनु जरुरी छ,’ उनले बिजमाण्डूसँग भने।

मिन्स्ट्रुअल कपको प्रयोगको तरिका प्याकेटमा नै लेखिएको हुन्छ। लेखपढ जानेकालाई विधि पढेर सोहीअनुसार प्रयोग गर्न सक्छन्। प्रयोगमा विधि नपुर्‍याउँदा भने ‘साइड इफेक्ट’को जोखिम पनि हुने स्वास्थ्यकर्मी बताउँछन्। महँगो अनि प्रयोग विधिबारे धेरैजना अनभिज्ञ हुँदा नै मिन्स्ट्रुअल कप सहरकेन्द्रित भएको सुवेदीको धारणा छ।

योनीमा घाउ र एलर्जी हुने महिलाहरूलाई भने कप प्रयोग नगर्न सुझाव दिन्छन् सुवेदी। ‘एलर्जी भएमा वा योनीमा घाउ हुँदा पनि कप प्रयोग गर्न मिल्दैन। त्यस्तै, महिनावारी भइसकेपछि पनि रगत बग्ने समस्या रहेका र सुत्केरीले पनि कप प्रयोग गर्नु हुँदैन,’ उनले भने।