कन्सर्टका लागि भारतीय कलाकारहरु ‘लाइन अप’मा, नेपाली कम्पनीलाई फाइदा कि घाटा?  

लक्ष्मी बलायर
२०८० साउन २६ गते ०६:४५ | Aug 11, 2023
कन्सर्टका लागि भारतीय कलाकारहरु ‘लाइन अप’मा, नेपाली कम्पनीलाई फाइदा कि घाटा?    
अरिजित सिंह र शिल्पा राव। तस्विर : कलाकारहरुको फेसबुक पेजबाट


काठमाडौं। भारतमा अहिले रजनीकान्त र तमन्ना भाटिया फिचर्ड ‘काभाला’ गीत चर्चामा छ। जेलर फिल्मको उक्त गीत जति चर्चित भइरहेको छ त्यति व्यस्त हुँदैछिन् चार्टबस्टर गायिका शिल्पा राव।

Tata
GBIME

भारतीय मिडियामा अन्तर्वार्ता, विभिन्न राज्यमा कन्सर्ट। यो उनको दैनिकी बनेको छ। गीत चर्चामा रहिरहँदा उनै राव नेपाल आउँदैछिन्। काभालासँगै ‘बेशरम रङ,’ ‘कलंक’ लगायतका गीत उनले काठमाडौंमा सुनाउने पक्का भइसकेको छ।

भदौ ८ गते उनले दी सोल्टीको प्रिभ नेपालमा प्रस्तुति दिँदैछिन्। रोर इन्टरटेन्मेन्टले आयोजना गर्ने कन्सर्टको टिकट बिक्रीसमेत सुरु भइसकेको छ।

शिल्पाको कन्सर्ट सकिनेबित्तिकै अन्य दुई चर्चित भारतीय गायक नेपाल आउने ‘लाइन अप’मा छन्। भदौ २९ गते सोल्टीकै प्रिभमा गायक कैलाश खेरले लाइभ प्रस्तुति दिँदैछन्।

मंसिर ९ गतेका लागि तय भएको गायक अरिजित सिंहको कन्सर्ट अहिले बहुप्रतिक्षित मानिएको छ। गराज म्यानेजमेन्ट इन्टरटेन्मेन्टले आयोजना गर्न लागेको सो कन्सर्टको चर्चा अहिलेदेखि नै छ।

पछिल्लो समय धेरै भारतीय गायक गायिकाहरु कन्सर्टका लागि नेपाल आइरहेका छन्। विभिन्न कम्पनी र क्लबहरुसँगको सहकार्यमा उनीहरु काठमाडौं आउने गरेका छन्।

केही दिन अघिमात्रै भारतीय गायक जावेद अली नेपाल आएका थिए। सोल्टीमा भएको कन्सर्टमा जावेदलाई सुन्न दर्शकको भीड लागेको थियो। ‘तुम तक,’ ‘कुन फाया कुन’ लगायत गीतहरु गाएर उनले अडियन्सलाई झुमाएका थिए। केही महिनाअघि पापोनले पनि नेपाली दर्शक सामु आफ्नो गीत गाएका थिए। बादशाह, हनी सिंह, आस्था गिल, असिम कौर लगायतका भारतीय गायक गायिकाले नेपालका विभिन्न क्लबमा पछिल्लो समय प्रस्तुति दिइसकेका छन्।

तस्विर : प्रिभ नेपालको फेसबुकबाट

नेपालमा भारतीय कलाकारहरुको बढ्दो उपस्थितिसँगै नेपाली कन्सर्टहरु निकै खर्चिला बनिरहेका छन्। आकर्षक भेन्यू, अत्याधुनिक प्राविधिक उपकरण र विदेशी कलाकारको चर्को पारिश्रमिक कन्सर्टको महंगो हुने मुख्य कारण हुन्। जसकारण एउटै कन्सर्ट गर्न पनि लाखौं खर्च हुने गरेको आयोजकहरु बताउँछन्।

२०६७ सालमा चर्चित गायक ब्रायन एडम्स कन्सर्टका लागि नेपाल आएका थिए। उक्त वर्षको फागुन १० गते दशरथ रंगशालामा भएको कन्सर्ट हेर्न भारतसँगै अन्य देशबाटसमेत फ्यानहरु काठमाडौं आएका थिए। ‘समर अफ सिक्स्टी नाइट,’ ‘एभरीथिङ आई डू’ जस्ता गीतहरु गाएर २० हजारभन्दा बढी दर्शकलाई नचाएका थिए ब्रायनले। ओडीसी इन्टरटेनमेन्टको आयोजनामा भएको सो कन्सर्टलाई नेपालकै अहिलेसम्मकै ठूलो ‘इभेन्ट’ मानिन्छ।

२०६७ सालमा ओडीसीले नै डेनमार्कको रक ब्यान्ड एमएलटीआर (माइकल लर्न्स टु रक)लाई काठमाडौं ल्यायो। ब्यान्डले १५ हजार दर्शकमाझ प्रस्तुति दिएको थियो। हुन त यसअघि पनि नेपालमा विदेशी कलाकारहरु कन्सर्टका लागि आउँथे। तर ठूलो स्तरमा कन्सर्ट आयोजना गर्ने ‘ट्रेन्ड’ यिनै दुई कन्सर्टले बढाएको हो।

कन्सर्टका लागि कति लाग्छ खर्च?

