
काठमाडौं। कुनै समय नेपाली सेयर बजारमा जलविद्युत क्षेत्रका कम्पनीको प्रतिनिधित्व गर्ने कम्पनी चिलिमे मात्र थियो। नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा अहिले जलविद्युत क्षेत्रकै ७९ कम्पनी सूचीकृत छन्। कम्पनी थपिए पनि लगानीकर्ताको रोजाइमा भने चिलिमे नै छ।
जलविद्युत कम्पनी थपिने क्रम बढ्दो त छ, तर महँगो ब्याजदरले सजिलो भने छैन। जलविद्युत आयोजनाको लागत अस्वाभाविकरुपमा बढिरहेको छ। त्यसमाथि आयोजना निर्माणमा ढिलाइले कम्पनीले कहिलेदेखि कति प्रतिफल दिन्छ भन्ने पनि सुनिश्चित हुँदैन।
अहिले धेरैजसो जलविद्युत कम्पनी घाटामा छन्। गत आर्थिक वर्ष तेस्रो त्रैमाससम्म २४ वटा जलविद्युत कम्पनी नोक्सानीमा गए। केहीको नाफामा भारी गिरावट आयो भने ११ कम्पनी नाफा बढाउन सफल भए। नाफा बढाउने जलविद्युत कम्पनीमध्ये चिलिमे शिर्ष स्थानमा छ।
पछिल्लो समय धेरै जलविद्युत कम्पनी महँगो ब्याजदरले प्रभावित भए। उनीहरु नोक्सानीमा गए। नोक्सानीको रिपोर्टले ती कम्पनीको सेयर मूल्यमा पनि गिरावट आयो। तर चिलिमेलाई भने ब्याजदरसँग त्यति मतलव छैन किनभने उसले ऋण चुक्ता गरेको २०६४ मै हो।
‘ब्याजदरले अरु जलविद्युत कम्पनीमा असर गरेपनि हामीलाई भने धेरै वर्ष पहिले नै ऋण चुक्ता गरेकाले त्यति मतलव भएन’, चिलिमेका कम्पनी सचिव नारायणप्रसाद आचार्यले भने।
एकातिर नाफामा वृद्धि र अर्कातिर उसको लगानीमा निर्माणाधीन आयोजना सम्पन्न हुने चरणमा पुगेपछि त्यसले लगानीकर्ता आकर्षित भएका छन्। बियरिस मार्केटमा पनि चिलिमेको सेयरमा लगानीकर्ताको रोजाइमा रह्यो।
गत आर्थिक वर्ष चिलिमेको सेयर मूल्य ४७ प्रतिशतसम्म बढ्यो। आर्थिक वर्ष २०७८/७९ को अन्तिममा चिलिमेको सेयर मूल्य प्रतिकित्ता ४०३ रुपैयाँ थियो। त्यो मूल्य गत असार ४ गते ५९४ रुपैयाँसम्म पुग्यो। यो भनेको ४७. ३९ प्रतिशत वृद्धि हो। मौद्रिक नीतिपछि ओरालो लागेको बजारमा पनि चिलिमेको मूल्य प्रतिकित्ता ५०० रुपैयाँ माथि नै छ।
सामान्यतया जलविद्युत आयोजनाको उत्पादन क्षमता निश्चित हुने हुँदा आम्दानी अन्य व्यवसायमा जस्तो प्रत्येक बर्ष बढ्दै जान सम्भव हुँदैन। तर चिलिमेको हकमा उसका आयोजना निर्माणको अन्तिम चरणमा छन्।
ती आयोजनाको बिजुली बिक्रीपछि चिलिमेको आम्दानी बढ्नेछ। आम्दानी बढ्नु भनेको लगानीकर्ताले थप प्रतिफल पाउने आधार बन्नु हो। त्यही कारण चिलिमेको सेयर लगानीकर्ताको रोजाइमा परेको हो।
अन्तिम चरणमा चिलिमेका आयोजना
चिलिमेले लगानी गरेका ४ आयोजना अहिले निर्माणको अन्तिम चरणमा छन्। कम्पनीको लगानी रहेका १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्य भोटेकोशी र ४२.५ मेगावाटको तल्लो सान्जेन आयोजनाको काम अन्तिम चरणमा पुगेको हो।
१४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरु गरिसकेको छ। अन्य आयोजनाले पनि अबको करीब २ महिनाभित्र विद्युत उत्पादन सुरु गर्ने कम्पनीका सचिव आचार्यले जानकारी दिए।
यसबाहेक चिलिमेले ८१ मेगावाटको बुढीगण्डकी प्रोक, ९३ मेगावाटको बुढीगण्डकी र ४५ मेगावाटको स्यारखोला जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन गरिरहेको छ।
चिलिमेले ८७ मेगावाट क्षमताको सेती नदी-३ जलविद्युत आयोजना बनाउनका लागि सहायक कम्पनी दर्ता गरेर अहिले धमाधम मुआब्जा बाँडिरहेको छ। मुआब्जा वितरण सकेलगत्तै काम अगाडि बढाउने कम्पनीको तयारी छ।
यसका साथै चिलिमेको आफ्नै इन्जिनियरिङ् कम्पनी पनि छ। चिलिमे इन्जिनियरिङ एण्ड सर्भिसेज कम्पनीले अनुमति पाएका ३ कम्पनीको अध्ययन गरिरहेको हो।
प्रतिसेयर आम्दानी भने घट्दो
चिलिमेको प्रतिसेयर आम्दानी भने केही वर्षयता निरन्तर घटिरहेको छ। कम्पनीले पछिल्लो १२ वर्षमा लगानीकर्तालाई वितरण गरेको बोनस सेयरका कारण सेयर आपूर्ति बढ्दा तथा बढ्दो पुँजी अनुसार कमाउन नसक्दा प्रतिसेयर आम्दानी निरन्तर घट्न पुगेको हो। उसले १२ वर्षमा २२० प्रतिशत बोनस सेयर बाँडेको छ।
यसबाहेक यो अवधिमा चिलिमेका लगानीकर्ताले १४७ प्रतिशत नगद लाभांश पनि पाएका छन्। कुनै समय ७० प्रतिशतसम्म लाभांश वितरण गरेको चिदिमे सेयर बजारमा ब्लुचिप कम्पनीका रुपमा चिनिन्थ्यो। तर पछिल्लो ७ वर्षको तथ्यांक हेर्ने हो भने कम्पनीको प्रतिसेयर नेटवर्थ पनि निरन्तर घटिरहेको छ।
चिलिमे हाइड्रोपावरमा नेपाल विद्युत् प्राधिकरणको ५१ तथा सर्वसाधारणको ४९ प्रतिशत सेयर स्वामित्व छ। चिलिमेको विद्युत उत्पादन क्षमता २२.१ मेगावाट हो।