सुन प्रकरणमा समातिएका रोहन अकुडियालाई राजस्वले लिन मानेन, विमानस्थल प्रहरीलाई तनाव!

सविन ढकाल
२०८० साउन २६ गते १८:४२ | Aug 11, 2023
सुन प्रकरणमा समातिएका रोहन अकुडियालाई राजस्वले लिन मानेन, विमानस्थल प्रहरीलाई तनाव!

काठमाडौं। दिउँसो १ बजे भारतको इन्डिगोको एयरलाइन्सबाट रोहन अकुडिया काठमाडौं ओर्लिए। रोहन राकेश अकुडियाका छोरा हुन्। विमानबाट झरेर अध्यागमनको कक्षमा पुग्ने बित्तिकै उनी समातिए। कारण – कालोसूचीमा उनको नाम।

Tata
GBIME
NLIC

राजस्व अनुसन्धान विभागले केही दिनअघि उनको नाममा कालोसूचीमा राख्न अध्यागमन विभागलाई पत्राचार गरेको थियो। सोही आधारमा अध्यागमनले विमानस्थल कार्यालयको लिस्टमा नाम चढायो।

त्यसैलाई आधार बनाएर रोहनलाई विमानस्थलका अध्यागमनका कर्मचारीले पक्राउ गरेका थिए। त्यसपछि विमानस्थल प्रहरीलाई जिम्मा लगाइएको थियो। प्रहरीले राजस्व अनुसन्धानको आधारमा कालोसूचीमा राखेको भन्दै विभागलाई नै जिम्मा लगाउने तयारी गर्‍यो। त्यसपछि ९४५७ नम्बरको कोरोला कारमा राखेर उनलाई विभागको कार्यालय ललितपुर पुर्‍याइयो। त्यो बेला दिउँसो २ बजिसकेको थियो।

राजस्व विभागले कार्यालय समय सकिएको भन्दै रोहनलाई जिम्मा नै लिएन। त्यसपछि विमानस्थल प्रहरीलाई तनाव भयो। साउन ३ गते हङकङबाट आएको अर्बको सुन प्रकरणसँग जोडेर रोहनलाई नियन्त्रणमा लिएको थियो। राजस्वको टोलीले सुन बरामद गरेको थियो। तर १८ दिनको अनुसन्धानपछि बीचमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई फाइलसहित अनुसन्धानको जिम्मा लगाएको थियो।

‘विभागले हाम्रो बिदा भइसकेको भन्दै मान्छे बुझ्न मानेन। साह्रै तनाव भयो। कहाँ लगेर जिम्मा लगाउने हो,’ एक प्रहरी कर्मचारीले भने।

त्यसपछि घटनाको अनुसन्धान गरिरहेको सीआइबीलाई विमानस्थल प्रहरीले जिम्मा लगाउन खोज्यो। तर ब्युरोले आफूले खोजेको मान्छे नभएको भन्दै बुझ्न तयार भएन। शुक्रवार नै ब्युरोले दुई जना चिनियाँ नागरिकलाई समातेको थियो। अध्यागमनको सहयोगमा नै उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

‘आज हामी कहाँ आएको दुई चिनियाँमात्र हो। अडुकियाको बारेमा हामीलाई थाहा छैन,’ ब्युरो स्रोतले भन्यो।

केही घण्टा गाडीमा नै राखेर यताउता गरेपछि विमानस्थल प्रहरीले रोहनलाई अध्यागमन विभागलाई बुझाएको छ। अब अध्यागमनले रोहनको बारेमा थप निर्णय गर्नेछ। अहिलेसम्म सुन प्रकरणमा प्रहरीले २० जनालाई पक्राउ गरेको छ। सिआइबीले घटनाको अनुसन्धान गरिरहेको छ।