अहिले नेपालमा थुप्रै इभेन्ट म्यानेजमेन्ट कम्पनी खुलिसकेका छन्। ती कम्पनीले नै विदेशी कलाकारलाई नेपाल ल्याउने गरेका छन्। विशेषगरी ती कम्पनीहरुको ‘टार्गेट’ मा भारतीय गायक गायिका हुने गर्छन्।

ओडीसीका निर्देशक सिमान्त गुरुङ विदेशी कलाकारको कन्सर्ट गर्ने नेपाली कम्पनीहरु बढिरहेको बताउँछन्।

‘विदेशी कलाकारलाई लिएर कन्सर्ट गर्ने कम्पनीको संख्या बढ्दो छ। हलिउड नभए पनि अहिले भारतको ठूलो र सानो आर्टिस्ट कन्सर्टको लागि नेपाल आइरहेको छ,’ उनले भने। हिन्दी गीतको नेपाली समुदायमा रहेको व्यापक प्रभावले नै धेरै भारतीय कलाकार प्रस्तुतीका लागि नेपाल आइरहेका हुन्।

१२ वर्ष अघि कन्सर्टका लागि ब्रायन एडम्स र एमएलटीआर ल्याउन एक करोडभन्दा बढी खर्च भएको गुरुङ बताउँछन्। अहिले भने विदेशी कलाकार ल्याएर कन्सर्ट गर्न ठूलै रकम लगानी गर्नुपर्ने उनले बताए। चर्चित कलाकारहरुलाई ल्याएर ठूलो शो गर्न ५ देखि ६ करोडसम्म खर्च लाग्ने सुनाउँछन् गुरुङ।

उनले भने, ‘ठूलो कन्सर्ट गर्न लगानी पनि धेरै लाग्छ। एडम्सको कन्सर्टलाई अहिलेसम्मकै नाम चर्चित मानिन्छ। त्यतिखेर पनि कन्सर्टका लागि चाहिने सबै सामान भारतबाट मगाएका थियौँ। यसरी ल्याउँदा ढुवानी खर्च नै मंहगो पर्छ। सानो शो गर्दा भने नेपालकै सामानले पुग्छ।’

प्रायजसो ठूला कन्सर्टका लागि चाहिन प्राविधिक सामान नेपालमा छैनन्। जसकारण विदेशबाटै ती सामानहरु भित्र्याउनुपर्ने बाध्यता छ। जसले गर्दा कम्पनीहरुको लगानी पनि बढ्छ। गुरुङका अनुसार नेपालमा विभिन्न प्रायोजकसँग ‘कोलाब्रेसन’ गरेर कन्सर्ट का लागि लगानी जुटाइन्छ।

‘प्राइभेट कम्पनीले ३० प्रतिशत जति लगानी गर्छ। अन्य पैसा भने हामी स्पोन्सर र टिकटबाट जुटाउँछौ,’ उनले भने।

तस्विर : लिक्विड इन्टेलिजेन्स

‘लिक्विड इन्टेलिजेन्स’ को आयोजनामा भारतीय गायकद्वय जावेद अली र पापोनको कन्सर्ट भएको थियो। १ हजार ५०० देखि ३ हजार रुपैयाँसम्म टिकट शुल्क रहेको कन्सर्ट हेर्न १८ सय दर्शकको उपस्थिति थियो। लिक्विडका सञ्चालक दिलभूषण गौतम पनि विदेशी कलाकार ल्याएर कन्सर्ट गर्दा खर्चिलो हुने बताउँछन्।

‘कलाकारसहित १२-१५ जनाको टिमलाई नै नेपाल ल्याउनुपर्ने हुन्छ। उहाँहरुको ट्राभलदेखि खानबस्न र सुरक्षाको जिम्मा पनि लिनुपर्छ। नेपाली कलाकारहरुको प्रस्तुति पनि हुन्छ। सबैको पारिश्रमिकदेखि भेन्यु र टिकेटिङ पार्टनरलाई पनि कमिसन दिनुपर्छ,’ गौतमले भने।

कलाकार र भेन्यू हेरेर सानो कन्सर्ट गर्न नै २०-२५ लाखसम्म खर्च लाग्ने उनी बताउँछन्। नाम चलेका कलाकार ल्याउने हो भने करोडभन्दा बढी लगानी लाग्छ।

