सेयरमा प्रतिफल नदेखेपछि म्युचुअल फण्ड पल्किए मुद्दतीको ब्याजमा, सीमाभन्दा बढी राख्न होडबाजी

बिजमाण्डू
२०८० साउन २५ गते १७:२२ | Aug 10, 2023
सेयरमा प्रतिफल नदेखेपछि म्युचुअल फण्ड पल्किए मुद्दतीको ब्याजमा, सीमाभन्दा बढी राख्न होडबाजी


काठमाडौं। बजार सुस्ताउन थालेपछि म्युचुअल फण्डहरुले सेयर त्यागेर ब्याजदरको लाभ उठाउन थालेका छन्। बैंकहरुले संस्थागत निक्षेमा दोहोरो अंकको प्रतिफल निश्चित गरेपछि उनीहरुको रकम सेयरभन्दा मुद्दती निक्षेपमा थुप्रन थालेको हो।

Tata
GBIME
NLIC

जोखिमबिनै लाभ उठाउने बानी पर्दा म्युचुअल फण्डहरुले तोकिएको सीमा नै उल्लंघन गरेका छन्। सामूहिक लगानी कोष नियमावली २०६७ अनुसार कुल योजनाको आकार वा लगानी गर्दाको बखत खुद सम्पत्ति मूल्यको १५ प्रतिशतभन्दा बढी मुद्दती निक्षेपमा राख्न मिल्दैन। 

तर कतिपय योजनाले असारमा तोकिएको सीमाभन्दा दोब्बर मुद्दती निक्षेपमा राखेका छन्। मुद्दती निक्षेपमा लगानी गर्दा ५ योजनाले नियामकीय व्यवस्था उल्लंघन गरेका हुन्। मुद्दतीमा योजना आकारको ३३ प्रतिशतसम्म लगानी गरिएको छ।

नबिल इक्विटी फण्डले खुद सम्पत्ति मूल्यको २७.७६ प्रतिशत हुने रकम मुद्दती निक्षेपमा राखेको छ। एक अर्ब २५ करोडको आकार रहेको सो योजनाले ३७ करोड ५० लाख रुपैयाँ मुद्दतीमा राखेको हो। यो कुल फण्डको ३० प्रतिशत रकम हो। एनएमबी हाइब्रिड फण्ड एल १ ले योजनाको ३२.८८ प्रतिशत रकम मुद्दती निक्षेपमा लगानी गरेको देखिन्छ।

ती म्युचुअल फण्ड संचालन गर्ने सम्बन्धित क्यापिटलका व्यवस्थापकहरु भने निक्षेपमा लगानी खुद सम्पत्ति मूल्यको १५ प्रतिशतभन्दा बढी नभएको दाबी गर्छन्। ‘बरु त्यतिबेला न्याभ (प्रतिइकाई खुद सम्पत्तिको मूल्य) धेरै नै थियो। तत्कालीन अवस्थामा १५ प्रतिशतको सीमा पार हुँदैन थियो पनि!,’ ती व्यवस्थापक भन्छन्, ‘अहिले न्याभ घटेको छ। त्यसैले पहिलेको तुलनामा लगानी उल्लेख्य देखिनु स्वाभाविक हो।’

तर एनआईबीएल समृद्धि फण्ड २ योजनाले गत फागुनमै मुद्दती निक्षेपमा सीमाभन्दा बढी लगानी गरेको देखिन्छ। उसले त्यतिबेलै मुद्दतीमा २२ करोड ५० लाख रुपैयाँ पुर्‍याएको थियो। यो रकम फागुनमा कायम खुद सम्पत्तिको १७.४१ प्रतिशत हो।

असारमा मुद्दतीमा लगानी बढाएका नबिल इक्विटी फण्ड र एनएमबी हाईब्रिड फण्ड एल १ ले दुवैले खुद सम्पत्तिको २७ प्रतिशतभन्दा धेरै राखेका छन्। लगानी रकम दुवै योजना आकारभन्दा ३०/३० प्रतिशत माथि छ।

धितोपत्र बोर्डका अधिकारी नियम उल्लंघन भएको बताउँछन्। ‘नियमावली अफेन्ड नै हुन्छ। जतिबेला लगानी गरेपनि तोकिएको सीमाभन्दा बढी राख्न मिल्दैन। परिस्थिति अनुसार समायोजन गर्दै लैजाने कुरा हो,’ सुपरीवेक्षण विभागका एक अधिकारीले बिजमाण्डूसँग भने।

बोर्डका अर्का अधिकारी पछिल्लो समय सेयर बजारमा म्युचुअल फण्डको सक्रियता घटेको बताउँछन्। सेयर किनबेचबाट मुनाफा तय गर्नुपर्नेमा योजनाहरु मुद्दती निक्षेप जस्ता जोखिमरहित उपकरणमा केन्द्रित भएकामा बोर्डले चासो राखेको छ।

३५ वटा खुलामुखी योजनाले असार मसान्तसम्म कोषको औषत १०.८८ प्रतिशत रकम मुद्दती निक्षेपमा लगानी गरेका छन्। ३७ अर्ब १६ लाख रुपैयाँ बराबरका योजनाको ४ अर्ब २३ करोड लगानी मुद्दतीमा छ। बैंकमा थप ७ अर्ब ३८ करोड रुपैयाँ मौज्दात छ। यो दुवै जोड्ने हो भने ३१ प्रतिशत हुन्छ।