
काठमाडौं। सात वर्षपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले उस्तै प्रकृतिको अपरेसन चलाएको छ। जुन अपरेसनको फन्दामा कांग्रेसका सांसद सुनिल शर्मा परेका छन्। ब्युरोको टोलीले बिहीबार दिउँसो शर्मालाई काठमाडौंको गोल्फुटारबाट पक्राउ गरेको हो।
शर्मालाई शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा नियन्त्रणमा लिइएको हो।
शर्मालाई पक्राउ गरेर महाराजगञ्जस्थित ब्युरो कार्यालयमा राखिएको छ। पक्राउको जानकारी प्रहरीले सभामुख देवराज घिमिरेलाई बिहीबार साँझ नै लिखित रुपमै गराएको छ। फौजदारी कसुरमा कुनै सदस्य पक्राउ परे सभामुखलाई जानकारी दिनुपर्ने संवैधानिक व्यवस्था छ।
प्रवीणता प्रमाणपत्र तहको प्रमाणपत्र किर्ते गरेको आरोप शर्मामाथि लागेको छ।

‘शैक्षिक प्रमाणपत्र नै किर्ते गरेको पाइएकाले पक्राउ गरेका हौं,’ नेपाल प्रहरीका प्रवक्ता डीआइजी कुबेरबहादुर कडायतले भने।
प्रहरीले शर्माको प्रमाणपत्र नक्कली भएको एक वर्ष अगाडि नै पत्ता लगाएको थियो। राष्ट्रिय परीक्षा बोर्डबाट २०७९ साउन ५ गते रोल नम्बर फेला नपरेको पत्र प्रहरीमा आएको थियो। तर त्यसको झन्डै एक वर्षपछि मात्र उनी समातिएका हुन।
ब्युरोले अहिले नक्कली प्रमाणपत्र भएका चिकित्सकमाथि अपरेसन चलाइरहेको बताएको छ। जुन अपरेसनको नाम ‘फक्सट्रट चार्ली’ राखिएको छ। शर्मा सोही अपरेसनको पहिलो आरोपी बनेका छन्। त्यसो त प्रहरीले यसरी नक्कली प्रमाणपत्र बनाएका अन्य केही चिकित्सकलाई पनि पक्राउ गरेको दाबी गरेको छ।
२०७३ मा ब्युरोले यस्तै अपरेसन चलाएको थियो। जसमा ४० जनाभन्दा बढी चिकित्सक समातिएका थिए। ३६ जना चिकित्सकविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो। जसमा सबैले सफाइ पाएका थिए। उक्त समय नवराज सिलवाल ब्युरो प्रमुख थिए। त्यसबेला नै शंकाको घेरामा परे पनि शर्मा पक्राउ परेका थिएनन्।
पछिल्लो समय शर्मा सुन प्रकरणमा अर्थ र गृहमन्त्रीको राजीनामा मागेर चर्चामा थिए। सत्तापक्षका सांसद शर्माले उक्त प्रकरणमा दुई मन्त्रीलाई प्रधानमन्त्रीले नहटाए अनसन बस्ने चेतावनी समेत दिएका थिए।
कतिपयले शर्माको पक्राउलाई उक्त अभिव्यक्तिसँग पनि जोडेका छन्। शर्मा विराटनगरको नोबेल कलेज र सिनामंगलको काठमाडौं मेडिकल कलेजका सञ्चालक हुन्।
२०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी मोरङ-३ बाट विजयी भएका थिए।