अरिजित सिंहलाई गराज म्यानेजमेन्ट इन्टरटेनमेन्टले महंगो रकममा नेपाल ल्याउँदैछ। पहिलोपटक विदेशी कलाकार ल्याएर गर्न लागेको कन्सर्ट नेपालकै ठूलो कन्सर्ट हुने सञ्चालक रशिक भट्टराईको दाबी छ। नेपालमा बलिउड गीत-संगीतको अडियन्स धेरै भएकाले अरिजितलाई ल्याउन लागेका उनले बताए।

‘अरजित सिंह भारतकै महँगो आर्टिस्टमा पर्नुहुन्छ। उहाँसँगै ४०-४५ जनाको टिम नै आउँदैछन्। नेपालमा भएको सामान उहाँको लागि केही पनि काम लाग्दैन। कन्सर्टको लागि सबै सामान भारतबाट आइरहेको छ। उहाँहरुको आवश्यकताअनुसार हामीहरुले प्राविधिक पक्ष व्यवस्थापन गर्नुपर्छ। जसले गर्दा लगानी पनि राम्रै लाग्छ,’ भट्टराईले भने।

तस्विर : अरिजित सिंहको फेसबुक पेजबाट

नेपाली कम्पनीलाई फाइदा कि घाटा?

विदेशी सेलिब्रेटीलाई नेपाल ल्याउन प्रक्रिया लामो हुने बताउँछन् लिक्विडका सञ्चालक गौतम।

‘हामीले कलाकारहरुको मेनेजरमार्फत प्रक्रिया अगाडि बढाउने हो। त्यसपछि उहाँहरुले समयदेखि पारिश्रमिक र टेक्निकली पाटोको कुरा गर्नुहुन्छ। त्यो कुराहरु पूरा गर्न सकिन्छ भनेर कम्फर्म गरेपछि मात्रै उहाँहरु आउन तयार हुनुहुन्छ,’ उनले भने।

गराज म्यानेजमेन्टले दुई वर्षअघि अरिजितलाई कन्सर्टको अफर गरेको थियो। लामो छलफलपछि उनको काठमाडौं कन्सर्ट तय भएको हो।

रोर इन्टरटेनमेन्टका इभेन्ट म्यानेजर सन्दीप बस्नेत पनि गौतमको कुरामा सहमत छन्। कलाकारहरुसँग सम्झौता गर्न देखि स्पोन्सर खोज्न र मार्केटिङमा समय लाग्ने सुनाउँछन् उनी। जसकारण नेपाली कम्पनीहरुको लगानी पनि ह्‍वात्तै बढ्ने उनी बताउँछन्।

तस्विर : शिल्पा रावको फेसबुक पेजबाट

प्रायजसो कन्सर्टहरुमा दर्शकहरुको राम्रै उपस्थिति हुने गरेको इभेन्ट म्यानेजमेन्ट कम्पनीहरु बताउँछन्। जसकारण कन्सर्टमा घाटा ब्यहोर्नुपर्ने अवस्था निकै कम हुन्छ। तर, थौरै दर्शक अट्ने क्लब र प्राविधिक पक्षमा गर्नुपर्ने थप लगानीले नेपाली कम्पनीहरुलाई धेरै नाफा कमाउन भने गाह्रै भइरहेको सरोकारवालाहरु बताउँछन्।

‘शोमा दर्शकहरु नआउँदा घाटा पनि हुन्छ,’ सिमान्त गुरुङले भने। ओडिसीले सलमान खानलाई समेत नेपाल ल्याउने तयारी गरेको थियो। पटकपटक सलमानलाई नेपाल ल्याउने भन्दै टिकटसमेत बिक्री गरिएको थियो। तर, सलमानको समय नमिल्दा पटक-पटक सलमानको ‘दबंग द टूर नेपाल’ रोक्नुपरेको सिमान्त बताउँछन्। जसकारण आफूले निकै घाटा ब्यहोरेको उनको भनाइ छ।

‘यो पनि अरु व्यवसायजस्तै हो, घाटानाफा भइरहन्छ। सलमान कन्सर्टको रोकिँदा हामी निकै घाटामा छौं। कन्सर्टको प्रचारप्रचार, टिकट प्रिन्टदेखि अपेसन कस्ट नै एक करोड खर्च भइसकेको छ,’ उनले भने।

नेपालमा नाम चलेका भारतीय कलाकारहरु आइरहँदा त्यसले नेपालको पर्यटन क्षेत्र उकासन सहयोग गर्ने आयोजकहरुको विश्वास छ।

सन्दीप भन्छन्, ‘उनीहरु (युवाहरु)लाई इन्टरनेशनल लेबलको कन्सर्ट चाहिएको हुन्छ। त्यसमाथि यो टुरिस्ट भित्र्याउने बाटो पनि हो। विदेशीको ठूलो कलाकार आउँदा सिक्किम, दार्जिलिङ, सिलगुडी र भैरहवाबाट हजारौं मानिसहरु आउँछन्। ‘